प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी – Nepal Press

प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी

जनकपुरधाम । प्रहरी समायोजन ऐन कार्यान्वयन चाँडै नभए संघीय सरकारविरुद्ध संयुक्त रुपमा कडा कदम चाल्ने बाध्य हुने ६ वटा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरूले चेतावनी दिएका छन् ।

जनकपुरधाममा बिहीबार मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको शान्ति सुरक्षा तथा विपद व्यवस्थापनसम्बन्धी अन्तरप्रदेश अनुभव आदानप्रदान कार्यक्रममा ६ वटै प्रदेशका मन्त्रीहरूले यस्तो चेतावनी दिएका हुन् ।

संघीय सरकारले प्रहरी समायोजन ऐन कार्यान्वयन गर्न नचाहेकाले प्रदेशका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको मन्त्रीहरूको गुनासो रहेको छ ।

मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सातवटै प्रदेश गोलबद्ध भएर चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । उनले आफूहरूको शान्तिपूर्ण तरिकाबाट संघीय सरकारले प्रहरी समायोजन गरी माग सम्बोधन नगरे संघ सरकारका सुरक्षाकर्मीलाई चौकी-चौकीबाट बाहिर निकालिदिने चेतावनी दिए ।

संविधानले दिएको अधिकार कार्यान्वयन गर्न संघीय सरकारले आनाकानी गरेकाले एकमत भएर अघि बढ्नुको विकल्प नरहेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।

‘संघीयताविरोधी तथा एकात्मक सोच भएकाहरूलाई सन्देश दिन यहाँ भेला भएका हौं’, मन्त्री कार्कीले भने, ‘जनकपुर घोषणापत्र जारीपछि दबाब सिर्जना गर्न मुख्यमन्त्री र मन्त्रीहरू संघ सरकारलाई दबाब दिन काठमाडौं जाऔं ।’

बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री कृष्णप्रसाद खनालले संविधान जारी भएअनुसार नै कार्यान्वयनमा अवरोध गर्नेलाई धरातल नै देखाइदिने चेतावनी दिए ।

६ वटा प्रदेशका मन्त्रीहरूको भेलाबाट ७ बुँदे जनकपुरधाम घोषणापत्रसमेत जारी गरिएको छ । सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरूलाई भेलामा बोलाइए पनि कर्णाली प्रदेशका आन्त्रिक मामिला तथा कानूनमन्त्री भने उपस्थित भएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर