कांग्रेस कैलालीको समीक्षा बैठक तीन पदाधीकारीद्वारा बहिष्कार – Nepal Press

कांग्रेस कैलालीको समीक्षा बैठक तीन पदाधीकारीद्वारा बहिष्कार

कैलाली । नेपाली कांग्रेस कैलाली जिल्ला कार्य समितिको बैठक जिल्ला कार्य समितिकै तीनजना पदाधिकारीले बहिष्कार गरेका छन् ।

जिल्ला कार्यसमितिका सभापति नारायणदत्त भट्टले १९ गतेका लागि पदाधिकारीहरूलाई १५ गते पत्र पठाएका थिए । आन्तरिक पार्टी सङ्गठनसँग सम्बन्धित विषयवस्तु र स्थानीय तह निर्वाचन २०७९ को समीक्षात्मक टिपोटका विषयमा छलफल गर्ने कार्यसूची थियो ।

आइतबार कैलालीको घोडाघोडी नगरपालिका सुखडस्थित खानेपानीको सभाकक्षमा आयोजना गरिएको बैठकमा वर्तमान कार्यसमितिका उपसभापति खेम चौधरी, सचिव नृपबहादुर सुनार र सहसचिव कलेसु चौधरी र सभापतिमा भट्टसँग पराजित भएका प्रकाश बम पनि अनुपस्थित भए ।

टिकट दिँदा छलफल नगर्ने अनि निर्वाचनको समीक्षामा चाहिँ किन आवश्यक पर्‍यो भनेर बहिष्कार गरेका एक पदाधिकारीले भने । बैठक बहिष्कार गर्नेहरूमध्ये केहिले जिल्ला पदाधिकारीको कार्य विभाजनमा सभापतिले चासो नदिएको, जिल्ला कार्य समितिमा कुनै सल्लाह नगरी एकलौटी रूपमा मनोनयन गरेको, कार्य सम्पादन समिति निर्माण गर्दा कुनै सल्लाह नगरेको, निर्वाचन अवधिमा जिल्लाले गर्नु पर्ने महत्त्वपूर्ण कार्यहरू एकलौटी ढंगले गरेको, जिल्ला संसदीय बोर्डको बैठक नबोलाई टिकट वितरण गरेको र जिल्ला पदाधिकारीको बैठकमा भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

उनीहरूले पहिलो पटक ४९ प्रतिशत र दोस्रो पटक ४७ प्रतिशत मत प्राप्त गरेर जिल्ला अधिवेशनमा सभापतिमा झिनो मतले पराजित भएका प्रकाश बमसँग पनि जिल्लामा हुने गतिविधिमा सल्लाह नगरेको बताएका छन् ।

विभिन्न विषयमा असन्तुष्टि रहेकाले आइतबारको बैठकमा सहभागी नभएको एक पदाधिकारीले बताए । सभापतिका पराजित भएका बमले पनि जिल्ला कार्यसमितिले एकलौटी गरिरहेको बताए । तर, आइतबारको बैठकमा भने चालक नभएको हुँदा जान नसकेको उनले प्रष्टीकरण दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्न संसदीय बोर्डसमेत निर्माण गरिएको थियो । सबै पदाधिकारी र केही सदस्यहरू त्यसमा सदस्य थिए । अहिले उक्त बोर्ड मार्फत टिकट नदिएर एकलौटी गरेको आरोप लगाइएको छ । यसअघि वैशाख १२ गते यो समूहले एक विज्ञप्ति नै जारी गरेर टिकट वितरणप्रति असहमति प्रकट गरेको थियो ।

सचिव नृप सुनार, उपसभापति खेम चौधरी र सदस्य प्रकाश बमले हस्ताक्षर गरेको विज्ञप्तिमा असहमति र आपत्ति प्रकट गरिएको थियो । सुखडको बैठकमा पनि आज यी तीनैजना गएनन् ।

यता पार्टी सभापति भट्टले भने केही पदाधिकारी उपस्थित नभएको स्वीकार गरे । तर, उनीहरूले बहिष्कार गरेको भन्ने बारे आफू जानकार नरहेको उनले स्पष्ट पारे ।

‘हामीले सबैलाई खबर गरेका थियौँ । केही साथीहरू आउनु भएन । उहाँहरूलाई केही समस्या भएको होला’ उनले भने ‘तर, तपाईँले भने जस्तो बहिष्कार गरेको मलाइ लाग्दैन ।’

पार्टीका सबै सम्पत्तिको जी गर्ने, आर्थिक हिनामिनाको छलफल गर्ने, पार्टीलाई अनुशासन नीति र विधि, प्रक्रियामा लैजाने र अहिले सम्मको गतिविधिको समीक्षा गर्ने निर्णय भएको सभापति भट्टले जानकारी दिए ।

स्थानीय तहको रिपोर्ट नआएको हुँदा आजको बैठकमा गहन छलफल हुन सकेन । स्थानीय तहको रिपोर्ट तत्काल पेस गर्ने विषयमा छलफल भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर