जलवायु न्यायको मुद्दासहित ६० जना महिला शे-फोक्सुण्डो पदयात्रामा निस्किँदै – Nepal Press

जलवायु न्यायको मुद्दासहित ६० जना महिला शे-फोक्सुण्डो पदयात्रामा निस्किँदै

काठमाडौं । जलवायु परिवर्तनले महिलाको जनजीवन र पर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन ६० जना महिलाको समूहले डोल्पाको विकट फोक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने तयारी गरेका छन् । उक्त पदयात्राको बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच घोषणा गरियो ।

कर्णालीको दूर्गम भेगमा पदयात्रासहित आउँदो अक्टोबरमा हुने कार्यक्रममा सबै प्रदेशबाट जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाहरू सहभागी हुने छन् ।

गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा गराएको संस्था साथसाथै फाउण्डेशनले सेफुक्सुडोको आगामी यात्राको आयोजना गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो कार्यक्रम प्रभावकारी हुने विश्वास जनाए । विभिन्न क्षेत्रका महिला सहभागी हुने यो कार्यक्रममा सरकारले समेत प्राथमिकता दिने उनको प्रतिबद्धता थियो ।

कार्यक्रमका विशेष अतिथि एवं सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने सुझाव दिइन् । कालापत्थर यात्रादेखि फोक्सुण्डोसम्मको अभियान साथसाथै संस्थाको नमूना भएको भन्दै यसले सम्पूर्ण महिला वर्गमा उल्साह ल्याएको उनको भनाइ थियो ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रूपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी गराइन् ।

‘यो यात्रा जलवायू परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित स्थानीय पर्यटन र जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हो’, कार्कीले भनिन्, ‘हामी घर, घरमा बसेर, आ-आफ्नो पेशा व्यवसाय अँगालेर बसेका नारी जलवायु परिवर्तनका मुद्दामा, जलवायु न्यायको मुद्दामा, महिलाको जनजीवनमा परेको अप्ठेरोको विषयमा हिँड्दै समस्या सुन्दै सुनाउँदै अघि बढिरहेका छौं ।’

यात्रामा सरकारका विभिन्न तह, कुट्नीतिक नियोग, सञ्चारकर्मीसहितको सहभागिता हुने आयोजकले जनाएको छ ।

हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट ३ दिनको पैदलयात्रा गरी महिला टोली फोक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ ।

साथसाथै संस्थाले गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिलाहरू लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको गरेको थियो ।

साथसाथैले हरेक वर्षको नारी दिवसको दिन कालापत्थर वा सगरमाथा हिमालय क्षेत्रमा जलवायु न्यायको मुद्दा बोकेर पदयात्रा गर्ने निर्णय समेत गरेको छ । यसअघि भएको कार्यक्रमको प्रभावकारिता र सन्देशले उक्त कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन लागिएको हो ।

गत मार्चको कालापत्थर कार्यक्रमका लागि वन तथा वातावरण मन्त्रालय, प्रकृति संरक्षण कोष, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग समेत सहकार्य थियो ।

फोक्सुण्डु पदयात्रामा मधेससहित विभिन्न प्रदेशबाट प्रतिनिधित्वमूलक रूपमा सांसद र अन्य जनप्रतिनिधि, डोल्पाका स्थानीय जनप्रतिनिधि र सरोकारवाला पक्षहरु समेत सहभागी भई सेफोक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।

कालापत्थर अभियानकै निरन्तरता स्वरुप आगामी अक्टोबर ८ देखि १४ सम्म पदयात्रासहितको विशेष कार्यक्रम हुन लागेको हो । वुमन युनाइटेड फर क्लाइमेट जस्टिस् एण्ड नेचर वेस टुरिज्म डेभलप्मेण्ट भन्ने भन्ने नारासहित उक्त अभियानको तयारीमा आयोजक जुटेको हो ।

हामी हाम्रा हिमाल, पहाड, खोला नाला, जंगलमा देखिएका समस्या विश्वलाई सुनाउन चाहान्छौं । नेपाल सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न चाहान्छौं, अध्यक्ष कार्कीले भनिन् ।

फोक्सुण्डो कार्यक्रममा समेत वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सँग सहकार्य गर्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा, टानका अध्यक्ष खुमबहादुर सुवेदीसहितले उक्त अभियानमा आफूहरूको सक्रिय साथ हुने दृढता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर