कर्णाली प्रदेश : डोल्पाका वीरबहादुर उद्योगमन्त्री बन्ने पक्का
सुर्खेत । कर्णाली प्रदेश सरकारमा माओवादीका एकजना नयाँ मन्त्री बन्ने पक्का भएको छ । साउन २४ गते उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको रूपमा डोल्पाका सांसद वीरबहादुर शाही नियुक्त हुने पक्का भएको माओवादी स्रोतले जनाएको छ ।
गैरसांसदबाट मन्त्री बनाइएका कार्चेन लामाको पदावधि संवैधानिक हिसाबले ६ महिनासम्म मात्र रहने भएकाले उनी साउन २३ बाट बिदा हुँदैछन् । लामाकै ठाउँमा शाहीलाई ल्याउन लागिएको हो ।
यसअघि नै सपथ खान तयार भएका शाही प्रचण्ड र जनार्दन शर्माको निर्देशनमा कार्चेनलाई ल्याएपछि मन्त्री बन्नबाट वञ्चित भएको माओवादीका एक नेताले बताएका छन् ।
गएको माघ २३ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले माओवादीका दुई मन्त्रीसहित कांग्रेस र समाजवादीका मन्त्रीलाई सहभागी गराएका थिए ।
कर्णाली प्रदेशसभामा रहेका माओवादीका ११ सांसदमध्ये सातजना मन्त्री बनिसकेका छन् । मन्त्रीको आकांक्षा राखेकी जाजरकोटकी सांसद कृष्णा शाह प्रमुख सचेतक बनिसकेकी छन् ।
रुकुमपश्चिमका रातो कामीलाई अर्थ, प्राकृतिक स्रोत समितिको अध्यक्ष बनाउने तयारी छ ।
माओवादी केन्द्रबाट यसअघि प्रदेश सभा सदस्यहरु पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, गोपाल शर्मा, विन्दमान विष्ट, विमला केसी, गणेशप्रसाद सिंह, नरेश भण्डारी, सीता नेपाली मन्त्री भइसकेका छन् । उपसभामुखमा माओवादीकै पुष्पा घर्ती मगर छिन् ।
कर्णाली प्रदेशसभाको कार्यकाल समाप्त हुन ६ महिनाबाट ओरालो लाग्दैछ । अहिलेसम्म माओवादीका दुईजनाबाहेक सबै मन्त्री बनेर निस्किने भएका छन् ।