केएमसी घटना : बहिनी गोमा भन्छिन्- भुइँमा खुट्टा लत्रिएको छ, कसरी आत्महत्या हुन सक्छ ? – Nepal Press

केएमसी घटना : बहिनी गोमा भन्छिन्- भुइँमा खुट्टा लत्रिएको छ, कसरी आत्महत्या हुन सक्छ ?

काठमाडौं । बुद्धनगरस्थित केएमसी स्कुलको होस्टेलमा महिला कर्मचारी मृत भेटिएको घटनामा परिवारले हत्याको आशंका गरेका छन् । मृतक परिवारको प्रतिनिधि टोलीले अहिले विद्यालय प्रशासनसँग वार्ता गरिरहेको छ ।

होस्टेलको भुइँ तलामा शनिवार साँझ काभ्रेको तिमाल-८ की २१ वर्षीय रमा रायमाझी खाटसँग जोडिएको आल्नामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

चमेना गृहमा ६ महिनायता असिस्टेन्ट म्यानेजरका रूपमा काम गरिरहेकी मृतकलाई झुन्डिएको अवस्थामा पहिला देख्ने उनकै बहिनी गोमा थिइन् ।

‘दिदी सधैँ बिहान ६ बजे गएर साँझ साढे ७ सम्म आइपुग्थी तर शनिवार त्यति बेलासम्म नआएपछि म आफै स्कुलमा पुगेको थिएँ। चमेना गृहमा गएर बुझ्दा म्यानेजरले आश्चर्ययता व्यक्त गर्दै होस्टेलमा होला नि भने’, आइतबार केएमसी स्कुलबाहिर न्याय मागिरहेकी गोमाले भनिन्, ‘त्यसपछि होस्टेलको पहिलो तलामा पुगेर हेर्दा एउटा कोठा भित्रबाटै बन्दजस्तो थियो। म्यानेजरले ढकढक गर्दा पनि नखुलेपछि मैले हात र खुट्टा बल लगाएर धकेलेँ। भित्र दिदी झुन्डिरहेको देखेपछि गएर अँगालो हालेँ। त्यसपछि म्यानेजर र अन्य कर्मचारी त्यहाँबाट बेपत्ता भए।’

परिवारका चार सन्तानमध्ये तीन दिदीबहिनी बुद्धनगरमै कोठा भाडा लिएर बस्दै आएका थिए भने दाइ काठमाडौंमा आफू काम गर्दै आएको होटेलमा बस्दै आएका छन् ।

कान्छी बहिनी केही दिन अघि मात्र काठमाडौं आएकी हुन् । माइली गोमा केएमसीमै स्नातक तहमा पढ्छिन्। मृतक रमा विगत ६ वर्षदेखि केएमसी स्कुलमा काम गर्दै आएको पारिवारिक सदस्यले बताएका छन्। रमाले होचो ठाउँमा झुन्डिएको र खुट्टासमेत भुईँमा लत्रिएकाले हत्या भएको गोमाको आशंका छ । होस्टलको भुँई तलामा चमेेना गृह र होस्टलमा काम गर्ने कर्मचारी बस्दै आएका थिए। घटना भएको बेला होस्टलमा टिभी हेर्नका लागि छुट्याइएको समयमा परेकाले रमा आईरन गर्ने कोठामा गएर झुन्डिएको विधालय प्रशासनको दावी छ।

‘शनिवार म स्कुलभित्र छिर्न खोज्दा नै रोक्न खोजिएको थिए। पछि मैले कोठाको ढोका सहजै फोर्न सकेकाले कोठा हत्या गरेर पछि लगाएजस्तो मात्र बनाइएको थियो। दिदीको खुट्टा किन भुईँमा लत्रियो र किन म्यानेजर भागे’, गोमाको प्रश्न छ ?

आत्महत्या भएका घटनामा मृतकको शरीरका भाग भुईँमा लत्रिन सक्ने सम्भावना पनि रहने विभिन्न घटनाबाट विगतमा देखिएको छ । तर प्रहरीले पछिल्लो यस घटनामा यकिन गर्न सकेको छैन ।

शनिवार राती १ बजेसम्म प्रदर्शन गरेका मृतकका आफन्त आइतबार बिहान वार्ता र छलफल हुने आश्वासन पाएपछि त्यहाँबाट हिँडेका थिए । आइतबार १० बजेसम्म भेला भएका उनीहरूले मिडियालाई पनि वार्तामा राखिनुपर्ने बताएपछि झडपको स्थिति बनेको थियो । प्रदर्शनकारीले स्कुलको गेटमा राखिएको डिजिटल बोर्डमा तोडफोड पनि गरेका छन् । प्रहरीले रातारात मैदानमा राखिएका स्कुल बसहरू हटाएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

‘हामी यहाँ सम्हाल्छौँ, तपाईँहरू जानुस् भनेका थिएँ। बिहान आउँदा स्कुलको प्रांगणमा एउटा पनि बस छैनन्’, एक प्रदर्शनकारीले भने, ‘मृतकको आफन्तको हो भन्दै अहिलेसम्म विद्यालय प्रशासनबाट एक जना पनि आएको अवस्था छैन।’

केएमसीकै एक कर्मचारी भने सधैँ हाँसेर बोलिरहने रमा केही दिनयता केही तनावमा जस्तो देखिएको बताउँछन्।

‘बहिनीको निजी जीवनका पाटाहरू हेर्ने हो पनि ती कुराहरू बाहिर आउलान्, ती कर्मचारी भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर