नेपाल प्रहरीमा एसपीको ३६ दरबन्दी रिक्त, बलिया आकांक्षी ५६ जना – Nepal Press

नेपाल प्रहरीमा एसपीको ३६ दरबन्दी रिक्त, बलिया आकांक्षी ५६ जना

काठमाडौं । नेपाल प्रहरीमा शनिबार ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । यससँगै रिक्त हुने एसपीमा बढुवाका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुबीच रस्साकस्सी देखिएको छ ।

सिफारिस भएका ३२ जनाले बढुवा पाएपछि ३६ जना एसपीको दरबन्दी रिक्त हुनेछ । ती दरबन्दीमा बढुवा हुन चाहने बलिया आकांक्षीहरुको संख्या ५६ रहेको छ ।

२०५८ सालमा सेवा सुरु गरेर बढुवा हुन बाँकी रहेका डीएसपीको संख्या २४ जना रहेको छ । उनीहरुमध्ये तीन फरक मिति अर्थात २०६९, २०७० र २०७१ सालमा डीएसपी बनेका थिए ।

२०६१ सालमा प्रहरी निरीक्षकमा नाम निकालेकामध्येबाट पहिलो लटमा ३८ जना २०७१ फागुनमा डीएसपी बनेका थिए । ती ३८ जनामध्ये विभिन्न कारणले ६ जना अहिले सेवामा छैनन् । उक्त भर्ना ब्याचबाट दोस्रो लटमा २०७२ साउनमा डीएसपी बनेका थिए ।

अघिल्लो भर्ना ब्याचबाट छुटेका र २०६१ सालको भर्ना ब्याचबाट पहिलो लटमा डीएसपी बनेका नै अहिले बलिया आकांक्षीहरु रहेका छन् । प्रहरी नियमावलीमा भने बहालवाला दर्जामा कम्तिमा ४ वर्ष काम गरेपछि बढुवाको उम्मेदवार बन्न सक्ने व्यवस्था रहेको छ ।

असार मसान्तसम्म बढुवा गरिसक्नुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयले धमाधम बढुवा सिफारिस निकालिरहेको छ । १७ जना डीआईजीको रिक्त दरबन्दी बढुवाद्वारा पूर्ति गरेपछि एसएसपीको बढुवा सिफारिस भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *