ट्राफिकमा आउनासाथ मीराकाे ध्यान सवारीसाधनका गजल र सायरीमा‍, धमाधम मेट्न लगाउँदै – Nepal Press

ट्राफिकमा आउनासाथ मीराकाे ध्यान सवारीसाधनका गजल र सायरीमा‍, धमाधम मेट्न लगाउँदै

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधनको पछाडि लेखिएका सायरी र गजल हटाउने अभियान सुरू गरेकाे छ । काठमाडौं ट्राफिकको जिम्मेवारी सम्हालेको भोलिपल्टै बिहीबार डीआईजी मीरा चौधरीले सायरी र गजल हटाउने अभियान सुरु गरेकी हुन् ।

उनले पुरानै अभियानलाई निरन्तरता दिइएको बताइन् ।

‘यो मेरो अभियानभन्दा पनि पुरानैलाई निरन्तरता दिइएको हो । मैले प्रभावकारी बनाउनमात्र खोजेकी हुँ’, डीआईजी चौधरीले भनिन् । उनले अश्लीलता फैलाउने, लैंगिक हिसाबले एब्युजिक कुराहरु मात्र हटाइने‍ बताइन् ।

‘यस्ता कुराहरुले डिस्ट्रयाक्ट पनि गर्छ । त्यसैले हटाइनुपर्छ भन्ने हो,’ डीआईजी चौधरीले भनिन्, ‘तर, सन्देशमूलक लेखाइलाई भने केही गर्दैनौं । त्यस्तोलाई हामी आफै प्रवर्द्धन गर्छौं ।’

यता काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जारी गरेको विज्ञप्तिमा पुरानै अभियानको निरन्तरताभन्दा नयाँ अभियान सुरु भएको आशय देखिन्छ ।

‘सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो’, त्यसमा लेखिएको छ, ‘नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख, रचना, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न पाइँदैन ।’

एसएसपीबाट डीआईजीमा बढुवा भएपछि मीरा पहिलो पोस्टिङका रुपमा काठमाडौं उपत्यका ट्राफिकमा पुगेकी हुन् । आफ्नो भर्ना ब्याचबाट पहिलो लटमै डीआईजी बनेका चार जना महिलामध्ये मीरा पनि एक हुन् । यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहँदा उनको नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट ठूलो मात्रामा सुन पनि बरामद भएको थियो ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वसदस्यसमेत रहेकी मीराका लागि सार्वजनिक सवारीका गजल, सायरी हटाउने अभियान त्यति सहज हुने देखिँदैन । साहित्यिक वृत्तबाट यस कदमको आलोचना सुरु भएको छ ।


प्रतिक्रिया

One thought on “ट्राफिकमा आउनासाथ मीराकाे ध्यान सवारीसाधनका गजल र सायरीमा‍, धमाधम मेट्न लगाउँदै

  1. गजल र शायर राम्रो भए के फरक पर्ला र! बैक र अन्य बिज्ञापन राख्ने त विश्व कै चलन हो।नयाँ काम देखाउदा त्यस बाट केही लाभ त हुनु पर्छ है।

Leave a Reply to खड्ग जीत लामा Cancel reply

Your email address will not be published. Required fields are marked *