कम्युनिस्ट पार्टीको सदस्य बन्न सी जिङ पिङको कठोर परीक्षा, दशौं पटकमा सफल – Nepal Press

कम्युनिस्ट पार्टीको सदस्य बन्न सी जिङ पिङको कठोर परीक्षा, दशौं पटकमा सफल

काठमाडौं । गत जुलाई एकमा चीनको सत्तारुढ पार्टी ‘कम्युनिस्ट पार्टी अफ चाइना ’ (सीपीसी) ले आफ्नो १०१ औँ स्थापना दिवस मनायो । हाल उक्त पार्टीको सदस्यता लिनको लागि झन्डै ९ करोड ६० लाख मानिसहरू प्रतीक्षारत रहेको बताइन्छ ।

संसारकै शक्तिशाली राष्ट्रको रुपमा उदयमान चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको सदस्यता पाउँन भने त्यति सजिलो भने छैन । हाल चीनको राष्ट्रपति तथा पार्टी महासचिव रहेका सि जिङ पिङ्ले समेत यस पार्टीको सदस्यता लिनका निमित्त दश पटकसम्म आवेदन भरेका थिए भन्ने कुरा धेरैका लागि नौलो लाग्न सक्छ ।

सन् १९६९ को कुरा हो । शहरका अन्य शिक्षित युवाहरू जस्तै ग्रामीण जीवन र कामको अनुभव गर्न सि जिङ पिङ चीनको शान्सी प्रान्तको एउटा सानो गाउँ लिआङ्जियाहेमा पुगेका थिए । सहरिया जीवनबाट अचानक ग्रामीण क्षेत्रमा पुगे तापनि पिङ्लाई त्यहाँको वातावरणमा घुलमिल हुन भने खास्सै धेरै समय लागेन ।

पिङ् को सो ग्रामीण बसाइले नै उनलाई जनमुखी दर्शनको पाठ सिकायो र उनलाई सदैव पार्टीप्रति बफादार बनायो भन्ने गरिन्छ । उक्त समयमा उनले आफ्नो कामप्रति देखाएको समर्पणबाट प्रभावित भएका गाउँका पार्टी प्रमुख लियांग युमिङले उनलाई पार्टी सदस्यताको लागि आवेदन दिन प्रेरित गरे ।

त्यति बेला सी जिङ पिङ् मात्र १६ वर्षका थिए । तत्कालीन राजनैतिक परिस्थितिका कारण सि जिङ् पिङ् को आवेदन स्वीकृत हुन भने सकेन बरु सीलाई आफ्नो निवेदन पेश गर्न मद्दत गरेकोमा युमिङलाई भने पार्टीले सजाय दियो । त्यस बेला चीनमा सर्वहारा संस्कृति क्रान्ति चलेको थियो ।

पार्टीमा आबद्ध हुनका लागि निवेदन दिने तर सफल नहुने सि जिङ् को यो सिलसिला ९ पटकसम्म निरन्तर चलिनै रह्यो । लियांगजियाहेका गाउँलेहरूलाई उद्धत गर्दै चीनको सञ्चार माध्यम सिएनले एक रिपोर्टमा उल्लेख गरे अनुसार सी पार्टीमा सामेल हुन कटिबद्ध थिए ।

किनकि आम मानिसहरूका निमित्त व्यावहारिक र अर्थपूर्ण काम गरिनु पर्छ भन्ने उनको मान्यता थियो । अन्ततः कामप्रतिको लगाव र परिश्रमका कारण लिआङ्जियाहेका गाउँलेहरूबाट प्राप्त विश्वास र सम्मानको प्रतिफल स्वरूप उनी सन् १९७४ मा कम्युनिस्ट पार्टीको सदस्य बन्न सफल भएका थिए ।

त्यसको केही समयमा नै उनी सोही गाउँको पार्टी प्रमुख समेत बन्न सफल भए । गाउँलेहरूको समर्थन र विश्वासको कारण नै उनी पार्टीको तर्फबाट गाउँ प्रमुख बन्न सफल भएको वेननी कम्युन पार्टी समितिका पूर्व सदस्य याङ सिझोङको भनाई छ । कम्युनिस्ट पार्टीको तर्फबाट गाउँको प्रमुख बनेपछि सी ले खेतीयोग्य जमिनलाई बाढीबाट जोगाउनको लागि बाँध निर्माण गर्ने, गाउँलेहरूलाई खाना पकाउन र बत्तीको लागि ग्यास उपलब्ध गराउने मिथेन ट्याङ्की र मिलको व्यवस्था गर्ने लगायतका कार्यहरूको नेतृत्व गरे ।

सी ले सधै भरी आफू जनताको मुद्दामा केन्द्रित रहेको र व्यवहारिक पक्षलाई प्राथमिकतामा राख्ने गरेको बताउँदै आएका छन् । पार्टीमा सामेल भएदेखि सीले जनताको खुसी र राष्ट्रका लागि कायाकल्प खोज्ने आफ्नो मौलिक आकाङ्क्षालाई सधैँ कायम राखेका छन्।

२०१२ मा पार्टीको नेतृत्व सम्हालेका सी ले त्यसको केही समयमा नै देशको नेतृत्व पनि सम्हालेका थिए । त्यसयता उनले निरपेक्ष गरिबी उन्मूलन गर्ने र सबै हिसाबले मध्यम समृद्ध समाज निर्माण गर्ने पहिलो शताब्दीको लक्ष्य पूरा गर्ने नेतृत्वको प्रयास गरिरहेका छन् भन्दा फरक नपर्ला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर