राप्रपाः एकता वार्ता समिति अचानक भंग, हुँदै नभएको एसएमएस काण्डले तरंग – Nepal Press

राप्रपाः एकता वार्ता समिति अचानक भंग, हुँदै नभएको एसएमएस काण्डले तरंग

काठमाडौं । केही दिनदेखि एकाध ‘कोठे अनलाइन’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको एउटा रोचक समाचार लेखिरहेका छन् । समाचारमा जनाइएअनुसार राप्रपाका एक नेताले पार्टीकै एक नेतृलाई पठाएको एसएमएस झुक्किएर अध्यक्ष राजेन्द्र लिङ्देनकी पत्नीको मोबाइलमा खस्यो । उक्त एसएमएस पढेर आगो बनेका लिङदेनले पार्टीद्वारा गठित ‘वार्ता समिति’ नै भंग गरिदिए ।

नाम नचलेका केही अनलाइनले लेखेको यस्तो समाचारले राप्रपाभित्र भित्रै तरंग उब्जेको छ । तर, पार्टीका जिम्मेवार नेताहरू पनि यथार्थ बुझ्न नसकेर अन्योलमा परेका छन् ।

‘एसएमएस काण्ड’ कति सत्य वा हावादारी हो भन्ने तल चर्चा गरिने छ, तर राप्रपाले महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा बनाएको वार्ता समिति अचानक भंग गरिएको चाहिँ सत्य घटना हो । राणा आफैंले समितिको अब औचित्य सकिएको भंग गर्ने निर्णय लिएका हुन् ।

पार्टीको नेतृत्वमा आएपश्चात अध्यक्ष राजेन्द्र लिङदेनले विचार मिल्ने व्यक्ति, समूह र संगठनहरूलाई राप्रपामा मर्ज गराउने रणनीति लिएका थिए । यसका लागि वार्ता समिति गठनको निर्णय गत २२ मंसिरमा पार्टीको कार्यसम्पादन समितिको बैठकले लिएको थियो । राणा संयोजकत्वको समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, सीता लुईंटेल र पुष्पराज पुरुष सदस्य थिए । यस समितिमार्फत वार्ता भएर अहिले सम्म आधा दर्जनजति समूहहरू राप्रपामा आबद्ध भएका छन् ।

स्थानीय चुनावलाई लक्षित गरी पार्टीको आकार बढाउन राप्रपाले एकता अभियानमा जोड दिएको थियो । स्थानीय चुनाव सकिए पनि प्रदेश र संघीय चुनाव आउन बाँकी नै छ । तर, अहिल्यै हठातरूपमा समिति विघटन किन भयो त ? त्यो पनि पार्टीले निर्णय नगरिकन ?

समितिका सदस्य पुष्पराज पुरुष अध्यक्ष लिङदेनसँगको परामर्शमा संयोजकले निर्णय लिएको बताउँछन् ।

‘पार्टीको सोचअनुसार हामीले विचार मिल्ने सबैसँग एकचरण एकता प्रयास गर्‍यौं । आउनेहरू आए, नआउने अब आउँदैनन् भनेर तत्कालका लागि समितिको औचित्य सकिएको स्किर्षमा पुगेका हौं । यसैअनुसार अध्यक्षलाई संयोजकले लिखित जानकारी दिनुभएको थियो । अध्यक्षकै सुझावअनुसार समिति भंग भएको हो । यसमा कसैको पनि विमत्ति छैन,’ उनले भने ।

समितिका सदस्यसचिव ऋषिबाबु परियारको भनाइ भने अलि फरक छ । समिति विघटनको प्रक्रियामा उनी केही असन्तुष्ट सुनिए ।

उनले सुनाए, ‘मलाई संयोजकज्यूले बोलाएर अब समिति विघटन गर्नुपर्‍यो तपाईं माइन्यूट बनाउनुस् भन्नुभयो । उहाँले भनेपछि मैले नमान्ने कुरा भएन । संयोजकज्यूले नै दिएको व्यहोरा अनुसार माइन्यूट बनाएर उहाँलाई नै जिम्मा लगाइ हिँडेको हुँ । त्यो माइन्यूटमा मेरो चाहिँ हस्ताक्षर छैन । अरु सदस्यहरूले हस्ताक्षर गर्नुभयो-भएन त्यो मलाई जानकारी भएन ।’

परियारले थपे, ‘विनाकारण त विघटन हुँदैन । सबै सदस्यलाई बोलाएर मिटिङ बसेर यो-यो कारणले विघटन भयो भनेर भनिदिएको हुन्थ्यो । खोइ कसरी उहाँले गर्नुभयो ।’

पाँच सदस्यीय वार्ता समितिमा परियार र दिलविकास राजभण्डारी संयोजक राणासँग असन्तुष्ट थिए । समितिले वार्ता प्रक्रियामार्फत पार्टीमा मर्ज गराएकाहरूप्रति समान व्यवहार नभएकोमा आफूहरूको गुनासो रहेको परियारले बताए ।

‘जे-जतिसँग वार्ता गरेर पार्टीमा ल्याएका छौं, उनीहरूलाई कुनै विभेद नगरिकन सम्झौता कार्यान्वयन गराउनुपर्छ नि । सम्झौतामा जे जे दिने भनिएको थियो, त्यो नपाउँदा उनीहरूले आफ्नो असन्तुष्टि हामीसँग राखिरहेका थिए । हामीले यो कुरा संयोजकलाई पनि भनेका थियौं । उहाँले समिति नै विघटन गर्नुभयो,’ उनले भने ।

समितिकी अर्की सदस्य सीता लुईंटेल समिति भंगको निर्णयमा आफूले पनि हस्ताक्षर नगरेको बताउँछिन् ।

‘समिति बनाउँदा पनि हामीलाई हस्ताक्षर गराइएको थिएन, भंग गर्दा पनि गराइएको छैन । भंग भयो भन्ने अनौपचारिक जानकारी मात्रै पाएको छु । आधिकारकरूपमा चाहिँ महामन्त्रीज्यूलाई नै सोध्नुपर्छ,’ उनले भनिन् ।

भोलि आवश्यकता महसुस भएको खण्डमा फेरि पनि समिति ब्यूँतन सक्ने उनको भनाइ छ ।

के हो ‘म्यासेज काण्ड’ ?

एकाध कोठे अनलाइनमा प्रकाशित समाचारअनुसार वार्ता समितिका सदस्य परियारले अर्की सदस्य सीता लुईंटेललाई पठाएको एसएमएस बाटो बिराएर अध्यक्ष पत्नी सीता लिङ्दनको मोबाइलमा खस्न पुग्यो । के यो सत्य हो ?

परियार भन्छन्, ‘त्यस्तो केही भएको होइन । सीताजीलाई मैले कुनै म्यासेज पठाएको छैन । वार्ता समितिबाट राजीनामा दिने मनस्थिति बनाइसकेपछि सीताजीलाई फोन चाहिँ गरेको थिएँ । दिलविकासजी र मैले राजीनामा दिने मन बनायौं तपाईंको के विचार छ भनेर सोधेको मात्रै हो । सम्भवतः सीताजीले राजेन्द्र लिङ्देनजीलाई फोन गर्नुभयो होला । उहाँको फोन नउठेपछि अध्यक्षज्यूको पत्नीलाई गर्नुभयो होला । पत्नीबाट अध्यक्षजीलाई थाहा भयो होला । तर, मेरो म्यासेज चिप्लिएर उता गएको चाहिँ झूट्टा कुरा हो । म त्यस्तो हचुवा काम गर्ने मान्छे होइन ।’

नेतृत्व लुईंटेलले पनि परियारसँग आफ्नो फोनमा नै कुरा भएको बताइन् ।

‘उहाँले मलाई पठाएको म्यासेज अन्त गयो भन्ने समाचारमा पढेको हुँ । तर, त्यो विषयमा मलाई केही थाहा छैन । मेरो उहाँसँग फोनमा चाहिँ कुराकानी भएको थियो,’ उनले भनिन् ।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि एसएमएसको कुरा हावादारी भएको बताए ।

‘समाचारमा आएपछि मैले पनि पार्टीभित्र बुझेँ । सबै झूटो ठहरिएको छ । लिङ्देनको नेतृत्वमा राप्रपाले पछिल्लो समय उचाइ लिइरहँदा पार्टीभित्रकै विरोधीहरूले यस्तो दुष्प्रचार गरिरहेका हुन सक्छन्,’ उनले भने ।

एसएमएस काण्ड झूट भए पनि राप्रपाभित्र विस्तारै विवाद बढ्न थालेको चाहिँ सत्य हो । नेता परियारले उत्पीडित संगठनको अध्यक्षबाट राजीनामा दिएका छन् । अर्कोतर्फ पशुपति शम्शेर राणा पक्षधरहरूले विशेष महाधिवेशनको चर्चा गर्न थाल्नुले लिङ्देनको कार्यकाल सहज नहुन सक्ने संकेत गर्छ ।

पञ्चायतकालीन तीन हस्ती कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेका पार्टीहरू मर्ज भएर राप्रपाको निर्माण भएको थियो । गत मंसिरमा भएको महाधिवेशबाट अध्यक्षमा पराजित भएपछि कमल थापा पार्टी छोडेर हिँडे पनि राणा र डा. लोहनी पार्टीभित्रै छन् । महाधिवेशनमा डा. लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए भने राणा खुलेका थिएनन् । महाधिवेशनपछि दुवै नेताले लिङ्देनको नेतृत्व स्वीकारेका छन् । तर, राणा पक्षधरमा पछिल्लो समयमा असन्तुष्टि बढ्दै गएको देखिन्छ । त्यसैले उनीहरूले पार्टीको विशेष महाधिवेशनको हल्ला चलाउन थालेका हुन् । राणा स्वयम् भने मौन छन् ।

यता डा. लोहनी समूहले भने अहिलेसम्म अध्यक्ष लिङ्देनलाई साथ दिइरहेकै छ । तर, उत्पीडित संगठनको अध्यक्षबाट परियारले राजीनामा दिँदा भने यो समूह पनि असन्तुष्ट रहेको सन्देश गएको छ । परियार डा. लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीका उपाध्यक्ष थिए ।

उनले अध्यक्षसँगको असन्तुष्टिका कारण आफूले राजीनामा नदिएको बताए । वार्ता समिति भंग गरिएको विषयमा पनि आफ्नो राजीनामासँग नजोडिएको उनको भनाइ छ ।

परियारले भने, ‘देशैभरि जातीय विभेदका कुराहरू चर्किरहेको बेला पार्टीले मैले यस संगठनमा रहेर काम गर्ने उचित वातावरण नपाएपछि राजीनामा दिएको हुँ । नेतृत्वको अनादर गर्ने वा असहयोग गर्ने हाम्रो समूहको कुनै मनस्थिति छैन ।’

परियार राप्रपाको हेडक्वार्टरका रूपमा रहेको कार्यसम्पादन समितिमा पनि छन् ।

यस्तै राप्रपाको सामाजिक विभागमा मनोनीत गरिएकी भाइरल गर्ल ज्वाला संग्रौलाले पनि पार्टीबाट राजीनामा दिएकी छन् । राप्रपामा आएको तीन महिना नबित्दै उनले पार्टी छोडेकी हुन् । अध्यक्ष राजेन्द्र लिङ्देन स्वयम्ले कन्भिन्स्ड गरेर ज्वालालाई राप्रपामा भित्र्याएका थिए र महत्वपूर्ण जिम्मेवारीसमेत दिएका थिए ।

रवि लामिछानेसँग व्यक्तिगरूपमा निकट ज्वाला उनले निर्माण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा जान सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर