अर्थमन्त्री रावललाई आफ्नै सांसदबाट बजेट परिष्कृत गर्न दबाब – Nepal Press

अर्थमन्त्री रावललाई आफ्नै सांसदबाट बजेट परिष्कृत गर्न दबाब

कैलाली । सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि तीन साता पुग्न लाग्दासम्म छलफल सुरु भएको छैन ।

अर्थमन्त्री प्रकाश रावलले पेस गरेको नयाँ बजेट उपयुक्त नभएको भन्दै स्वयं सत्ता पक्ष र विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।

उनीहरूले यथास्थितिमा बजेट पारित गर्न नसेकिने र बजेट नसच्याउन्जेल सदनमा छलफल नहुने उनीहरूको अडान छ ।

प्रदेशसभा सदस्यहरूकै अडानका कारण लगातार तेस्रो पटकसम्म प्रदेशसभाको बैठक स्थगित भएको छ ।

यसैबीच हिजो साँझसम्म बसेको सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीको संसदीय दलले पनि बजेट सच्याउनुपर्ने ठहर गरेको छ ।

बैठकमा स्थानीय चुनावको समीक्षा र बजेटमाथि छलफल भएको थियो । बजेटमाथिको छलफलका क्रममा नेकपा एसका प्रदेशसभा सदस्यहरूले बजेट यथास्थितिमा पारित गर्न नसकिने जिकिर गरेका छन् ।

अर्थमन्त्री प्रकाश रावलसमेत सहभागी बैठकमा आफ्नै पार्टीका सांसदहरूले बजेटमाथि प्रश्न गरेका थिए । उनीहरूले बजेट संशोधन गर्नुपर्ने ठहर गरेको एक नेताले जानकारी दिए ।

अर्थमन्त्री रावलले बजेटमा केही त्रुटि रहेको स्वीकार्दै ती विषयलाई सुधार गर्न कानुनी छलफल गर्ने आश्वासन दिएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा १४ सांसदसहित नेकपा एस सबैभन्दा ठूलो दलको रूपमा छ । हिजोको बैठकमा भने पूर्णा जोशी, तारालामा तामाङ, लालबहादुर खड्का र चुनकुमारी चौधरीबाहेक १० जना सहभागी थिए ।

उनीहरू पार्टीको बैठकका लागि काठमाडौं गएकाले संसदीय दलको बैठकमा उपस्थित नभएको नेकपा एसकी प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन । चार जना अनुपस्थितका कारण बिहीबार कुनै निर्णय भने गरिएको छैन ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूले इमानदारिता नदेखाएको पनि नेकपा एकीकृत समाजवादीले ठहर गरेको छ ।

‘गठबन्धन समयमा र प्रभावकारी हुन नसकेको कारणले गर्दा परिणाम आशा लाग्दो नआएको बैठकको निष्कर्ष छ’ एक सांसदले भने ।

नेकपा एसले ८८ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा बझाङको केदारस्यूँ गाउँपालिका र कैलालीको घोडाघोडी नगरपालिका मात्र जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर