‘के घर के डेरा’ निर्माताको छलछाम : डिजिटल र वितरण अधिकार दुई-दुई वटा कम्पनीलाई विक्री ! – Nepal Press

‘के घर के डेरा’ निर्माताको छलछाम : डिजिटल र वितरण अधिकार दुई-दुई वटा कम्पनीलाई विक्री !

काठमाडौं । दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘के घर के डेरा’ को हालै छायांकन सकियो । यही वर्ष रिलिज गर्ने लक्ष्य राखिएको चलचित्रमा आर्थिक विवाद चर्किएको छ । यदि विवाद समाधान नभएको खण्डमा चलचित्र सहजै रिलिज हुने अवस्था देखिँदैन ।

विवादको चुरो खोतल्न तीन वर्ष अगाडि फर्किनुपर्छ ।

२०७६ सालमा पत्रकार सम्मेलन गर्दै चलचित्र ‘के घर के डेरा’ निर्माणको घोषणा गरिएको थियो । सो चलचित्रमा कार्यकारी निर्माता थिए– सिंगे लामा । निर्माण घोषणा गरिए पनि कोरोनाका कारण चलचित्रको काम अघि बढ्न सकेन । चलचित्रको स्क्रिप्ट लेखन लगायत प्रि प्रोडक्सनका थुप्रै कामहरू भने भइसकेका थिए ।

तीन वर्षपछि फेरि निर्माण समूह चलचित्रलाई अघि बढाउन तम्सियो । तर, चलचित्रमा सिंगे लामाको हैसियत ‘कार्यकारी निर्माता’ बाट ‘कथाकार’ मा परिवर्तन गरिएको छ । अहिले कार्यकारी निर्माता युवराज कार्की छन् । यस्तै, निर्देशकमा पनि सुब्रत आचार्यलाई दीपेन्द्र के खनालले प्रतिस्थापन गरेका छन् ।

सिंगे लामालाई कार्यकारी निर्माताबाट किन हटाइयो वा उनी आफैँ हटे ? निर्माण समूह जानकारी दिन चाहँदैन । तर, उनै लामाले कार्यकारी निर्माताको हैसियतले विगतमा गरेका विभिन्न सम्झौता भने यति बेला अलपत्र परेका छन् । ‘के घर के डेराका निर्माता’ हरुले उक्त सम्झौताको जबाफदेहिता लिन मानेका छैनन् भने लामा सम्पर्कविहीन छन् ।

लामाले कार्यकारी निर्माताको हैसियतमा सो चलचित्रको डिजिटल राइट र डिस्ट्रिब्यूसन राइट विक्री गरेका थिए । बुढासुब्बा डिजिटल प्रालीसँग उनले २०७६ साल फागुन १२ गते डिजिटल राइट विक्रीको सम्झौता गरेको नेपाल प्रेसलाई प्राप्त कागजातमा देखिन्छ । बुढासुब्बाका तर्फबाट सञ्चालक नवराज गिरी र शुभलाभ फिल्म्सका तर्फबाट कार्यकारी निर्माता सिंगे लामाले हस्ताक्षर गरेका छन् । सम्झौतामा चलचित्रका तत्कालीन निर्देशक सुब्रत आचार्य साक्षी बसेका छन् ।

सम्झौता पत्रमा चलचित्रको डिजिटल राइट खरिद गरेबापत बुढासुब्बाले शुभलाभ फिल्म्सलाई कुल ३८ लाख रुपैयाँ दिनुपर्ने उल्लेख गरिएको छ । यसमध्ये ६ लाख रुपैयाँ करार गर्दाको बखत र १४ लाख रुपैयाँ छायाँकनमा जानुअघि दिनुपर्ने सर्त राखिएको थियो । गिरीले लामालाई दुई पटक गरी १० लाख रुपैयाँ चेकमार्फत उपलब्ध गराएका थिए ।

तर, अहिले निर्माण पक्षले चलचित्रको डिजिटल राइट आसिफ साहको कम्पनी जि ट्वान्टी वान डिजिटललाई भर्खरै बेचेको छ । उनीहरूबिच सम्झौता भएको समाचार आएपछि गिरी झस्किएका छन् । उनले आसिफलाई फोन गरेर आफूहरुले पहिल्यै डिजिटल राइट किनिसकेको भनेर जानकारी गराएका थिए । आसिफले त्यस विषयमा आफूलाई जानकारी नभएको जवाफ दिएको उनले बताए ।

चलचित्रको कुनै पनि अधिकार एउटा भन्दा बढी कम्पनीलाई बेच्ने मिल्दैन । विगतमा बुढासुब्बालाई बेचिसकेको डिजिटल अधिकार अहिले के आधारमा अर्को कम्पनीलाई विक्री गरियो त ? हामीले यो प्रश्न चलचित्रका एक निर्माता श्रेष्ठलाई सोध्यौं । उनले विगतमा गरिएको सम्झौतामा आफूहरू जबाफदेही नरहेको ठाडो जवाफ दिए ।

‘कार्यकारी निर्माता भनेको फिल्मको लगानीकर्ता होइन,’ उनले तर्क गरे, ‘उसँग फिल्मलाई लिएर कुनै पनि सम्झौता गर्ने अधिकार हुँदैन । यति पनि नबुझ्नेसँग कसको के लाग्छ ?’

यति बेला सिंगे लामा आफूहरूको पनि सम्पर्कमा नरहेको श्रेष्ठले दाबी गरे ।

‘उहाँ चलचित्रको कथाकार हो, त्योबाहेक यस चलचित्रमा उहाँको कुनै पनि संलग्नता अहिले छैन,’ उनले भने, ‘उहाँले कोको सित केके सम्झौता गर्दै हिँड्नुभएको छ, त्यसको जिम्मा हामी लिन सक्दैनौं ।’

लामाले लिएको पैसा उसैसँग माग्नुपर्ने श्रेष्ठको भनाइ छ । तर, यदि सम्झौता अनधिकृत थियो भने त्यसै बेला सम्बन्धित कम्पनीहरूलाई किन जानकारी गराउनुभएन भन्ने प्रश्नमा श्रेष्ठ नाजवाफ रहे ।

‘के घर के डेरा’ चलचित्रकै निर्देशक आचार्यकै रोहबरमा उक्त सम्झौता भएकाले पनि निर्माण पक्ष जवाफदेहिताबाट उम्किन सक्ने अवस्था देखिँदैन । निकट साथीसमेत रहेका निर्देशक आचार्य साक्षी भएपछि गिरीले ढुक्क भएर सम्झौता गरेका थिए । दुई पटक गरी १० लाख पैसा पनि दिए । तर कालान्तरमा आचार्य नै चलचित्रबाट अलग भएपछि गिरी अप्ठेरोमा परेका थिए ।

आचार्यले लामालाई आफूले राम्रो निर्माताको रूपमा चिनेको र निर्देशकको जिम्मेवारी स्वीकारेको तर पछि लामाले गलत नियत देखाएको बताए ।

उनी भन्छन्, ‘सिंगे लामाले यसअघि जात्रा, हरि, जात्रैजात्राजस्ता राम्रा चलचित्र निर्माण गर्नुभएको थियो । उहाँ मसित नयाँ चलचित्रको प्रस्ताव लिएर आएपछि खुशी भएर निर्देशकको जिम्मेवारी सम्हाल्न तयार भएको थिएँ । मैले नै उहाँलाई नवराज गिरीसँग भेट गराएर डिजिटल राइटको सम्झौताका लागि समन्वय गरेको हो । तर लामाको नियत ठिक रहेनछ ।’

उनले जुन कम्पनीका नाममा लामो सम्झौता गरेका थिए, त्यो कम्पनीका नाममा फिल्म दर्ता नरहेको उल्लेख गरे ।

‘यसमा नवराजजी र मेरो तर्फबाट पनि कमजोरी भएकै हो । हामीले राम्ररी अध्ययन नगरीकन सम्झौतामा हस्ताक्षर ग¥यौं । सो चलचित्र शुभलाभ फिल्म्सको नाममा नभएर ए प्लस इन्टरटेनमेन्ट कम्पनीको नाममा दर्ता रहेछ भन्ने पछि थाहा भयो,’ उनी भन्छन् ।

आचार्यका अनुसार गत वर्षको साउनसम्म लामा उनीसँग सम्पर्कमा नै थिए । साउनबाट सबैतिरबाट पैसाको कुरा सोध्न थालिएपछि फोन, म्यासेज केहीको पनि रेस्पोन्स गर्न छोडेको र सामाजिक सञ्जाल खाताहरूसमेत बन्द गरेको उनले बताए । लामा अहिले रसुवाको चिलिमेमा लुकेर बसिरहेको आचार्यको आशंका छ ।

‘विवाद आएपछि फिल्म निर्माताहरुले तत्काल उनलाई झिकाउनुपर्थ्यो र विवाद सल्टाउनुपर्थ्यो । तर उनीहरूले कुनै पहल गरेनन् । त्यसैले लामासँग उनीहरूको मिलेमतो हुन सक्ने आधारहरू देखिन्छन्,’ उनले भने ।

आचार्यले यस फिल्ममा आफू पनि पीडित बनेको बताए ।

‘मैले प्रि प्रोडक्सनको काममा डेढ वर्षभन्दा बढी फिल्मका लागि समय दिएँ । तर मलाई दूधबाट झिँगा निकालिएको जसरी निकालियो । यो फिल्मबाट मैले पाएको भनेको तकरिबन १ लाख मात्रै हो,’ उनले भने ।

बुढासुब्बाका गिरी भने निर्देशक आचार्यबाट समेत धोका पाएको महसुस गरिरहेका छन् ।

‘मैले उहाँकै विश्वासमा सम्झौता गरेको हो, यस्तो धोका होला भन्ने अनुमानै भएन,’ गिरीले भने ।

उनै लामाले चलचित्रको हलमा वितरणका लागि पनि एउटा कम्पनीसँग २०७६ सालमै सम्झौता गरेका थिए । उक्त कम्पनीले ५ लाख रुपैयाँ त्यसबेला नै दिइसकेको थियो । तर, अहिले चलचित्रको निर्माण पक्षले वितरण अधिकार पनि अर्कै कम्पनीलाई बेचेको छ । उक्त कम्पनीका सञ्चालकले आफू पहिले सम्झौता गरेको भन्दा दोब्बर रकम दिन तयार रहेको बताइरहेका छन् । तर, त्यसमा पनि निर्माता तयार भएनन् ।

लामाको बदमासी यतिमा मात्रै सीमित छैन । उनले के घर के डेराको घोषणाका लागि पत्रकार सम्मेलन गर्ने पैसा समेत नभएको भन्दै किरण नेपाली नामका निर्मातासँग पैसा लिएका थिए । नेपालीले लामालाई आफूले १० लाख रुपैयाँ सापटीका रूपमा दिएको दाबी गरे ।

‘पत्रकार सम्मेलन गर्न भनेर एकमुष्ट पाँच लाख र पछि सानो–सानो अमाउन्टमा ५ लाख रुपैयाँ दिएको छु,’ उनले भने, ‘अहिलेसम्म एक रुपैयाँ फिर्ता पाएको छैन ।’

पाँच लाख रुपैयाँ दिएको भौचर भए पनि अरू पैसाको कुनै प्रमाण नरहेको नेपालीले बताए । लामा सम्पर्कविहीन भएपछि उनले निर्माण समूहसँग आफ्नो पैसा तिर्न ताकेता गरिरहेका छन् । तर, निर्माताहरुले भने तिर्न नसक्ने बताइरहेका छन् ।

‘चलचित्रकै लागि भनेर कार्यकारी निर्माताले नै पैसा लगेका हुन् । त्यसैले हामीलाई थाहा छैन भनेर निर्माताहरू उम्किन मिल्दैन,’ नेपालीले भने । उनले आफू चलचित्रको रिलिज रोक्न माग गर्दै अदालत जाने तयारीमा रहेको बताए ।

‘हाम्रो पैसा नतिरेसम्म यो चलचित्र रिलिज हुन सक्दैन,’ उनले भने ।

बुढासुब्बाका गिरी पनि कानूनी परामर्शमा छन् । उनले पैसा फिर्ता लिएर चुप नबस्ने बताए ।

‘१० लाख रुपैयाँ फिर्ता गर्छु भन्दैमा म मान्दिनँ,’ गिरीले भने, ‘३ वर्षअगाडि दिएको १० लाख अहिलेसम्म जतिको त्यति हुन्छ ?’

को हुन् सिंगे लामा ?

निकै कमजोर र संघर्षशील पृष्ठभूमिबाट चलचित्र क्षेत्रमा अगाडि बढेका व्यक्ति हुन् सिंगे लामा ।

उनी कुनै समय कुल्ली काम गर्थे । चलचित्र क्षेत्रमा पनि उनले स्पट ब्वाइबाट काम सुरु गरेका थिए ।

पछि आर्ट डाइरेक्टरका रूपमा स्थापित भए । उनी मह सञ्चारमा पनि आर्ट डाइरेक्टरका रूपमा आबद्ध थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *