प्रतिरोधका कमाण्डरमाथि यौन दुर्व्यवहारको आरोप, प्रतिष्ठित लेखिका नै होस्टायल ! – Nepal Press

प्रतिरोधका कमाण्डरमाथि यौन दुर्व्यवहारको आरोप, प्रतिष्ठित लेखिका नै होस्टायल !

काठमाडौं । एकजना कानून व्यवसायीसमेत रहेकी लेखक तथा स्तम्भकार महिलाले दुई दिनअघि आफ्नो आत्मसम्मान र गरिमाको संघर्षलाई अधिकतम  ‘आधारभूत न्याय’को विन्दुमा ल्याएर विश्राम दिइसकेको भन्दै आफूलाई सहानुभूति र थप सदाशय आवश्यक नरहेको भन्दै फेसबुक पोष्ट गरिन् ।

जबकि उनले ‘आधारभूत न्याय’को विन्दुमा लगेर विश्राम दिएको भनिएको घटना कथित प्रतिरोध अभियान र प्रगतिशील भनिएका अभियन्ताहरुबीच भुसको आगो झैं सल्किरहेको छ ।

महिलालगायत सीमान्तकृत र उत्पीडितहरुमाथिको संरचनात्मक विभेदविरुद्धको अभियन्ताका रुपमा समाजमा स्थापित हुन खोज्नेहरुबीचमै भएको यौनजन्य हिंसाको घटनालाई भित्रभित्रै मेलमिलापमा टुंग्याइएको विषय विस्तारै सामाजिक सञ्जालमा समेत अप्रत्यक्ष रुपमा बहसमा छ ।

कवि, लेखक तथा राजनीतिक अभियन्ता संगीत स्रोतामाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई गुमसुम पारिएको प्रकरणको कुरा हो यो । संगीत स्रोतालाई नेपालको एक प्रतिष्ठित राष्ट्रिय दैनिककी स्तम्भकार तथा लेखकले आफूलाई ७ वर्ष अगाडि आफ्नो कवितासंग्रह विमोचनको क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

नेपालप्रेसलाई प्राप्त प्रमाणअनुसार करिब एक महिनाअघि संगीत स्रोता संलग्न भएको संगठन थालनी र यसैको भ्रातृ संगठन ‘प्रतिरोध’मा लेखिकाले इमेलमार्फत पत्र पठाएर आफूलाई दुर्व्यवहार भएको उल्लेख गरेकी थिइन् । उक्त पत्रमा भनिएअनुसार किताब विमोचनको क्रममा ती लेखिका किताब सम्पादन गर्न संगीत स्रोता बस्ने ठाउँमा पुगेकी थिइन् । संगीत घरमा एक्लै थिए ।

दुवैजना बसेर खाना खाएर, गफ गरेर फरक–फरक कोठामा सुतेका थिए । तर, ती लेखिका बिहान ब्युँझँदा संगीत छेवैमा भएको आरोप छ । अर्को अरोप छ, संगीतले ती लेखिकाको हातको चुरा खेलाएर उनको इच्छाविपरीत ‘किस’ गरेका थिए ।

ती लेखिकाले आफूलाई त्यसरी यौन दुर्व्यवहार गर्ने मान्छे अहिले थालनी र प्रतिरोधमा बसेर राजनीतिक अभियान चलाइरहेकाले उनलाई कारबाही गर्नुपर्ने उल्लेख गरेकी थिइन् । ती लेखिकाको पत्रउपर प्रतिरोध आन्दोलनका अनिता पण्डित र मनोज खतिवडाले पत्र लेखेर प्रत्युत्तर पठाएका थिए । यसपछि ती लेखिकाले पनि ‘तपाईंहरुको गाम्भीर्यताप्रति धन्यवाद’ भनेर जवाफ पठाएकी थिइन् ।

यसपछि ती लेखिकाले संगीतलाई ‘कलआउट’ गर्ने तयारी भइरहँदा दलित आन्दोलनकी अभियन्ता धनकुमारी सुनार, लेखक राजेन्द्र महर्जन,अभय श्रेष्ठलगायत अभियन्ताहरुको संयोजनमा दुवैजनालाई राखेर छलफल गरियो ।

उक्त घटनालाई बाहिर नल्याउन अन्य नाम चलेका वामपन्थी तथा प्रगतिशील प्रबुद्ध लेखकहरु नै लागेपछि ती लेखिकाले पनि घटना बाहिर नल्याउने निर्णय लिएको बताएकी छन् ।

नेपालप्रेसले उनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनले आफूलाई डिस्टर्ब नगर्न र के भयो भनी नसोध्न तथा आफूसँग केही नसोधी आफ्नो विषयमा कुनै सहानुभूति वा ऐक्यबद्धता नजनाउन सार्वजनिक रुपमै आग्रह गरेकाले थप प्रतिक्रिया लिन आवश्यक पनि देखिएन ।

उक्त घटना भित्रभित्रै भुसको आगो जसरी फैलिएपछि कथित नागरिक आन्दोलनको ब्यानरमा सुरु भएको र शुद्ध प्रगतिशील वामपन्थी ठोकुवा गरेर सुरु गरिएको प्रतिरोध आन्दोलनमाथि नै अनेक प्रश्न तेर्सिएका छन् । समाजमा रहेका विकृति, विसंगति, हिंसामाथि आन्दोलन चलाइरहेको प्रतिरोधमाथि औपचारिक पत्र नै आउँदा प्रतिरोधले कारबाही किन गरेन ?

सीमान्तकृत, उत्पीडित, राज्यबाट शताब्दीऔंदेखि विभेदमा पारिएकाहरुको आवाज मुखरित गर्ने प्रतिरोधले आफ्नै अभियानको प्रमुख नाइकेमाथि प्रश्न तेर्सिंदा बन्द ढोकाभित्र मिलाउने प्रयास किन गर्‍यो ? राज्य सत्ताले गर्ने अन्यायविरुद्ध प्रतिरोध गरिरहेको समूह नै यस घटना सामसुम पार्न किन लाग्यो ? प्रश्नहरु अनुत्तरित छन् ।

यसबारे हामीले प्रतिरोधका एक अभियन्ता मनोज खतिवडालाई सम्पर्क गर्‍यौं । उनले ‘सर्भाइबरले बाहिर ल्याउनै नचाहेकाले त्यसको संवेदनशीलतालाई ख्याल गरिएको’ बताए । त्यति ठूलो र नाम चलेकी लेखिकाले ल्याउन चाहिनन् कि राजनीतिक शक्ति नै लागेपछि उनी चुप बसिन् ? यो प्रश्नको जवाफ प्रतिरोध आन्दोलनका कोही अभियन्तासँग छैन ।

उनै खतिवडाले गरेको कुराकानीको रेकर्ड हामीलाई प्राप्त भएको छ । जसमा माथि उल्लेखित घटना उनले सविस्तार सुनाएका छन् । साथै ती लेखिकाको चिठीपछि आफूहरुले संगीत स्रोतालाई कारबाही गरेको भन्ने पनि बताएका छन् । (रेकर्डहरु हामीसँग सुरक्षित छन् ।) तर, कस्तो कारबाही भनेर उल्लेख गरेका छैनन् । न त्यति जिम्मेवार अभियानको तर्फबाट कुनै प्रेस रिलिज नै बाहिर आएको छ ।

ती लेखिका उमेर र चेतनाले परिपक्व हुन् । महिला हिंसाका विरुद्ध आवाज उठाउने, आवाजलाई बाहिर ल्याउनुपर्छ भन्ने, पीडितलाई होस्टाइल बनाइयो भन्ने उनै लेखिका भने दुई चारजना लेखकहरु र उनले आरोपित गरेका व्यक्तिसँग बसेर घटना सामसुम पार्न सहमत भएको उनको स्टाटसबाट देखिन्छ ।

यद्यपि उनले आफू अलि समय ढुक्कसँग सास फेर्न चाहेको र त्यसपछि आफ्नो लडाइँको सबै उतारचढाव कुनै दिन लेख्ने बताएकी छन् । आफ्ना लेखहरुमार्फत् संरचनात्मक विभेद र अन्यायविरुद्ध कलम चलाउने लेखिका घटना सामसुम पार्नतिर लाग्नुले अरुका लागि बोलिदिन जति सजिलो आफ्नो लडाइँ अघि बढाउन नहुने रहेछ भन्ने देखिन्छ ।

स्रोतका अनसार लेखिकाले आरोपित गरेका संगीतका नजिकका साथीभाइहरु नै यस घटनामा पहिलादेखि नै जानकार रहेको र घटना सामसुम पार्नलाई नै उद्यत रहेका थिए । कथित प्रतिरोध आन्दोलन बदनाम हुने भन्दै घटनालाई दबाउन वरिष्ठ प्रगतिशील साहित्यकार तथा अभियन्ताहरु नै संलग्न रहेको पाइएको छ ।

यसैबीच लेखिका र पीडकबीच मध्यस्थकर्ताको रुपमा भूमिका निर्वाह गरेका अभय श्रेष्ठले सबै विकल्प सकिएपछि महिलाले वार्ताका लागि दिएको अल्टिमेटममा अन्तिम प्रयासस्वरुप आफूहरुले वार्ताको मध्यस्थतामात्र गरिदिएको बताएका छन् ।

श्रेष्ठले दुवै पक्ष राजी भएपछि एउटा सहमतिपत्रमा हस्ताक्षर गरिएको र कसैलाई कुनै दबाब नदिइएकोसमेत प्रस्ट पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *