अर्थमन्त्रीबारे माओवादी केन्द्रमा उकुसमुकुस – Nepal Press

अर्थमन्त्रीबारे माओवादी केन्द्रमा उकुसमुकुस

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश तथा एकपछि अर्को विवादस्पद क्रियाकलापका कारण अर्थमन्त्री जनार्दन शर्माको आलोचना उत्कर्षमा पुगेको छ । सीसीटीभी फुटेज माग्दा ‘डिलिट भएको’ अर्थमन्त्रालयले जवाफ फर्काएपछि त्यसविषयको आलोचना झनै बढेको हो ।

यो विषयलाई सुरूदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रमुख एजेण्डा बनाएर अर्थमन्त्रीमाथि कारबाही वा संसदीय छानविनको माग गरिरहेको छ । यही क्रममा अर्थमन्त्रालयले सीसीटीभी फुटेज नै डिलिट भएको भन्ने जवाफ दिएपछि यसैलाई जोडतोडका साथ राजनीतिक मुद्दा बनाएर अघि बढेको छ । यस्तै अर्थमन्त्रीमाथिको यो आरोपका विषयमा नागरिकस्तरमा यसको आवाज झनै झांगिदै गएको छ ।

कांग्रेसभित्र चर्कियो आवाज

सुरूमा यो मुद्दा उठ्दा मौन रहेको सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका नेताहरू पछिल्लो समय यस विषयमा चर्को रूपमा आवाज उठाउन थालेका छन् । सीसीटीभी फुटेज नै डिलिट भएको जवाफ संगतपूर्ण नभएको भन्दै कांग्रेसका नेताहरूले आक्रोश पोख्न थालेका हुन् ।

घटनालाई सामान्य मान्न नसकिने भन्दै उनीहरू अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा माग्दै आवाज उठाउन थालेका छन् ।

हिजो कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्रालयको सीसीटीभीको फुटेज नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा सीसीटीभीको फुटेज १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको जवाफमाथि प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल एक्सनमा जानुपर्ने बताएका थिए ।

‘करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानबिन गर्नुपर्छ,’ उनले भनेका थिए । संसद्ले पारित गरेको बजेटको करको विषय सामान्य कुरा नभएको भन्दै उनले यसलाई छानबिनबाटै निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका थिए ।

हिजो नै प्रधानमन्त्री देउवानिकट केन्द्रीय सदस्य डा. डीला संग्रौलाले जवादेहिताबारे प्रश्न उठाउँदै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी थिइन् ।

‘नैतिकता भन्ने कुरा हराएको हो ? प्रश्न उठिसकेपछि राजीनामा दिनु पर्दैन,’ उनले ट्वीटरमा लेखेकी छन्, ‘प्रसंग सीसीटीभि फुटेज ! पदैमात्र ठूलो हो कि नैतिकता ? मन्त्रीको जवाफदेहिता खोई ?’

आज प्रधानमन्त्री देउवानिकट मानिएका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि अर्थमन्त्री शर्मालाई देशका बारेमा सोचिदिन भन्दै ट्वीटरमा आफ्नो अभिव्यक्ति राखेका छन् । उनले लेखेका छन्,‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भो । अर्थमन्त्री शर्मालाई अलिकती देशका बारेमा सोचिदिन उनले आग्रह गरेका छन् । ‘मन्त्रीजी अलिकति आफ्नो होइन, देशको बारे सोचिदिनु होस् ।’

कांग्रेसमा इतर समूहका अधिकांश नेताहरूले त खुलेरै अर्थमन्त्री शर्माको राजीनामा मागिरहेका छन् ।

नेता चन्द्र भण्डारीले तरकारीदेखि न्यायालयसम्म रहेका बिचौलिया अहिले बजेट निर्माणसम्ममा पुगेको टिप्पणी गरेका छन् ।

ट्वीटर ह्याण्डलमा उनले लेखेका छन्,‘जताजतै बिचौलिया ! तरकारीदेखि न्यायालयसम्म, मलदेखि योजनासम्म । हेर्दाहेर्दै बजेट निर्माणसम्म ! बिचौलियालाई रातो कार्पेट ! नया भेरियन्टको कडा कोरोना !’

प्रधानमन्त्री र माओवादी केन्द्र मौन, बढ्दै दबाब

सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसका नेताहरू नै यसरी अर्थमन्त्रीविरूद्ध उत्रिँदा प्रधानमन्त्री देउवा र स्वयम् अर्थमन्त्री शर्माको पार्टी नेकपा माओवादी केन्द्रमा ठूलो दबाब परेको छ ।

अहिलेसम्म अर्थमन्त्री शर्मा आफूले कुनै अनुचित काम नगरेको भन्दै कसैले आक्षेप लगाएकै भरमा पद नछाड्ने अड्डी कसेर बसेका छन् । यस्तोमा गठबन्धनका कारण उनलाई सिधै पदबाट हटाउन प्रधानमन्त्री देउवालाई सकस परेको छ, भने पार्टीभित्र शक्तिशाली रहेका विवादित अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउन माओवादी केन्द्रलाई समेत समस्या आइलागेको छ ।

यही कारण अहिलेसम्म उनीबारे न प्रधानमन्त्री बोलेका छन्, न त उनको पार्टी माओवादी केन्द्र नै !

तर, तत्काल कुनै प्रतिक्रिया नदिएपनि प्रधानमन्त्री देउवा र माओवादी केन्द्र दुवैलाई अहिलेको दबाब भने थेग्न नसकिने अवस्थामा पुग्ने निश्चित देखिएको छ । अर्थमन्त्रीले तत्काल राजीनामा नदिए वा प्रधानमन्त्री देउवाले उनीबारे कुनै कदम नचाले नेपाली कांग्रेसको आगामी २७ गते हुने केन्द्रीय समिति बैठकमा कुरा उठ्न सक्ने कांग्रेस स्रोत बताउँछ ।

कांग्रेसकै कतिपय नेताहरु अर्थमन्त्री जोगाउँन प्रधानमन्त्री बाध्य रहेको बताउँछन् । अर्थमन्त्री शर्माले केही ब्यापारिक घरानाको फाइदाका लागि गरेका निर्णय तथा बजेटमा करका दर हेरफेरमा प्रधानमन्त्री पत्नी आरजु देउवासमेत संलग्न रहेको उनीहरुको दाबी छ ।

माओवादी केन्द्रमा उकुसमुकुस

अर्थमन्त्री शर्माबारे प्रमुख प्रतिपक्षी दल, सत्तासहयात्री कांग्रेस र नागरिकस्तरमा बढ्दै गएको आवाजका कारण माओवादी केन्द्रभित्र चर्कै दबाब बढेको छ ।

अधिकांश नेताहरू यो दबाब थेग्दै अघि बढ्नुभन्दा केही कदम चालेर अघि बढ्नुपर्ने धारणा राख्न थालेका छन् । तर, यो विषय पार्टी बैठकमा आधिकारिक रुपमै प्रवेश भने पाएको छैन ।

केन्द्रीय समिति बैठकमै यो विषय नउठे पनि युवा नेता लेखनाथ न्यौपानेले बैठकबाहिर यो कुराबारे अनौपचारिक छलफल चलाएका थिए । तर, यसलाई घनिभूत ढंगबाट अगाडि बढाउने आँट कसैले नगरेको स्रोत बताउँछ ।

‘सबैका मनमा यो कुरा छ । यसलाई जति दबायो उति पार्टीलाई क्षति पुग्छ भन्ने सबैलाई लागेको छ,’ एक केन्द्रीय सदस्यले भने ,‘तर, आफैँ पहिला आवाज उठाउन कसैले आँट गरेको छैन ।’

आज केन्द्रीय सदस्य रञ्जित तामाङले भने जवाफदेहिताका हिसाबले यो विषयमा पार्टी बोल्नुपर्ने कुरा ट्वीटरमा लेखेका छन् ।

‘जवाफदेहिताको हिसाबले पनि बाहिर चर्को रुपमा उठेको अर्थ मन्त्रालय बारे माओवादीको मन्त्रालय भएका कारण पनि पार्टीले बोल्नु पर्दछ,’ उनले लेखेका छन् ।

मंगलवार अध्यक्ष प्रचण्ड निवासमा बसेको केन्द्रीय कार्यालयको बैठकमा नेताहरूले आंशिक रूपमा यो विषय उठाएका छन् । माओवादी स्रोतका अनुसार पदाधिकारी चयनका विषयमा छलफल गर्न बसेको बैठकमा यो विषयले प्रवेश पाएको थियो ।

‘यो विषयमा भोलीको केन्द्रीय समिति बैठकमा सम्भवतः अध्यक्ष (पुष्पकमल दाहाल ‘प्रचण्ड’) बोल्नुहुन्छ,’ स्रोतले भन्यो, ‘आवश्यकताअनुसार अर्थमन्त्री ज्यू जवाफ पनि दिनुहुन्छ ।’

अर्थमन्त्री विवादमा परेकाले पार्टीले यसबारेमा आधिकारिक धारणा ल्याउनुपर्ने र बुधबारको बैठकमा यो विषयले प्रवेश पाउने नेताहरूले बताएका छन् । वर्षमान पुन लगायतका नेताहरू अर्थमन्त्रीका कारण पार्टी र सरकार बदनाम भएको र मुलुक संकटमा परेको निष्कर्षमा पुगेका छन् । तर, आफू बोल्दा जनार्दनको विरोध गरेको बुझिने भएकाले उनी मौन छन् ।

केन्द्रीय सदस्य न्यौपानेले भने, ‘हाम्रा पार्टीहरू कसरी चलेका छन् भन्ने सबैलाई थाहा छ । हाम्रो बैठकमा अर्थमन्त्रीको प्रतिरक्षा गर्नुपर्छ भन्ने कुरा बरु दुई चारजना साथीहरुले राख्नुभयो । प्रतिकार गर्नुपर्छ भन्ने कुरा पनि आयो । तर, विवादको विषयमा खुलेर बोल्ने स्थिति देखिएको छैन ।’

यसबाट पनि जनार्दनको सन्दर्भमा माओवादीमा उकुसमुकुस छ भन्ने बुझिन्छ । अझ यहि बैठकबाट पदाधिकारी टुंगो लगाउँन प्रचण्डमाथि दबाब छ । जनार्दन र वर्षमान महासचिवका मुख्य दाबेदार हुन् । त्यसैले अर्थमन्त्री एकपछि अर्को विवाद हुँदै दण्डनीय अपराधका भागिदार हुँदा पनि पार्टीभित्रको गुटका कारण माओवादीमा यो विषयले प्रवेश पाएको छैन । तर, तत्काल अर्थमन्त्री बर्खास्ती वा राजीनामा नहुने हो भने पार्टीलाई ठूलो क्षति हुनेमा नेताहरू एकमत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर