महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न – Nepal Press

महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौं । मुलुकमै पहिलो पटक आयोजित महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र पुरस्कार प्रदान गरिन् ।

रोयल नेपाल गल्फ क्लबमा शनिवार आयोजित प्रतियोगितामा सुस्मा सिग्देल विजेता भइन् । विजेता सिग्देललाई राष्ट्रपति भण्डारीले स्कुटरसहित पदक र प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

प्रतिस्पर्धा र समुदायबाट महिला गल्फरको सशक्तीकरण नारासहित प्रतियोगिता भएको हो ।

प्रतियोगितामा १८ होलमा स्ट्याबल संरचनामा ३, ४ ह्यान्डिक्यापसहित भएको प्रतियोगितामा ४० स्कोरसहित सिग्देल विजेता बन्नुभएको आयोजक मध्येका प्रतिमा शेर्पाले जानकारी दिइन् ।

उनीभन्दा २ स्कोर कम गरेकी काश्मिरा शाह उपविजेता भइन् । काश्मिराले सर्वाधिक ३ बर्डिज प्रहार गरेर मष्ट वर्डिज विधाको पुरस्कार प्राप्त गरिन् ।

यसै गरी सिनियरतर्फ ३७ स्कोरसहित रेखा घिमिरे च्याम्पियन बनेकी थिइन् । सो प्रतियोगितामा कल्याणी मोक्तानले दोस्रो स्थान हासिल गरिन् । लेडी क्याप्टेन आरसिया बानु, नेपालका नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा र सञ्चारकर्मी सरिताश्री ज्ञवालीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा विजेतालाई स्कुटरसहित उपहार प्रदान गरिएको थियो ।

यसै गरी उपविजेता सहित विभिन्न विधाका खेलाडीलाई साइकल, टर्किस एयरलाइन्सबाट हवाई टिकट लगायत आकर्षक पुरस्कार प्रदान गरियो ।

प्रमुख अतिथि राष्ट्रपति भण्डारीले पहिलेदेखि खेलिँदै आएको यो गल्फ खेलको प्रवर्द्धनका लागि राज्यको सम्बद्ध निकायले उचित समन्वय गर्नुपर्ने धारणा राखेकी थिइन् ।

गल्फ खेलाडी समेत रहनुभएका कार्यक्रमका विशेष अतिथि सपना मल्ल प्रधानले यो खेलले शारीरिक मात्र नभै सामाजिक, मानसिक रूपमा समेत लाभदायी हुने सुनाएकी थिइन् ।

रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले यो क्लबमा पहिलोपल्ट यस्तो खालको प्रतियोगिता भएको भन्दै महिला खेलाडीहरूको प्रशंसा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *