रेणुका बर्खास्ती प्रकरण- ज्वाइँलाई न्यायाधीश बनाउन दीपक कार्कीले गरेको त्यो सौदाबाजी – Nepal Press

रेणुका बर्खास्ती प्रकरण- ज्वाइँलाई न्यायाधीश बनाउन दीपक कार्कीले गरेको त्यो सौदाबाजी

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि योग्यता ढाँटेको आरोपमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई न्यायपरिषद्को सिफारिसमा बर्खास्त गरेका छन् ।

न्यायाधीशमा नियुक्त भएको ३ वर्षपछि रेणुका बर्खास्त भएकी हुन् । जबकि उनलाई न्यायाधीश नियुक्त गर्ने न्यायपरिषद्का सदस्यमध्ये दीपक कार्की पनि एक हुन् । अहिले परिषदमा उनीबाहेक रेणुकालाई नियुक्त गर्ने बेलाका कुनै पनि सदस्य छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षमा २०७५ चैत १९ गते बसेको न्यायपरिषद् बैठकले उच्च अदालतका १७ जना न्यायाधीश नियुक्त गर्दा रेणुका पनि परेकी थिइन् । रेणुकालगायत केही व्यक्तिलाई न्यायाधीश नियुक्त गर्ने हो भने आफ्ना पनि केही व्यक्ति पार्नुपर्ने बार्गेनिङ त्यसबेला वरिष्ठतम न्यायाधीश कार्कीले गरेको राणा निकट स्रोतले बताएको छ ।

त्यही भागबन्डामा उनले आफ्ना भदाहा ज्वाइँ उज्ज्वल शुक्ल र डालकुमार खड्कालाई पनि उच्च अदालतको न्यायाधीश बनाएका थिए । कार्की र शुक्लको ससुराली घर एउटै हुन् । कार्कीले फुपू बिहे गरेका छन् भने शुक्लले भदैनी ।

त्यसबेला नै रेणुकालगायतको योग्यतामाथि प्रश्न उठाएर शम्भु थापा, टीकाराम भट्टराईलगायतका कानून व्यवसायीले विरोध जनाएकामात्र थिएनन्,भट्टराईले त महाअभियोग लगाउनुपर्ने माग गरेका थिए । अहिले चोलेन्द्र शमशेरमाथि महाअभियोग विचाराधीन छ । दीपक कार्की पनि सो नियुक्ति गर्नेमध्येका प्रमुख पात्र थिए ।

उनी भने पछिल्लो समय बारलाई आन्दोलनमा उतारेर अदालतमा आन्दोलनको नेतृत्व गर्ने भूमिकामा देखिए । उनले राणासँग सौदाबाजी गरेर न्यायाधीश बनाएका शुक्ल बारका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठको ल फर्ममा काम गर्थे । त्यसैले सडकबाट चण्डेश्वर र अदालतबाट दीपक कार्कीले आन्दोलन चलाएका थिए ।

दीपक कार्कीले चण्डेश्वर र शुक्लबाटै माओवादी नेतृत्वको विश्वास जितेर आफूलाई प्रधानन्यायाधीश बनाइए सत्ता गठबन्धनको अनुकूल अदालत चलाउने भनेर आश्वस्त पारेपछि राणाविरुद्ध महाअभियोग लगाइएको थियो । नभन्दै त्यसयता अदालत सरकार र गठबन्धनको सहयोगी बनेको छ ।

राष्ट्रसंघीय मिसनमा काम गरिसकेका कानून व्यवसायी धुर्वलाल श्रेष्ठले सोमबार लामो वक्तव्य जारी गर्दै हालका कामु प्रधानन्यायाधीश दीपक कार्कीले पनि रेणुकालाई नियुक्त गर्ने बेला आफ्नो भाग मागेर अयोग्यलाई न्यायाधीश बनाउन भूमिका खेलेको टिप्पणी गरेका छन् ।

अधिवक्ता श्रेष्ठले भनेका छन्– शुक्ल वरिष्ठतम न्यायधीशको हैसियतमा न्याय परिषद्का तत्कालीन सदस्य रहनुभएका वर्तमान कामु प्रधानन्यायाधीश दीपक कार्कीका भाञ्जी ज्वाइँ नाताका हुन् भन्ने चर्चा कानून र न्यायकर्मीहरुका माझ ब्याप्त हुँदै सर्बत्र फैलिएको छ । यदि यो विषय साँचो हो भने यस्तो विवादको निराकरण नगरिकन न्याय परिषदबाट हुने गरिने काम कारबाहीहरु संविधान र कानूनको व्यवस्था र भावनाविपरीत हुने र त्यसले विकृतिलाई ढाकछोप र बढावामात्र गर्ने हुन्छ । जसले अहिलेसम्म निरन्तरता पाइरहेकै छ ।

उनले अयोग्यलाई न्यायाधीशबाट हटाउने निर्णयको स्वागत गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “रेणुका बर्खास्ती प्रकरण- ज्वाइँलाई न्यायाधीश बनाउन दीपक कार्कीले गरेको त्यो सौदाबाजी

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर