सदनको गतिरोध अन्त्यका लागि कर्णालीमा सर्वदलीय बैठक बस्दै – Nepal Press

सदनको गतिरोध अन्त्यका लागि कर्णालीमा सर्वदलीय बैठक बस्दै

सुर्खेत । असार १२ देखि स्थगित हुँदै आएको कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्ने विषयमा आज सर्वदलीय बैठक बस्दैछ ।

प्रदेशसभाको गतिरोध अन्त्यका लागि बिहान ११ बजे सभामुख राजबहादुर शाहीले बैठक बोलाएका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रम, ६ जना रिक्त रहेका प्रत्यक्ष निर्वाचित सांसदहरुको क्षेत्रमा जाने पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको २४ करोड बजेट, १५ लाखभन्दा मुनिका योजनामा बजेट दिइएको र सात बुँदेप्रति सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्ष एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ ।

आफूहरूको माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने एमालेको अडान छ । बजेट निर्माण प्रक्रियाप्रति मुख्यमन्त्रीसँग सत्तारुढ दलकै सांसद असन्तुष्ट छन् ।

‘मुख्यमन्त्री जीवनबहादुर शाहीको बजेटमाथिको हस्तक्षेपको विरोध गर्न सत्तारुढ दल भएकै कारण नमिल्ने भएको हुँदा माओवादीले पनि एमालेले सकेसम्म विरोध गरिदेओस भन्ने चाहेको छ’, माओवादी संसदीय दलका नेता मेहन्द्रबहादुर शाही निकट स्रोत भन्छ, ‘प्रमुख प्रतिपक्षी दलका माग सम्बोधन गरेर अघि बढन सरकार तयार हुनुपर्छ ।’

‘आजको बैठकमा सहमति हुन्छ र हुनुपर्छ ’, सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले भने, ‘हामी अध्यादेशबाट बजेट ल्याउने पक्षमा छैनौं । प्रमुख प्रतिपक्षीले उठाएका जायज मागहरूको सम्बोधन गर्न सरकार आवश्यक गृहकार्यमा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर