ककनीमा प्रकाशको सालिक, प्रचण्डले भने- पर्वतारोहण संघले आवश्यकता महसुस गर्‍यो (भिडिओ) – Nepal Press

ककनीमा प्रकाशको सालिक, प्रचण्डले भने- पर्वतारोहण संघले आवश्यकता महसुस गर्‍यो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत पुत्र प्रकाश दाहालको सालिक आवश्यकता महसुस गरेरै बनाइएको बताएका छन् ।

सालिक अनावरणपछिको सभालाई सम्बोधन गर्दै उनले पर्वतारोहण संघले आवश्यकता महसुस गरेरै सालिक बनाएको स्पष्टीकरण दिएका हुन् ।

‘मैले यो ठाउँमा प्रकाश दाहालको सालिक निर्माण गर्ने सन्दर्भमा कताकता अप्ठेरोजस्तो महसुस गरेको थिएँ’, उनले भने, ‘यसको उद्देश्य कसैको परिवारलाई सम्बोधन गर्ने नभएर समग्र आरोहीहरूलाई सम्बोधन गर्ने पनि छ । र, देशको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणमा भूमिका खेल्ने व्यक्तित्वहरूलाई जोड्ने कुरा पनि छ भनेर यहाँहरूले मलाई कन्भिन्स गर्नु भो र मैले ठीकै छ भनेको हो । कसैलाई केही भ्रम नहोस् ।’

यो आफ्नातर्फबाट अनुरोध गरेर नभई पर्वतारोहण संघले आवश्यकता महसुस गरेर गरिएको काम रहेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘यो प्रकाश दाहालको मात्र सालिक अनावरण भएको मैले ठान्दिनँ । योसँगै सबै आरोहीको सम्मान गर्ने कामको सुरुवात हो ।’

यसअघि नेपाल पर्वतारोहण संघद्वारा नुवाकोटको ककनी गाउँपालिका–६ मा रहेको ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण गरेको प्रकाशको सालिक अध्यक्ष प्रचण्डले आज अनावरण गरेका थिए ।

‘लुम्बिनी सगरमाथा आरोहण अभियानका नामले शान्ति र संविधानको सन्देश प्रवाह गर्न सफल आरोही’ रहेको भन्दै पर्वतारोहण संघले स्व. प्रकाशको सालिक बनाएको जनाएको छ ।

सालिकसहित सोही क्षेत्रमा शीलालेख राखेर पनि दिवंगत प्रचण्डपुत्र प्रकाशको जीवनी लेखिएको छ । प्रचण्डपुत्र प्रकाशको २०७४ मंसिर ३ गते मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर