पेट्रोलियम पदार्थको लागि रुससँग श्रीलंकाको गुहार – Nepal Press

पेट्रोलियम पदार्थको लागि रुससँग श्रीलंकाको गुहार

काठमाडौं । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलकांमा इन्धन आपूर्ति लगभग बन्द भइसकेपश्चात राष्ट्रपति गोटाबाया राजपाक्षेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोगको अपील गरेका छन् ।

श्रीलङ्काका ऊर्जामन्त्रीले देशमा रहेको पेट्रोलको मौज्दात छिट्टै सकिने बताएसँगै राजपाक्षेले रुससँग गुहार मागेको बीबीसीले जनाएको छ ।

वार्तामा उधारोमा श्रीलंकालाई इन्धन दिन अनुरोध गरेको र उक्त वार्ता फलदायी भएको राजपाक्षेको भनाइ छ ।

उनले श्रीलंका र रुसबीच फेरि उडान सञ्चालन गर्न अनुरोध पनि गरेको जनाएका छन् । इन्धन आपूर्तिमा समस्या उत्पन्न भएपछि श्रीलङ्काले केही महिनादेखि रुससँग तेल किनिरहेकाे छ ।

आइतबारमात्र ऊर्जामन्त्री कञ्चन विजेशेकरले नियमित मागअनुसार वितरण गर्ने हो भने देशमा भएको पेट्रोल एक दिनलाई पनि नपुग्ने बताएका थिए । इन्धन खपतलाई नियन्त्रण गर्न श्रीलंका सरकारले गत सातादेखि अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई पेट्रोल र डिजेल बेच्न रोक लगाएको छ ।

देशलाई आर्थिक सङ्कटबाट उद्धार गर्न अहिले श्रीलङ्का सरकार र अन्तर्राष्ट्रिय मुद्राकोषबीच वार्ता भइरहेको छ भने यो वर्ष आर्थिक संकटसँग जुध्न श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्राकोषबाट ५ अर्ब डलर सहयोगको अपेक्षा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *