शारीरिक सुगठनको पाँचौं मिस्टर भक्तपुर हुने, विजेताले एकलाख नगद पुरस्कार पाउने – Nepal Press

शारीरिक सुगठनको पाँचौं मिस्टर भक्तपुर हुने, विजेताले एकलाख नगद पुरस्कार पाउने

काठमाडौं । शारीरिक सुगठन खेलअन्तर्गत पाँचौं मिस्टर भक्तपुर तथा दोस्रो महिला फिजिक्स प्रतियोगिता हुने भएको छ ।

भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले यही आउँदो भाद्र १७ र १८ गते उक्त प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगिताको ग्राण्ड फिनालेका स्वर्णपदक विजेता खेलाडीले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार पाउने संघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए । त्यस्तै दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार नगद पुरस्कार पाउनेछन् । चौथो र पाँचौं हुनेले समेत क्रमशः २० र १० हजार रुपैयाँ नगद पुरस्कार पाउने उनले बताए ।

त्यस्तै महिला फिजिक्सतर्फका विजेताले उपाधिसँगै नगद ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले २० हजार पाँउदा तेस्रो हुनले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने संघका कोषाध्यक्ष एवं प्रतियोगिताका संयोजक अशोक घजूले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी करिब ७५ जना खेलाडीको सहभागिता रहने अनुमान गारिएको छ ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ पाँचवटा तौल समूहमा स्पर्धा गराइनेछ । जसमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीमाथिका तौल समूहका खेलाडीहरुबीच प्रतिस्पर्धा गराइनेछ । महिलातर्फको प्रतियोगिता भने खुला रहेको संयोजक घजू बताउँछन् ।

पाँचवटा तौल समूहबीच गराइने प्रतिस्पर्धाबाट समूह विजेता छानिनेछ । समूह विजेतालाई मात्रै सहभागी गराई मिस्टर भक्तपुरको ग्राण्ड फिनाले हुने अध्यक्ष मानन्धरले जानकारी दिए ।

‘ग्राण्ड फिनाले पुग्ने पाँचैजना खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरेका छौं’, उनले भने, ‘प्रतियोगिताको पहिलो दिन प्रि-जजिङ हुनेछ । प्रि-जजिङमा सफल खेलाडीहरुमात्रै मुख्य प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।’

प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि वेभ फिजिकल फिटनेसका जयराम त्वायनाले उचालेका थिए । त्यस्तै पहिलो महिला फिजिक्सको उपाधि भने अजिमा फिजिकल फिटनेसकी सनम मूलगुठीले जितेकी थिइन् ।

संघले २०५४ सालमा प्रथम मिस्टर भक्तपुर आयोजना गरेको थियो । उक्त स्पर्धाको उपाधि रोशन मानन्धरले जितेका थिए । त्यस्तै २०६९ सालमा आयोजित दोस्रो मिस्टर भक्तपुरको उपाधि भने नरेश दिवाकरले जित्दा २०७१ सालमा भएको तेस्रो मिस्टर भक्तपुरको उपाधि रामेश्वर कुसीले चुमेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *