बजेट संशोधन नगरे पारित नगर्ने सत्तारुढ कांग्रेसको निष्कर्ष – Nepal Press

बजेट संशोधन नगरे पारित नगर्ने सत्तारुढ कांग्रेसको निष्कर्ष

कैलाली । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट यथास्थितिमा पारित गर्न नसकिने नेपाली कांग्रेसले ठहर गरेको छ ।

कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी छ । सत्ता साझेदारीमा रहेको कांग्रेस संसदीय दलको बैठकले संशोधन नगरे सम्म पारित नगर्ने निर्णय गरेको प्रदेश सभा सदस्य भरत बहादुर खड्काले बताए ।

‘बजेटमा थुप्रै खराबी रहेका छन् । ती संशोधन हुनुपर्छ भन्ने हाम्रो ठहर छ’ उनले भने ‘आजको दलको बैठकमा पनि संशोधन पछि मात्रै पारित गर्ने निर्णय गरिएको छ ।’

कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको उनले जानकारी दिए ।

संसदीय दलको बैठकमा सामाजिक विकास मन्त्री समेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, डिल्लीराज पन्त, श्यामलाल राना थारु सहितका ७ जना प्रदेशसभा सदस्य सहभागी थिए ।

सामाजिक विकास मन्त्री बोहरा आर्थिक मामिला मन्त्रालयले बजेट काटिदिएको गुनासो लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं समेत पुगेका थिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आफ्नो मन्त्रालय मार्फत आफूलाई जानकारी समेत नदिएर मन्दिरमा बजेट उपलब्ध गराएको भन्दै गुनासो गरेका थिए ।

अहिले कांग्रेस मात्र होइन अन्य दल पनि सरकारले ल्याएको बजेट प्रति सन्तुष्ट छैनन् । अर्थमन्त्री प्रकाश रावलको पार्टी नेकपा एकीकृत समाजवादीको बैठकले पनि बजेट परिष्कृत गर्न आवश्यक रहेको ठहर गरेको थियो । त्यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले पनि बजेटमा छलफल गरेको थियो ।

बैठकमा माओवादीका प्रदेश प्रदेश सभा सदस्यहरूले बजेटमा थुप्रै त्रुटि रहेको बताएका थिए । जवाफमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूले पनि बजेट हेर्न नपाएको भन्दै सांसद्हरुलाई आश्वस्त पारेका थिए ।

प्रदेश सभामा रहेका सबै दलले अहिले बजेटको विरोध गरिरहेका छन्। बजेट परिष्कृत नहुँदा सम्म प्रदेश सभामा छलफल नहुने भन्दै अहिले प्रदेश सभा बैठक तीन पटक सम्म बस्न नसकेर अनिश्चिकाल सम्मको लागि स्थगित गरिएको छ ।

अब बजेट परिष्कृत गर्ने र पारित गर्ने गरी तरिकाले दलहरू लाग्ने बताइएको छ । कांग्रेसले आफ्नो दलको निर्णय सहित बजेट संशोधन गर्न मुख्यमन्त्री भट्टलाई पत्र दिने समेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर