चोकमा खेलिरहेका बालक चोरी : ५५ वर्षीया एक्ली महिलाले किन लगेकी थिइन् ? – Nepal Press

चोकमा खेलिरहेका बालक चोरी : ५५ वर्षीया एक्ली महिलाले किन लगेकी थिइन् ?

काठमाडौं । असार ६ गते धनुषाको जनकपुर उपमहानगरपालिका– ७ भमरपुरा चोकबाट बेपत्ता ३ वर्षीय बालक सोहन चौधरी १५ दिनपछि मंगलबार महोत्तरीको पिपरा गाउँपालिका– ४ मा फेला परे ।

साँझ चोकमा खेलिरहेका सोहन डेरामा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । ‘दैनिक ५० जना प्रहरी परिचालन भइरहेका थिए, बालकको खोजीका लागि । यसबीचमा ६० वटा सीसीटीभी फुटेज हेरेका थियौं’, धनुषा प्रहरी प्रमुख बसन्त रजौरेले भने । प्रहरीले बालकको तस्वीर मातहत र छिमेकी जिल्लाका युनिटहरुमा पठाएर खोजिरहेको थियो ।

रजौरेका अनुसार धनुषासँग सीमा जोडिएको महोत्तरीको पिपरामा एक महिलासँग एकाएक बच्चा देखिएको सूचना आएपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो । नभन्दै हराएका बालक र ती महिलासँग भएका बालक एकै भएको निष्कर्षमा प्रहरी पुग्यो ।

त्यतिमात्र नभएर बालकलाई खेलिरहेको स्थानबाट उठाउने पनि तीनै महिला रहेको तथ्य फेला पर्‍यो, सीसीटीभी फुटेजका आधारमा । तर, महिलाले बालकलाई किन लगेकी थिइन् भन्नेबारे प्रहरीले अझै निष्कर्ष निकाल्न सकेको छैन ।

छोरीको विवाह गरिदिएपछि ५५ वर्षीया मैथुन खातुन एक्लै बस्दै आएकी थिइन् । प्रारम्भिक सोधपुछमा छोरा नभएकाले आफूले ल्याएको बताएकी मैथुनले प्रहरी नियन्त्रणमा आएयता खाना पनि खाएकी छैनन् ।

‘अरु कुनै कारण थियो भने त बालकलाई उनले घरमा राखिरहने थिइनन्’, अनुसन्धानमा खटिएका एक जुनियर प्रहरी अधिकृतले भने, ‘बालक ल्याएयता महिलाले खाना पनि खाएकी छैनन् ।’

यता छोरा भेटिएसँगै भारतको सीतामढी स्थायी घर भई भमरपुरा चोकमा डेरा बस्दै आएको हरिओम चौधरीको घरमा खुसी फर्किएको छ । कवाडीको काम गर्दै आएका हरिओमका चार सन्तानमध्ये सोहन कान्छा छोरा हुन् । तीन छोरा जन्मिएपछि हरिओमको परिवारले छोरी पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर