कांग्रेसका कान्छा क्रियाशील जयवीर- राजनीति र व्यापारमा यसरी मार्दैछन् तीर – Nepal Press

कांग्रेसका कान्छा क्रियाशील जयवीर- राजनीति र व्यापारमा यसरी मार्दैछन् तीर

काठमाडौं । कांग्रेसका कतिपय नेताहरूले १४ औं महाधिवेशनमै जयवीर सिंह देउवालाई महाधिवेशन प्रतिनिधि बनाउन चाहेका थिए । तर, पिता शेरहबहादुर देउवाले नै अहिले पर्दैन भनेर रोकेपछि शेरबहादुर र आरजुका एकमात्र सन्तान जयवीरको हैसियत नेपाली कांग्रेसमा अहिले क्रियाशील सदस्यको मात्र छ ।

२७ वर्षीय जयवीरले २०७७ चैतमा कांग्रेसको क्रियाशील सदस्यता पाएका हुन् । कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये जयवीर सबैभन्दा कान्छो समूहका हुन् । यही असार २९ गते २९ वर्ष प्रवेश गर्दै गरेका जयवीर सार्वजनिक रूपमा विरलै देखिन्छन् ।

उनी कांग्रेसका कार्यक्रमहरूमा पनि देखिँदैनन्, पहिलो पारिवारिक तस्बिर आरजुले एक वर्षअघि सार्वजनिक गरेर जयवीरलाई राजनीतिमा ल्याउन चाहेको सन्देश दिएकी थिइन् ।

जयवीर लामो समय बेलायतमा बसे । उच्च शिक्षा अध्ययनका लागि बेलायत गएका जयवीरले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेको भनिए पनि कांग्रेसको अभिलेखमा शैक्षिक योग्यता स्नातक राखिएको छ ।

दुई वर्षअघि जयवीर लण्डनमा स्वास्थ्यमा गम्भीर समस्या देखिएको कारण उनको हेरचाहका लागि आरजु लामै समय गएर बसेकी थिइन् । सम्भ्रान्त परिवारका सन्तानमा युवा उमेरमा देखिने लत जयवीरमा पनि बसेकाले उनलाई छुटाएर नेपालमै ल्याइएको जयवीरको मामाघरतिरका सदस्यहरू बताउँछन् ।

पछिल्लो समय जयवीरले आमालाई राजनीतिसँगै व्यवसायिक कारोबारमा पनि सघाउन थालेपछि उनी विस्तारै व्यापारिक घरानाहरूबीच घुलमिल हुन थालेका छन् । जापानबाट सेक्युरिटी प्रेस ल्याउने तयारीस्वरूप आरजुले आफ्नो पटकपटकको भ्रमणपछि दुर्गाबहादुर क्षेत्रीलाई टोकियोको लागि नेपाली राजदूत नियुक्त गर्न सफल भएकी छन् ।

जापानको राजदूत बन्न संसद सचिवालयका पूर्वमहासचिव मनोहर भट्टराईले सत्ता गठबन्धनकै एकजना शीर्ष नेतालाई २ करोड रूपैयाँको जोहो समेत गरेका थिए । तर, आरजुको व्यापारिक डिल दुर्गाबहादुर सुवेदीबाट हुने भएपछि भट्टराईलाई ती नेताले ‘सरी’ भन्नुपरेको चर्चासमेत परराष्ट्रका उच्च अधिकारीहरूबीचमै चलेको छ ।

यो प्रसंग किन ल्याइएको हो भने आरजुले छोरा जयवीरलाई व्यापारसँगै राजनीतिमा पनि सक्रिय बनाउँदैछिन् । कतिपय कारोबार त जयवीरले आमा र बुबालाई समेत क्रस गर्न थालेका छन् । यसको पछिल्लो सिलसिलामा विनोद चौधरी नै परेका छन् ।

अहिलेको सत्ता गठबन्धनका मुख्य वित्तीय साझेदार मानिने विनोद चौधरीले सीजी टेलिकमको युनिफाइड लाइसेन्स हात पार्न सबै प्रक्रिया पूरा गरिसकेका थिए । यसअघि गोकुल बास्कोटाले राज्यलाई तिर्नुपर्ने १८ अर्ब दायित्व तिरेपछि मात्र लाइसेन्सको प्रक्रिया अघि बढ्ने भनेर रोकेका थिए ।

प्रचण्ड लगाउँदा समेत नसकेपछि चौधरीले गोकुललाई हटाउनेमात्र होइन नेकपा विभाजनको लागि प्रचण्ड-माधवसहित ५ सचिवालय सदस्यलाई डिनर खुवाएर तत्कालीन नेकपाभित्र पनि लगानी गरेका थिए ।

यसपटक उनका लागि सबैतिर अनुकूल थियो । सम्बन्धित निकायबाट प्रक्रिया पूरा गरिसकेपछि जयवीरले ठूलो ‘रकम कलम’ माग गरेपछि अभिभावकहरूको समेत केही जोर नचलेको चर्चा निकटस्थहरूबीच चलेको छ ।

नारायणथान एरियामा विनोद चौधरी,उमेश श्रेष्ठलगायतको संयुक्त लगानीको ‘प्रोपर्टी’ मा समेत जयवीरले तनाव दिएको श्रेष्ठको बैंकिङ कारोबारमा सम्बन्धित पात्रहरूले बताएका छन् । सो प्रोपर्टीमा निःशुल्क प्राप्त १० प्रतिशत हिस्साबापतको पैसा परमादेशबाट देउवा प्रधानमन्त्री बन्नुअघि देउवा परिवारले नगद खाँचो परेको भन्दै लियो ।

तर, अहिले आएर जयवीरले सो रकम पनि फिर्ता नगर्ने र त्यसबापतको प्रोपर्टीको हिस्सा पनि पास गरेर नदिएपछि उच्च खानदानी ‘सियासत’ मा तनाव सिर्जना भएको छ । स्यानिटरी प्याड प्रकरण त बजेटमै हेराफेरि गराएका कारण सतहमा देखिएको मात्र हो । जयवीरले बाबुआमा र चाचा चौधरीहरूलाई समेत तनाव दिन थालेका छन् ।

अहिलेको सत्ता गठबन्धनलाई चौधरीहरूले आफ्नो व्यापारिक स्वार्थ साधनाको वित्त गठबन्धन बनाएको बेला जयवीरले हरेकमा हिस्सा खोजेका छन् । केही महिनाअघि जयवीरसँग केही ‘डेमोक्र्याटिक पत्रकार र सम्पादक’ हरूको अन्तरक्रिया गराउने कार्यक्रम बालुवाटारको सचिवालयले राखे पनि अन्तिममा रद्द गरिएको थियो । त्यो भेटघाट प्रत्युत्पादक हुने आँकलनसहित रद्द गरिएको बताइन्छ ।

कतिपय निकट नेताहरूले जयवीरलाई तरुण दलको सचिव बनाएर उत्तराधिकारीका रूपमा स्थापित गर्न सुझाएका छन् । तर, जयवीरलाई अहिले नै उक्त जिम्मेवारी दिने कि नदिने भन्नेबारे बालुवाटारले टुंगो लगाएको छैन । केन्द्रीय सदस्यबाट इन्ट्री गराउनेबारे समेत छलफल भने चलेको छ । उनलाई पार्टीको डडेल्धुरा जिल्ला कार्य समितिबाट पनि क्रियाशील गराउन सकिने आइडिया निकालिएको छ ।

आगामी चुनावमा देउवाले जयवीरलाई सँगै लिएर अभियान सञ्चालन गर्ने निश्चित छ । जसले गर्दा अर्को चुनावका लागि जयवीरको लागि भोट हाल्न डडेल्धुराबासी तयार बन्नेछन् ।

देउवा अहिलेको सत्ता गठबन्धनलाई कुनै पनि हालतमा टुटाउन चाहँदैनन् । यो बुझेर प्रचण्डको बार्गेनिङ बढेको छ र उनले बेलाबेलामा नत्र ओलीतिर लाग्छु भनिरहेका छन् । यसको एकमात्र उद्देश्य १६५सिटको बाँडफाँटमा कांग्रेस हाबी नहोस् र आउने प्रतिनिधिसभाको गणित आफूबिना कसैको पनि बहुमतमा नहोस् भन्ने नै हो ।

देउवाको कमजोरी बुझेरै प्रचण्डले कांग्रेसलाई १६५ सिटमध्ये बढीमा ८५ सिटमा चुनाव लडाउन खोजेका छन् । त्यसो हुँदा समानुपातिक समेत गर्दा कांग्रेसले माओवादीबिना अरुसँग मिलेर सरकार बनाउन नसक्ने र आफू आउने प्रतिनिधिसभाको कार्यकालमा तेस्रोपटक प्रधानमन्त्री बन्न पाउने प्रचण्डको दाउ हो ।

देउवा यसमा लचिलो छन् । उनी पनि आउने प्रतिनिधिसभाको कार्यकालभित्रै आरजुलाई राज्यसत्ताको बागडोरमा पुर्‍याउन चाहन्छन् । प्रचण्डसँगको गठबन्धनबाट आलोपालो प्रधानमन्त्री बाँड्ने गरी गठबन्धनमा हदैसम्म लचिलो बन्न देउवा तयार छन् । त्यसपछि आरजु र जयवीरलाई कांग्रेस राजनीतिमा सोनिया गान्धी र राहुल गान्धीको भूमिकामा लैजान सकिन्छ भनेर देउवानिकट युवा नेताहरूले उकासेका छन् ।

देउवाका लागि डडेल्धुराको चुनाव सम्भवतः अब मंसिर नै अन्तिम हुनेछ । ६ पटकसम्म लगातार जितेका देउवा उमेरका कारण पनि अब सातौं पटकपछि चुनाव लड्ने छैनन् । त्यसपछि जयवीरका लागि मैदान तयार पारिँदैछ । जयवीरको लागि चुनौती हुनसक्ने कर्ण मल्लहरू कांग्रेसबाट वहिर्गमन भइसकेका छन् भने लोकराज भट्टहरू पाँच वर्षअघि नै ठेगान लागिसकेका छन् ।

नैनसिंह महर जयवीरको लागि बाधक बन्न चाहँदैनन् । त्यसैले उनले कैलाली वा काठमाडौं ५ बाट चुनाव लड्न खोजेका छन् । बाँकी रहेका एकजना रघुवर भट्ट हुन् जो जयवीरको लागि चुनौती होइनन् । त्यसै पनि उनी पछिल्लोपटक युवती काण्डमा परेका छन् ।

कांग्रेसमा अहिलेको जस्तै ठीकठाक चल्दै गयो भने जयवीरको उदयको ढोका बन्नेछ सत्तरीको दशकको अन्तिम वर्ष ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्री पुत्रको कम्पनी पोस्न सेनेटरी प्याडमा भन्सार माफ


प्रतिक्रिया

2 thoughts on “कांग्रेसका कान्छा क्रियाशील जयवीर- राजनीति र व्यापारमा यसरी मार्दैछन् तीर

  1. राजनीति त्यसले गर्नुपर्छ जसले आफुमा कुनैपनि इच्छा आकांक्षा महत्वकांक्षा राख्नु हुदैन तर जनताको जीवन स्तर उकास्न हरतरहको महत्वकांक्षा र सपना देख्नु र त्यसलाई पूरा गर्नु राजनेताको कर्तब्य हो वंश र पहुँचमा होइन ।नाफाखोर त राजनीतिमा एक दाम वा छेउ पनि देखिनु हुदैन ।

  2. भारी बोक।चाकरी गर। काधमा चढाउ । आफुले त भारी बोकेरै जिन्दगी कटायौ।अबको पुस्तालाई पनि भारी बोकाऊ। थुक्क ! गु खाने नेपाली भेडा हो । एक जना भाइरल “दैलेखी ज्योतिष ” ले नेपालका ९५% जनता गु खान्छन् भन्थे, ठिकै भनेका रहेछन।

Leave a Reply to झाङ्क्रीको भिनाजु Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर