नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी टेकप्रसाद राईलाई – Nepal Press

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी टेकप्रसाद राईलाई

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ । एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

राई हालैमात्र डीआईजीमा बढुवा भएर महानिरीक्षक (आईजीपी)को सचिवालयमा पदस्थापन भएका हुन् । उनी आफ्नो भर्ना ब्याचबाट दोस्रो नम्बरमा रहेर डीआईजीमा बढुवा भएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी कुन दर्जालाई दिने निश्चित छैन । आईजीपीले आफ्नो तजबिजी अधिकार प्रयोग गरी प्रवक्ता तोक्ने गरेका छन् । तर, पछिल्लो समय एसएसपीलाई प्रवक्ताको जिम्मेवारी दिँदै आएको छ।

आईजीपी सचिवालयमा अहिले एसएसपीको दरबन्दी रिक्त रहेकाले डीआईजी राईलाई प्रवक्ता तोकिएको हो । तर, एसएसपीको दरबन्दी पूर्ति भएपछि प्रवक्ता एसएसपी नै हुन्छन् भन्ने निश्चित नरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।

एसएसपीका रुपमा राईले ललितपुर प्रहरी परिसर र मानव बेचबिखन नियन्त्रण ब्युरो प्रमुख रहेर काम गरेका थिए । विशेष ब्युरोमा लामो समय बिताएका राई प्रतिआतङ्कवादमा विशेषज्ञ अनुसन्धान अधिकृतका रुपमा चिनिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *