महिला युरो २०२२ः स्पेन र जर्मनीको जीत – Nepal Press

महिला युरो २०२२ः स्पेन र जर्मनीको जीत

काठमाडौं । आठ पटकको महिला युरो च्याम्पियन जर्मनीले डेनमार्कलाई ४-० गोलले पराजित गरेको छ ।

शुक्रबार राति ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा १० खेलाडीमा सीमित डेनमार्कविरुद्ध जीत निकाल्न लिना मागुल, लेया स्कुलर, लिना लाट्विन, एलेक्सजेन्ड्रा पोपले गोल गरे ।

खेलको २१औं मिनेटमा लिनाको गोलमा जर्मनीले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा एकमात्रै गोलको अग्रता बनाएको जर्मनका लागि ५७औं मिनेटमा लेयाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

लेनाले ७८औं मिनेटमा गोल गर्दै जर्मनीको अग्रता फराकिलो पारेकी थिइन् । सब्सिट्युट खेलाडी एलेक्सजेन्डरले ८६औं मिनेटमा गोल गर्दै जर्मनीको जीत ४-० ले सुनिश्चित गरिन् ।

शुक्रबार राति नै भएको समूह ‘बी’को अर्को खेलमा स्पेनले फिनल्यान्डलाई ४-१ गोलले हराएको छ ।

स्टेडियम एमकेमा भएको खेलमा स्पेनको जीतमा आइरेन पारेदेस, आइताना बोनमाती, लुसिया गर्सिया, मारिओना कालडेन्टीले गोल गरे ।
फिनल्यान्डका लागि लिन्दा सालस्ट्रोमले सान्त्वना गोल गरिन् ।

जीतसँगै जर्मनी तीन अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान तीन अंक भएको स्पेन गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

आज समूह ‘सी’ का खेलहरु हुँदैछन् । समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड भिड्दैछन् । दोस्रो खेलमा नेदरल्यान्ड्स र स्वीडेन आमनेसामने हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर