लुम्बिनीको नेकपा एसमा एक व्यक्ति एक पदको रडाको – Nepal Press

लुम्बिनीको नेकपा एसमा एक व्यक्ति एक पदको रडाको

को-को फेरिए जिम्मेवारीबाट ?

रुपन्देही । नेकपा एकीकृत समाजवादीले एक व्यक्ति एक पदको कार्यान्वयन गर्ने भन्दै लुम्बिनीमा जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल आफै सहभागी भएर शनिवार आयोजना गरिएको प्रदेशको बैठकले जिम्मेवारी फेरेको हो ।

बैठकले प्रदेश अध्यक्षमा मेटमणिलाई हटाएर नेता सोमप्रसाद पाण्डेलाई अध्यक्षमा चुनेको हो । पार्टी संगठनमा बढी सक्रिय देखिएका चौधरीलाई हटाएर पाण्डेलाई ल्याइएपछि माधव नेपाललाई परिवारवादको आरोप लागेको छ ।

संघीय सांसदसमेत नेपालका सम्धी पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णयको आलोचना भएको हो ।

यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी शहरी विकास मन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजु गुरुङले जानकारी दिए ।

समाजवादी रुपन्देही अध्यक्षमा अविराम विक

यस्तै पार्टीको केन्द्र र प्रदेश कमिटीमा रहेका नेताहरूको भूमिका हेरफेर गरिएको छ । जसअनुसार प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् ।

रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् । विक यसअघि सचिव थिए । यसै गरी उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि उनले पनि जिम्मेवारी छोडेका छन् ।

उपाध्यक्षमा श्रीराम यादव र चिन बहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ चयन गर्ने जिल्लाको सिफारिस प्रदेश कमिटी बैठकले अनुमोदन गरेको सचिव गुरुङले बताए ।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ । बैठकले रोपाईँको बेलामा किसानले मल नपाएको र महँगीले नागरिकलाई परेको मर्काका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

त्यसैगरी प्रदेशका विभिन्न उपसमिति र विभागहरूमा जिम्मेवारी तोकिएको जनाइएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका थिए । बैठकमा समाजवादीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, मन्त्री मेटमणि चौधरी, सोमप्रसाद पाण्डेलगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर