अफेयर चर्चा नकार्दै महेश र अस्मिता सँगै उडे अष्ट्रेलिया – Nepal Press

अफेयर चर्चा नकार्दै महेश र अस्मिता सँगै उडे अष्ट्रेलिया

काठमाडौं । अहिलेका अत्यधिक चर्चित र सफल दुई तन्नेरी गायक-गायिका अस्मिता अधिकारी र महेश काफ्ले निकै मिल्ने साथी हुन् । केही समयदेखि उनीहरू ‘रिलेसनसीप’ मा रहेको गाइँगुइँ पनि चल्न थालेको छ ।

अस्मिता र महेशले अहिलेसम्म बाहिरको  गसिपका विषयमा प्रतिक्रिया दिएका थिएनन् । आज उनीहरू एकसाथ म्युजिकल टुरका लागि अष्ट्रेलिया उडे । उड्नुअघि विमानस्थलमा सञ्चारकर्मीसँग उनीहरूले आफूहरूको सम्बन्धका विषयमा मुख खोलेका छन् ।

दुवैले एक स्वरमा आफूहरू राम्रो साथी मात्र भएको बताए ।

महेशले भने, ‘हामीलाई सांगीतिक कामको सिलसिलामा धेरै ठाउँमा मिडियाकर्मीले सँगसँगै देखिरहनुभएको हुन्छ । सायद त्यसैले यस्तो अनुमान लगाउनुभयो होला । तर, हामीबीच असल मित्रताबाहेक अरू केही छैन ।’

महेशले अस्मिताको निकै प्रशंसा गरे । अस्मिता आफूभन्दा उच्चस्तरकी गायिका भएको र उनीबाट धेरै सिकेको महेशको भनाइ थियो ।

अस्मिताले पनि यस्तो गसिप आउँदा अचम्ममा परेको बताइन् ।

‘खोइ कसरी यस्तो गसिप सुरु भयो । सहकार्य गर्ने क्रममा एक अर्काको सोच विचार मिल्छ । एज अ फ्रेन्डको जोनमा त बस्न सकिहालिन्छ । त्यति मात्रै हो,’ उनले भनिन् ।

केही समयअघि अस्मिताले छिन्नलता पुरस्कार प्राप्त गर्दा महेशले सामाजिक सञ्जालमा बधाई दिएका थिए । त्यसमा अस्मिताले धन्यवाद भनेकी थिइन् र महेशले लभ रियाक्ट गरेका थिए । त्यस लगत्तै उनीहरू एक साथ फिल्म हेर्न गएको समाचार आएको थियो । तर, उनीहरूले आफूहरू मात्रै हलमा गएको नभएर अरू कलाकारसँग गएको बताएका छन् ।

अस्मिता र महेशले केही गीतहरूमा सहकार्य गरेका छन् । उनीहरूले गाएको युगल गीत ‘अलि वर आऊ’ निकै हिट भएको थियो । अस्मिताले छोटो समयमै गायन क्षेत्रमा निकै उचाइ लिइसकेकी छन् । उनलाई अहिलेकी नम्बर १ गायिका मान्न थालिएको छ ।

महेश पनि ब्याक टु ब्याक हिट गीत दिइरहेका गायक हुन् । अष्ट्रेलिया उनको पहिलो अन्तर्राष्ट्रिय म्युजिकल टुर हो । अस्मिताले भने कोरोना सुरु हुनुअघि धेरै देशहरूमा पुगेर प्रस्तुति दिइसकेकी थिइन् । उनी नेपाल आइडलमा तेस्रो भएपछि वर्ल्ड टुरमा गएकी थिइन् । तर, कोरोना सुरु भएपछि भने उनको यो पहिलो विदेश भ्रमण हो ।

अष्ट्रेलियाका चार वटा शहरमा महेश र अस्मिताले सांगीतिक प्रस्तुति दिनेछन् । ७ देखि १८ जुलाइसम्म कन्सर्टहरू हुने छन् । यो टुरमा उनीहरूसँग मुक्ति एन्ड रिभाइबल पनि सहभागी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *