प्रज्ञामा ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार–गोष्ठी सम्पन्न – Nepal Press

प्रज्ञामा ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार–गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार–गोष्ठीको आयोजना गरेको छ । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रम विशिष्ट प्रकृतिको भएको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठान ज्ञानको उत्खनन् गर्ने संस्था भएको बताउँदै त्यसै सन्दर्भमा आफ्नो कार्यक्षेत्रभित्र परेको विषयमा यो कार्यक्रम आयोजना गरिएको उनले बताए । उनले भने, ‘वैदिक वा परम्परागत विज्ञान र आधुनिक विज्ञान एकआपसमा सहकार्य नगरी पूर्ण हुँदैनन् । पश्चिमा वैज्ञानिकहरू पनि पूर्वीय दर्शन र परम्पराहरूको अध्ययनमा लागिपरेका छन् । परम्परागत र आधुनिक विज्ञान एकअर्काका परिपुरक रहेको हुँदा यस कार्यक्रमको औचित्य र उद्देश्य पनि यसैमा केन्द्रित रहेको हो ।’

उपकुलपति डा. जगमान गुरुङले कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै तन्त्र, मन्त्र र साधनाले धेरै रोग निको हुने र मानव जीवन सफल हुने बताए । उनले विभिन्न मठ, मन्दिरहरूमा तन्त्रविद्यासहित पूजा र अनुष्ठान गरे रोग निको हुने उदाहरण दिँदै त्यसले विज्ञानलाई पनि चुनौती दिएको विचार व्यक्त गरे ।

उनले भने, ‘यसमा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रमा प्रज्ञा–प्रतिष्ठान क्रियाशील रहेको छ । तीमध्ये दर्शनशास्त्र विभागबाटसमेत थुप्रै महत्त्वपूर्ण गोष्ठी भएका छन्, अध्ययन, अनुसन्धान र प्रकाशन भएका छन् । आज तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध केलाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।’

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्यायले तन्त्रविद्यासँग समबद्ध प्रवचन दिएका थिए । तन्त्रका विषयमा जनमानसमा अन्योल रहेको उनको भनाइ छ । तन्त्र भनेको झारफुक र अन्धविश्वास मात्रै बुझिएको उनले बताए ।

कार्यक्रममा प्रा.डा. कृष्णकुमार ओलीले चीनमा अक्युपन्चरको एनोटोमी काल्पनिक तथ्यमा चलिरहेको भन्दै काल्पनिक कुराले पनि मानिसको उपचार र व्यवहार परिवर्तन सम्भव हुने बताए । पौराणिक, तान्त्रिक, वैदिक र वैज्ञानिक तथ्यलाई समावेश गर्न सके थप प्रभावकारी हुनसक्ने उनको भनाइ थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले आधुनिक चिकित्सकहरूका लागि पनि कार्यक्रम उपलब्धिमूलक भएको बताए । उनले आत्मिक शान्तिका लागि पनि तन्त्र र योगको आवश्यकता रहेको विचार व्यक्त गर्दै परिषद्ले मानव जीवनका हरेक क्षेत्रमा अनुसन्धान गरिरहेको उल्लेख गरे ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रत्नराज पौडेलले अहिलेको विज्ञान भौतिक विज्ञान भएकोले चेतन विज्ञानको ज्ञान नभएको विचार व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *