माधव नेपालको दाबी- पाँचदलीय गठबन्धनले देशलाई विभिन्न संकटबाट बचायो – Nepal Press

माधव नेपालको दाबी- पाँचदलीय गठबन्धनले देशलाई विभिन्न संकटबाट बचायो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनले देशलाई विभिन्नखाले संकटबाट बचाएको बताएका छन् । गठबन्धनले संसद, संविधान, लोकतन्त्र, गणतन्त्रदेखि लिएर विदेशी सैन्य रणनीतिको हिस्सा बन्नबाट बचाएको उनले बताए ।

समाजवादी प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

‘पाँचदलीय गठबन्धनको सरकारले यो देशका विभिन्नखाले संकटबाट जोगाउँदै जोगाउँदै अगाडि बढिरहेको छ’, उनले भने, ‘हामीले जनतालाई अन्धराष्ट्रवादी होइन, सच्चा देशभक्त बनाउन लागिरहेका छौं ।’

एमसीसी र एसपीपीजस्ता कठिन विषयमा पनि गठबन्धनको सरकारले देशलाई जोगाएको अध्यक्ष नेपालले बताए । देश–देश आफ्ना स्वार्थ हुने र उनीहरूले आफ्ना हिस्सामा लैजान खोज्ने उनले बताए ।

‘तर, हामीले कसैको पक्षमा जाँदैनौं भनेका छौं । हामी ठीक/बेठीक छुट्याएर अघि बढेका छौं’, उनले भने, ‘एसपीपी, एमसीसीको विषयमा धेरै चर्चा परिचर्चा भए । एमसीसीलाई व्याख्यात्मक घोषणाबाट पास गरेर संसदको अंग बनायौं ।एसपीपीको विषयमा विगतमा केही भए पनि सैन्य रणनीतिको अंग बन्दैनौं भनेर प्रस्ट पारिसकेका छौं ।’

अध्यक्ष नेपालले जनतालाई समेत ठीक र बेठीकको पहिचान गर्न समर्थ बनाउनुपर्ने बताए । ‘ठीकको समर्थन गर्ने, बेठीकको आलोचना गर्ने सामर्थ्य भएको जनता बनाउनुपर्छ । ताकि नेपालीहरू इमानदार छन्, जानकार छन् र ठीक/बेठीक छुट्याउन सक्छन् भन्ने पार्नुपर्छ’, उनले भने ।

यस्तै गठबन्धनले संविधान जोगाउने, अस्थिरताबाट देश बचाउने काम गरेको पनि बताए । उनले भने, ‘यसैगरी गणतन्त्र र लोकतन्त्रको रक्षा भएको छ ।’


प्रतिक्रिया

One thought on “माधव नेपालको दाबी- पाँचदलीय गठबन्धनले देशलाई विभिन्न संकटबाट बचायो

  1. पालैपालाे मन्त्री बनाउने र तीबाट उठाउने बाहेक गठबन्धनले केही गरेकाे छैन ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर