अग्रिम हाजिर गरेर टाप ठोकेका डाक्टरलाई कारबाही सिफारिस – Nepal Press

अग्रिम हाजिर गरेर टाप ठोकेका डाक्टरलाई कारबाही सिफारिस

सुर्खेत । नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नाग कामप्रति उदास देखिएको भन्दै अस्पताल विकास समितिले कारबाहीको माग गरेको छ । भेरी अस्पताल कर्णाली प्रदेशका १० जिल्ला तथा लुम्बिनी र सुदूरपश्चिमका नागरिकको उपचार हवको रूपमा रहेको छ ।

सातामा जम्मा दुई दिन मात्र हाजिर हुने नआएको दिनको पनि अग्रिम हाजिर गर्ने कार्य गरेको भन्दै समितिले कारबाहीको माग गर्दै सिफारिस पत्र पठाएको हो । बारबार सचेत गराएकोमा डा. नागले अटेर गरेको समितिले जनाएको छ । उनी १०औं तहका हुन् ।

उनलाई कारबाही गर्न समितिले २०७८ साउन २२ मा स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको थियो । तर, अहिलेसम्म सचेतसम्म नगराएपछि झन् मनोमानी बढेको अस्पताल स्रोतले जनाएको छ ।

नागरिक समाज बाँकेका अध्यक्ष एवम् अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले समितिको तर्फबाट उनलाई पटक-पटक सुध्रिन अनुरोध गरेको बताए ।

‘उनलाई कारबाहीका लागि ७८ साउन २२ गते बसेको विकास समितिको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयमा लेखी पठाइएकोमा हालसम्म पनि कुनै सजाय नभएको अवस्थामा मिति २०७९ असार २० गते उनी अस्पताल प्रसाशन शाखामा असार २९ गते अग्रिम हाजिरी गरि गएका छन् ’, श्रेष्ठले भने, ‘आफ्नो उत्तरदायित्व र कर्तव्यबाट विमुख भएको पाइएकोले बाँके प्रशासनमार्फत पत्राचार गरिएको छ ।’

राज्यको सेवा सुविधा लिने तर निजी अस्पतालमा डा. नागले बढी ध्यान दिएको उनले बताए । औधोगिक क्षेत्र नजिकैको वैष्णवी अस्पतालमा उनी हुन्छन् ।

असार २९ सम्मको हाजिरलाई भने अस्पताल प्रशासनले बचाउ गरेको छ । कारबाहीको प्रक्रिया थाल्दा सुरूमा सर्जन विभाग, त्यसपछि अस्पताल प्रशासनमार्फत भएर जानुपर्नेमा एक्कासी समितिले कारबाहीको सिफारिस गरेको भन्दै अस्पताल प्रशासन र समितिबीच विवाद देखिएको छ ।

‘सातामा ६ दिन ड्यूटी हुन्छ । इन्डोरमा राउण्ड, अनकल पनि हुन्छ । तीनजना सर्जन हुनुहुन्छ । उहाँहरूले पालो मिलाएको हुन्छ । हप्तामा दुई दिन ओपीडी, दुई दिन इन्डोर राउण्ड, अप्रेशन दुई दिन गर्ने जिम्मा होला ’, सूचना अधिकारी डा. संकेतकुमार रिसालले नेपाल प्रेससँग भने, ‘उहाँ र अस्पताल समितिबीचको के विवाद हो मलाई थाहा भएन तर झुक्किएर अगाडि नै हाजिर गरेको भन्दै गल्ती स्वीकार्नुभएको छ।’

अस्पताल प्रशासनले स्पष्टीकरण पनि सोध्न नपाएको गुनासो गर्दै एक्कासी समाचार आउँदा मात्र आफूले थाहा पाएको रिसालले बताए । ‘म अस्पतालको सूचना अधिकारी हो । हालसम्म तपाईँबाहेक कसैले पनि फोन गरेको छैन ’, उनले थपे ।

यसबारे प्रतिक्रिया लिन हाजिरी रजिष्टरमा भएको डा. सुरेशको नम्बरमा फोन गर्दा अर्कैसँग सम्पर्क भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर