प्रचण्डलाई माओवादी नेताहरूको प्रश्न- कांग्रेससँगको गठबन्धन कति वर्षका लागि हो ? – Nepal Press

प्रचण्डलाई माओवादी नेताहरूको प्रश्न- कांग्रेससँगको गठबन्धन कति वर्षका लागि हो ?

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको बैठकमा नेपाली कांग्रेससँगको गठबन्धन र सहकार्यबारे पुनर्विचार गर्न केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफलमा भाग लिने केन्द्रीय सदस्यहरूले गठबन्धनबाट कांग्रेसले लाभ लिएर ठूलो पार्टी बन्न सफल भए पनि माओवादीलाई त्यसबाट तत्कालीन र दीर्घकालीन लाभ नहुने बताएका छन् ।

बैठकमा उठेका विषयहरूबारे जानकारी दिँदै नेता गिरिराजमणि पोखरेलले प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन नगर्ने सुझाव आएको र कांग्रेससँगको सहकार्यबारे पुनर्विचार गर्नुपर्ने बताए ।

बैठकमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कांग्रेससँगको गठबन्धन कहिलेसम्म लैजाने भन्ने प्रश्न गर्दै कांग्रेससँग मिलेर समाजवाद स्थापना गर्ने नेतृत्वको चाहना हो ? भन्ने प्रश्न गरेका थिए ।

अर्का केन्द्रीय सदस्य परशुराम तामाङले गठबन्धनबाट कांग्रेसले धेरे प्रगति गरेको र माओवादीले गर्न नसकेको भन्दै परिस्थितिले अब माओवादीलाई राजनीतिक वैचारिक रूपमा अघि बढ्ने ठाउँ दिएको बताएका थिए ।

तामाङको भनाइ थियो– नेपाली काङ्ग्रेससँगको सहकार्य कति लामो हो ? हाम्रो एउटा रणनीति छ। तर काङ्ग्रेससँग सहकार्य गर्छौ भने हाम्रो नीति कसरी कार्यान्वयन हुन्छ ? यो गम्भीर छलफलको विषय हो । गठबन्धनबाट कांग्रेसले प्रगति गर्‍यो,पहिलो पार्टी बन्यो । तर हामीलाई के फाइदा भयो ? सोचौँ

केन्द्रीय सदस्य देवी खड्काले भने स्थानीय चुनावको अनुभव सुनाउँदै आफ्ना पार्टीका उम्मेदवारलाई भोट नदिने कांग्रेसले माओवादीलाई इमानदार सहयोग गर्छ भन्नु नै मूर्खता हुने बताइन् । तर अब संसदीय चुनावमा गठबन्धन नगरी एक्लै लड्छौँ भन्नु मूर्खता हुने उनको भनाइ थियो ।

केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ प्रचण्डले मंगलवारको बैठकमा दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर