कार्यकाल पूरा गर्न नपाएका लुम्बिनीका ‘अभागी’ सांसद – Nepal Press

कार्यकाल पूरा गर्न नपाएका लुम्बिनीका ‘अभागी’ सांसद

रूपन्देही । लुम्बिनी प्रदेशका १० सांसदले आफ्नो पहिलो कार्यकाल पूरै समय बिताउन पाएनन् । अधिकांश अस्थिर राजनीतिको खेलमा म्यादी मन्त्री बन्ने लोभमा, केही पार्टी विभाजनपछि अर्को पार्टी रोजेकाजस्ता कारणले पूरै कार्यकाल प्रदेश सांसद नरहेका हुन् ।

यीमध्ये दुई सांसदको भने पदमै रहेको अवस्थामा निधन भयो । १० जना सांसदको स्थानमा ३ जना नयाँले अवसर पाएका छन् भने ७ जनाको स्थानमा भने यो कार्यकालमा कोही नआउने निश्चित भएको छ ।

अधिकांश सांसद मन्त्री तथा अन्य लाभका लागि सांसद पदलाई त्यागेका भएपनि दुई सांसद पार्टी रोजेका पद गुमाउन पुगे । नेकपाबाट रूपन्देही क्षेत्र नं १ को २ बाट निर्वाचन जितेर अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति बनेका दधिराम न्यौपाने र गुल्मी २ को २ बाट निर्वाचन जितेका दिनेश पन्थी भने नेकपा विभाजनपछि एमाले रोजेका कारण माओवादीले कारबाहीमा परे । प्रदेशमा धेरैजनाको सांसद पद नै धरापमा परेको नेकपा विभाजनपछिको अस्थिर अवस्था नै हो ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सामेल भएर ४ महिना मन्त्री बनेपछि जसपाबाट रूपन्देहीको क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित सांसद सन्तोष पाण्डे, बाँकेको क्षेत्र नम्बर २ (१) निर्वाचित विजयबहादुर यादव, जसपाको समानुपातिक कोटाबाट निर्वाचित कल्पना लम्साललाई पार्टीले कारबाही गरी संसदबाट हटाएको थियो ।

उनीहरूसँगै मन्त्री बनेकी सुमन शर्मा रायमाझी भने केही समयपछि मन्त्री पद छोडेर बसेपछि अहिले गठबन्धन सरकारमा पुनः मन्त्री बनेकी छन् । यी मध्ये समानुपातिकबाट आएकी कल्पना लम्सालको स्थानमा जसपाले कल्पना मुठभरीलाई सांसद बनायो । अरु दुवैजना प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको स्थान खाली रहेको छ ।

एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद दृगनारायण पाण्डेले आफ्नै पार्टी नेतृत्वको सरकार ढलाउन सांसद पद मात्रै छोडेनन् पार्टी नै छोडे । उनी कांग्रेसमा प्रवेश गरेर ६ महिनाको लागि राष्ट्रियसभा सदस्य बनेर अहिले रिटायर्ड बनिसकेका छन् । उनको स्थानमा पनि निर्वाचन हुन सकेन ।

आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न एमालेबाट दाङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित सांसदबाट राजीनामा दिएका दाङका अमरबहादुर डाँगी अहिले मुख्यमन्त्री केसीका प्रमुख राजनीतिक सल्लाहकार छन् । मुख्यमन्त्री केसीले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै डाँगीलाई सल्लाहकार नियुक्त गरेका थिए । पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए । उनको सुविधा ८० हजार ८०० रूपैयाँ छ ।

बर्दिया जिल्ला क्षेत्र नं २ को २ बाट माओवादीबाट निर्वाचित सांसद दीपेश थारु सबैभन्दा पछि प्रदेश सांसद त्याग्नेमध्येका हुन् । स्थानीय तहको निर्वाचनमा स्थानीय राजापुर नगरपालिकाको मेयर बन्न उनले राजीनामा दिएका हुन् । हाल उनी मेयरमा निर्वाचत भएका छन् । प्रदेशभन्दा स्थानीय तहमा काम गर्न सहज हुने ठानेर उनी यता लागेको बताएका छन् ।

प्रदेशसभामा रूपन्देहीबाट समानुपातिक सांसद बनेका बलदेव शर्मा पोखरेल बिरामी परेर उपचारका क्रममा र दाङको ३ खबाट निर्वाचित उत्तरकुमार वलीको दुर्घटनामा परेर मृत्यु भएको हो । पोखरेलको स्थानमा दाङका शंकर गिरी र उत्तरकुमारको स्थानमा विमला वली सांसद बनेका छन् ।

लुम्बिनी प्रदेशका ८७ सांसदमध्ये अहिले ८० जनामात्रै रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर