युद्ध नगर्ने सुझावमा पुटिनको जवाफ- जिममा छु, यसपछि आइस हक्की खेल्न जाने मन छ – Nepal Press

युद्ध नगर्ने सुझावमा पुटिनको जवाफ- जिममा छु, यसपछि आइस हक्की खेल्न जाने मन छ

काठमाडौं । गत फेब्रुअरी २४ देखि रुस र युक्रेनबीचको युद्ध जारी छ । युद्ध सुरु हुनुपूर्व विश्वका विभिन्न देशहरुले पुटिनलाई उक्त युद्ध सुरु नगर्न आग्रह गरेको बताइन्छ ।

यसैबीच युद्ध सुरु हुनुभन्दा चार दिन अगाडि अर्थात फेब्रुअरी २० तारिखमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोबीच भएको फोन वार्तालापको अडियो सार्वजनिक भएको छ ।

फ्रान्सको टेलिभिजन ‘फ्रान्स २’ बाट उक्त अडियो सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार फ्रान्सका राष्ट्रपति म्याक्रोले उक्त फोन वार्तालापमा पुटिनलाई युक्रेनसँग युद्ध नगर्न अपील गरेका छन् । उक्त अपीलमा पुटिन भने सकारात्मक देखिएका थिएनन् ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग वार्तालाप गर्नुस् भन्ने म्याक्रोको सुझावलाई समेत पुटिनले नकारेका छन् ।

दुई नेताहरुको उक्त अडिओ सार्वजनिक भएसँगै रुसका विदेशमन्त्री सर्गेई लाभरोभले उक्त घटनाले दुई देशबीचको कूटनैतिक सम्बन्धमाथि नै प्रश्नचिन्ह खडा गरेको भन्दै आपत्ति जनाएका छन् । उक्त वार्तालाप दोभाषेको मद्दतमा भएको थियो ।

वार्तालापको क्रममा पुटिनले म्याक्रोलाई उनले रुससँग भन्दा पहिला युक्रेनमा रहेर रुसको समर्थन गरिरहेका मानिसहरुसँग कुरा गर्नुपर्ने बताएका छन् । जसमा म्याक्रोले उत्तेजित हुँदै जवाफ फर्काउँछन्, ‘मलाई थाहा छैन, तपाईंलाई यो सल्लाह कुन वकिलले दिइरहेको छ र उनले कहाँबाट कानून पढेका छन् ।’

उक्त अडिओअनुसार युक्रेनमा हमला गर्न पुटिन पहिलादेखि नै प्रतिबद्ध देखिएका छन् । युक्रेनमा जेलेन्स्की नेतृत्वको सरकार जनताबाट निर्वाचित नभएको कारण फ्रान्सले युक्रेनको समर्थन गर्न नहुने पुटिनको तर्क छ । पुटिनको उक्त भनाइपश्चात म्याक्रोले कुनै पनि विद्रोही गुटसँग आफूले वार्ता नगर्ने बताउँदै रुसले युद्ध रोक्न कुनै सकारात्मक पहल गर्छ वा गर्दैन भनेर प्रश्न गरेका छन् ।

म्याक्रोको उक्त प्रश्नपश्चात पुटिनले प्रश्नलाई टाल्दै हाल आफू जिममा रहेको तत्पस्चात आइस हक्की खेल्न जाने मन भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *