नाडालले विम्बल्डन सेमिफाइनल खेल्ने अनिश्चित – Nepal Press

नाडालले विम्बल्डन सेमिफाइनल खेल्ने अनिश्चित

काठमाडौं । पेटको चोटका कारण कीर्तिमानी २२औं ग्रान्डस्लाम विजेता राफेल नाडालले विम्बल्डनको सेमिफाइनल खेल्ने निश्चित नभएको बताएका छन् ।

बुधबार राति भएको क्वार्टरफाइनल खेलमा टेलर फ्रिट्जमाथि रोमाञ्चक रुपमा ३–२ को सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेका नाडालले खेल्ने सम्भावना न्यून रहेको बताएका हुन् ।

उनले फ्रिट्जलाई ३–६, ७–५, ३–६, ७–५, ७–६ (१०–४) को नतिजामा पराजित गरेका थिए । नाडालले सेमिफाइनलमा अस्ट्रेलियन खेलाडी निक किर्गियोससँग प्रतिस्पर्धा गर्ने समीकरण रहेको छ ।

३६ वर्षीय नाडालको सेमिफाइनलअघि पेटको चोटको परीक्षण हुनेछ । किनभने क्वार्टरफाइनल खेलमै उनी निकै संघर्ष गरिहेका थिए ।

‘खेलको दौरान रिटायर्ड हुनु मलाई असाध्यै मन नपर्ने कुरा हो । त्यसैले म सक्दो कोसिस चाहिं गर्छु त्यत्ति हो’, उनले भने, ‘यो सधैं भइरहन्छ । त्यसैले नयाँ केही छैन । मलाई केही दिनदेखि गाह्रो भइरहेको छ । आजको दिन असाध्यै नराम्रो भयो । दुखाई बढिरहेको छ । भोलि म परीक्षण गर्न जानेछु ।’

नाडालले आफू दुखाई र समस्याहरुसँग खेल्ने बानी परिसकेको बताएका छन् । उनले पुरुष एकलतर्फ कीर्तिमानी २२औं ग्रान्डस्लाम उपाधि जितेका छन् ।

‘विम्बल्डन जित्नुभन्दा ठूलो कुरा मेरो स्वास्थ्य हो । म सेमिफाइनल खेल्छु या खेल्दिनँ मलाई थाहा छैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *