वागमतीमा मुख्यमन्त्री परिवर्तनको ‘च्याप्टर क्लोज’ – Nepal Press

वागमतीमा मुख्यमन्त्री परिवर्तनको ‘च्याप्टर क्लोज’

यी तीन फ्याक्टरले जोगियो मुख्यमन्त्री पाण्डेको पद

काठमाडौं । वागमती प्रदेशमा सरकार परिवर्तनको तयारी तत्काललाई बन्द भएको छ ।

पूर्वसहमति अनुसार पदबाट हट्न नमानेको भन्दै कांग्रेस र माओवादी सांसद मुख्यमन्त्रीविरूद्ध हस्ताक्षर संकलन गरिरहेका बेला शीर्ष नेताले तत्काल यो कदम नचाल्ने सहमति जनाएका हुन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच अहिले सरकार परिवर्तन नगर्ने भद्र सहमति भएको बताइएको छ ।

‘शुक्रबार साँझ तीन नेताबीच कुराकानी भएको थियो । वागमती चलाउँदा अन्यत्रको सरकारमा पनि असर पर्नसक्ने भन्दै अहिलेलाई यही सरकार निरन्तरता दिनेगरी यो विषय क्लोज भइसक्यो’, माओवादीका एक नेताले नेपाल प्रेससँग भने ।

ती नेताका अनुसार खुमलटारमा दबाब दिन आएका वागमतीका माओवादी नेताहरूलाई प्रचण्डले अहिले मुख्यमन्त्री फेर्ने खेलमा नतातिन भनेर फर्काएका थिए ।

‘गठबन्धनमाझ केन्द्रदेखि सातै प्रदेशसम्म प्याकेजमा सहमति भएको छ । कुनै एकठाउँ चलाउँदा मात्रै त्यसको इफेक्ट स्वत: अन्यत्र देखिन्छ । त्यसैले सरकार परिवर्तनको खेल त्यति सजिलो छैन’, एक नेता भन्छन् ।

मुख्यमन्त्री फेर्दा गठबन्धनमा समेत खटपट आउन सक्ने जोखिमप्रति प्रधानमन्त्री सचेत रहेको कांग्रेसका एक नेता बताउँछन् । नेकपा एसले वागमती छाड्दा आफूले दाबी गरिरहेको सुदूरपश्चिमको नेतृत्व दिनुपर्ने दबाब दिएको थियो ।

साथै एमालेले मुख्यमन्त्री पाण्डेको पद जोगाइदिने चलखेलले झस्का पसेपछि गठबन्धन नेतृत्व पाण्डे नेतृत्वकै सकारलाई निरन्तरता दिने सहमतिमा पुगेको हो ।

नेकपा एसका उपाध्यक्षसमेत रहेका राजेन्द्र पाण्डे हाल वागमतीका मुख्यमन्त्री छन् ।

प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्नेगरीको सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीचको लिखत बाहिरिएको थियो ।

२०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ महिनापछि कांग्रेसले नेतृत्व पाउने गरी भएको त्यो लिखत गोप्य राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर