राउटे युबतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाइ दुई लाख जरिवानासहित सात बर्ष कैद – Nepal Press

राउटे युबतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाइ दुई लाख जरिवानासहित सात बर्ष कैद

सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाइ जनही दुई लाख जरिवानासहित सात सात बर्ष कैद सजाय ताेकेकाे छ । बिहीबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उक्त आदेश दिएको हो ।

अदालतले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई  पनि ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने सुर्खेतकै चौमन घर्तीमगर र भूपेन्द्र बुढामगरलाई सात/सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो ।

उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । यस्तै, होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको थियो ।

उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो ।

दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो । यो घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर