सुदखोर सरिताबाट सताइएकी सुनिता- पुलिसको डरले जंगलमा लुक्छिन् – Nepal Press
स्थलगत : मिटर व्याजको पासो (२)

सुदखोर सरिताबाट सताइएकी सुनिता- पुलिसको डरले जंगलमा लुक्छिन्

७० हजारको साढे ३ लाख तिर्दा पनि पीडितलाई नै ६ महिनाको जेल सजाय

सप्तरी । सप्तरी जिल्ला, कञ्चनरुप नगरपालिका– ५ रामपुरकी सुनितादेवी सदा (४५) अहिले हरेक दिन कुन वेला प्रहरी हतकडी लगाउन आउँछ भन्ने डरैडरमा बाँचिरहेकी छन् ।

उनका श्रीमान् कामका सिलसिलामा भारतमा छन् । छोरा पनि भारतमै छन् । उनी बुहारीहरुसित बस्छिन् ।

कोशी टप्पु क्षेत्रमा पुस्तौंदेखि बस्दै आएकी मुसहर सुनितादेवीको आफ्नो जमिन छैन । सानो टहरा अड्याएकी उनको त्यही जमिन पनि अरु कसैको नाममा छ । तर, कसको नाममा छ ? उनलाई थाहा पनि छैन ।

पढलेख गर्न नजान्ने सुनितादेवीको दैनिकी ज्यालामजदुरी गर्नु हो । त्यसवापत् दैनिक जति पैसा वा अन्न आउँछ, त्यसैले जीविकोपार्जन गरिरहेकी छन् । कोशी टप्पुबाट आउने ठूल्ठूला जंगली हात्तीको भन्दा उनलाई ठूलो डर प्रहरीको छ । उनको गाउँमा पसेका हात्तीलाई त जसोतसो धपाउँछिन् । तर, जब उनको टोलमा नयाँ मान्छे छिर्छन्, प्रहरी ठानेर उनी घरबाट जंगली हात्ती भएको जंगलतिर गएर लुक्छिन् ।

हरेक रात उनलाई निदाउनै सकस पर्छ । उनी सुकेको आँखा भिजाउँदै भन्छिन्, ‘प्रहरीको डर त छँदैछ । कहिलेकाहीँ त भोकै पनि सुत्नुपर्छ । मैले लिएको ऋणकै कारण बुहारीले मलाई भात पनि दिन्नन् ।’

सुनितादेवीको यस्तो दयनीय दिनचर्या २०७३ सालबाट सुरु भएको थियो । उनले गाउँकी सुदखोर सरिता ठाकुरबाट ७० हजार ऋण लिएकी थिइन्, त्यो पनि कपाली तमसुकमा हस्ताक्षर गरेर । छोरोलाई कतार पठाउन लिएको उक्त ऋणले यस्तो भयावह दिन निम्त्याउँछ भनेर उनले सोचेकी पनि थिइनन् ।

सरिता ठाकुरबाट लिएको ७० हजारको साँवा–ब्याज गरी सुनितादेवीले एक वर्षमै ३ लाख ५० हजार बुझाइसकेकी थिइन् । उक्त पैसा चुक्ता गरेपछि उनले सरितासँग कागज फिर्ता मागिन् । तर, सरिताले कागज दिनुको साटो सुनितादेवीलाई थर्काउँदै भनिन्, ‘तिमीले अझै मलाई ४ लाख दिन बाँकी छ । त्यति रकम पाएपछि मात्रै कागज फिर्ता गर्छु । नदिए जेल हालिदिन्छु ।’

सुनितादेवी छाँगाबाट खसेझैं भइन् । त्यसपछिका दिनहरुमा पनि उनले धम्की सुनिरहिन्, सरिताले धम्की दिइरहिन् । एक वर्षपछि एक दिन सरिता प्रहरीहरुसहित सुनितादेवीको घरमा आइन् । उनको घरमा भए जत्ति सबै सामान उठाएर लगिन् । घरमा एक्लै भएकी सुनिताकी ६९ वर्षीया वृद्ध सासूमाथि कुटपिट गरिन् । वृद्ध सासू सरिताको त्यही पिटाइले करङमा समस्या बोकेर बाँचिरहेकी छन् ।

घर आएर सबै सामान उठाएर लगेकी सरिताले ती सामान इलाका प्रहरी कार्यालय कञ्चनरुपमा पुर्‍याइन् । भोलिपल्ट सुनितादेवी प्रहरी कार्यालय पुगिन् । त्यहाँ उनलाई भनियो, ‘सामान लिन्छस् कि पैसा फिर्ता दिन्छस् ।’

अन्ततः सरिता र प्रहरी प्रशासनको दोहोरो धम्कीले गलिन् उनी । हतारहतार अर्को ठाउँबाट ऋण खोजेर सरितालाई डेढ लाख बुझाइन् । अनि आफ्नो सामान फिर्ता ल्याइन् । तर, प्रहरीहरुको रोहबरमा बुझाएको त्यो डेढ लाखको न कुनै कागज छ न त कुनै प्रमाण । सुनितादेवी भने प्रहरीको अगाडि पैसा बुझाएकाले त्यही प्रमाण हो भनेर हिँडिरहेकी छन् ।

निमुखा सुनितादेवीमाथि सरिताको शोषण यत्तिमै सीमित भएन । ७० हजारको साढे पाँच लाख बुझाइसक्दा पनि सरिताको शोषणबाट छुटकारा नपाएकी सुनितादेवी त्यसवेला झन् अप्ठेरोमा परिन्, जब सरिताले जिल्ला अदालत सप्तरीमा उनीविरुद्ध मुद्दा हालिन् । अदालतको छेउछाउ पनि नपुगेकी, कानुनबारे अलिकति पनि ज्ञान नभएकी सुनितादेवीलाई अदालतमा झिकाइयो । अदालतमा उनले के बोलिन्, उनैलाई थाहा छैन ।

कञ्चनरुप नपा ५ का वडा अध्यक्षसँगै सुदखाेर सरिता ठाकुर (बायाँ) ।

तर, उनले के चाहिँ थाहा पाइन् भने सरिताले ३ लाख साँवा दिएको र त्यसको ब्याजसहित ३ लाख ८५ हजार रुपैयाँ फिर्ता गरिपाउँ भनेर मुद्दा दायर गरेकी रहिछन् । ७० हजार साँवा अचानक ३ लाख कसरी भयो ? उनलाई थाहै थिएन । ७० हजार लिँदा नै सरिताले ३ लाख साँवा बनाएर ल्याप्चे लगाइदिएकी थिइन् ।

सरिताले दाबी गरेअनुसारको ३ लाख ८५ हजार तिर्न नसक्ने भएपछि अदालतले फैसला सुनाइदियो कि सुनितादेवीले ६ महिना कैद भुक्तान गर्नुपर्नेछ । २०७७ साल पुस २४ गते न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासबाट यस्तो फैसला आएपछि सुनितादेवी बेपत्ता भइन् ।

एक महिनासम्म कता गइन्, न प्रहरीलाई थाहा भयो न त उनको परिवारलाई नै । तैपनि उनको खोजखबरसम्म कसैले गरेन । घरमा भात खान नदिने बुहारीले चासो दिएनन् । भारतमा मजदुरी गरिरहेका श्रीमानले सुनिता वेपत्ता भएकै थाहा पाएनन् ।

सुनिता बेपत्ता भएकै बेला २०७८ साल चैत २० गते अदालतले उनको घरमा सात दिने सूचना टाँस गर्‍यो । त्यहाँ लेखिएको थियो, ‘… सरिता ठाकुर र प्रतिवादी तपाईं भएको लेनदेन बिगो मुद्दामा तपाईंले वादीको बिगो दाखिला नगरेको र जेथासमेत नदेखाएको हुँदा तपाईंलाई उक्त विगो रकमवापत ६ महिना कैद राख्न सिधा खर्चसमेत दाखिला गरी निवेदन गरेको हुँदा यस अदालतको मिति २०७८–११–२० गतेको आदेशअनुसार तपाईंको नाउँमा सात दिने म्याद सूचना जारी गरिएको छ । तपाईंले यो म्याद सूचना पाएको मितिले ७ दिनभित्र फैसलाबमोजिमको विगो वा जेथा देखाइ आउनुहोला । सो अवधिभित्र फैसलाबमोजिमको रकम नल्याएमा वा जेथा नदेखाएमा कानुनबमोजिम हुनेछ । पछि तपाईंको उजुर लाग्ने छैन ।’

सूचना टाँसपछि गाउँलेहरुले खोजेर सुनितादेवीलाई घरमा ल्याए । घरमा आए पनि उनलाई एकै कुराको डर छ, कुन दिन प्रहरी उनको घरमा हतकडी लिएर आइपुग्नेछ र उनलाई समातेर जेलमा कोच्नेछ ।

हामी सुनितादेवीको घरमा पुग्दा उनी जंगल पसेकी थिइन् । हामीसँग कुरा गर्न गाउँलेसमेत मानिरहेका थिएनन् । तर, सुदखोर पीडितहरुलाई संगठित गर्दै हिँडिरहेका अभियन्ताहरु संघर्ष दाहाल र मनोज पासवानले गाउँलेलाई सम्झाएपछि उनीहरु कुरा गर्न तयार भए । दुवै अभियन्ताले मैथिली भाषामा आफूहरु पुलिस नभएको र कुरा गर्न आएको बताएपछि गाउँलेले कोशी टप्पुको जंगलमा लुक्न पुगेकी सुनितादेवीलाई खोजेर ल्याए ।

हाम्रो अगाडि रुँदै सुनितादेवीले भनिन्, ‘तपाईंहरु जस्तै पुलिसले मलाई खोजिरहेका छन् । कुन दिन मलाई पक्रेर जेलमा कोच्नेछन् । जेलमा जानुपर्‍यो भने त म झुण्डिएर मर्छु । मलाई बुहारीले खान नदिए पनि यही घरमा मर्न चाहन्छु । जेल जान चाहन्नँ म ।’

अदालतले फैसला गरे पनि सुनितादेवीलाई पक्राउ गर्न प्रहरी आइसकेको छैन । तर, अझै पनि सरिता ठाकुरले भने निरन्तर धम्की दिइरहेकी छन् । पैसा नतिरेमा जेल पठाइदिने भन्दै ४ लाख मागिरहेकी छन् । सुनितादेवी भन्छिन्, ‘मैले कहाँबाट पैसा ल्याएर दिनू सर ! मेरो रगत बिक्री हुने भए यही रगत बेचेर उसलाई पैसा दिने थिएँ । मसँग उसको पैसा तिर्नलाई बाँकी केही पनि छैन ।’

सरिताबाट पीडित सुनितादेवी एक्ली भने होइनन् । त्यस ठाउँमा आधा गाउँ नै सरिताको शोषणमा पिल्सिएको छ । त्यसैमध्ये एक हुन्, कञ्चनरुप नपा ६ पूर्वी पिप्राकी भुटीदेवी सरदार । भुटीदेवीले ३ वर्षअघि सरिताबाट २० हजार रुपैयाँ लिएकी थिइन् । कपाली तमसुक पनि बनाएकी थिइन् ।

भुटीदेवीले पनि २० हजारको बदलामा ५० हजार सरितालाई दिइन् । तर, २० को ५० पाउँदा पनि सरितालाई चित्त बुझेन । अझै १० हजार पैसा तिर्न बाँकी छ भनेर धम्क्याइरहेकी छन् । पैसा नदिए सुनितादेवीलाई जस्तै ६ महिना जेलमा हाल्ने धम्की दिइरहेकी छन् ।

भुटीदेवी आफ्ना तीन–चारवटा गाई हेर्दै भन्छिन्, ‘मेरो सम्पत्ति भनेको यी गाईमात्रै हो । हामी सुकुम्बासी हौं । दैनिक साहू–महाजनकहाँ काम गरेन भने भोकै बस्नुपर्छ । अनि उसलाई मैले अब १० हजार कहाँबाट ल्याएर दिनू ?’

भुटीदेवीको हिसाब एकातिर छ, अर्कातिर उनकी बुहारी रामदुलारी सरदारको पीडा पनि सँगसँगै छ । रामदुलारीले पनि सरिताबाटै २ वर्ष अगाडि ७० हजार ऋण लिएकी थिइन् । श्रीमानलाई विदेश पठाउन ऋण लिएकी उनले अहिलेसम्म ४ लाख रुपैयाँ बुझाइसकेकी छन् । तर, अझै ४ लाख नै बाँकी छ भनेर रामदुलारीलाई पनि सरिताले धम्की दिइरहेकी छन् ।

सासू-बुहारीलाई नै कपाली तमसुकको भरमा फसाएकी सरिता मान्छे लिएर वेलावेला उनीहरुको घरमा आइरहन्छन् । रामदुलारी भन्छिन्, ‘अहिले त त्यो सरिता कहिले पुलिस लिएर आउँछे र सासू अनि मलाई समातेर लैजान्छ भनेर डरमात्रै लागिरहन्छ । उसलाई त्यति धेरै पैसा तिरेपछि हामीसँग अहिले बाँकी केही पनि छैन । कसरी तिर्नु, त्यत्रो पैसा !’

भूतपूर्व नेपाली सैनिककी श्रीमती हुन् सरिता । उनको मिटरब्याजी धन्धाले यहाँ मजदुरी गर्ने सुनितादेवी, भुटीदेवीहरुको उठिबास लागेको छ । उनीहरुसँग जमिन छैन । १० हजार ऋण पनि तिर्न नसक्ने अवस्थामा छन् ।

दलित बस्तीमा ऋण आतंक मच्चाउने सरिता पनि एक्ली सुदखोर होइनन् । छेवैका राजु यादवले पनि यही गाउँका निमुखा नागरिकलाई सताइरहेका छन् ।

सप्तकोशीको आसपास माछा मारेर, हटियामा लगेर बेचेर दुई माना चामल घरमा ल्याइ परिवारको सास बचाइरहेका भरत मुखियाले राजुबाट जम्मा १० हजार रुपैयाँमात्रै लिएका थिए दुई वर्षअघि । कपाली तमसुकमा ल्याप्चे लगाएका भरतलाई दुई वर्षमै राजुले ६० हजार पुर्‍याएका छन् ऋण ।

६० हजारको बहीखाता बोकेर भरतको घरतिर डुलिहिँड्ने राजुले पनि सरिताले झैं प्रहरी थानामा लगेर थुनिदिने भनेर धम्की दिइरहेका छन् । आफ्नी सासूको किरिया खर्च गर्न राजुबाट ऋण लिएका भरत भन्छन्, ‘दिनको एक–दुई किलो माछा मारेर मेरो परिवार चलेको छ । अब उसलाई मैले ६० हजार कसरी तिर्नु ?’

कुराकानी गर्दै जाँदा भरतको आँखामा आँसु थामिँदैन । उनी भित्तातिर फर्केर रुन्छन् र भन्छन्, ‘मैले उसको घरमा वेलावेला आफू भोकै बसेर माछा लगिदिन्छु । माछा लगेको दिनमात्रै ऊ हाँस्छ । भोलिपल्टदेखि जहाँ भेट्यो त्यहीँ भन्छ कि पैसा तिरेनस् भने जेल पठाइदिन्छु । छिटो पैसा तिर !’

भरतजस्ता भूमिहीन दलित बस्तीमा आतंक मच्चाइरहेका राजुले एकदिन सुने, ‘यो दलित बस्तीमा जग्गाको लालपुर्जा भएको एकजना मान्छे पनि छ ।’

तीन कठ्ठा १८ धुर जग्गा भएकी त्यस गाउँमा ५५ वर्षीया सतनीदेवी खत्वे थिइन् । राजुको गिद्दे नजर उनकै जग्गामाथि पर्‍यो । कसोकसो फकाएर राजुले सतनीदेवीलाई एक लाख १० हजार ऋण दिए साढे दुई वर्ष पहिला ।

समय बित्दै जाँदा सतनीदेवी र उनको परिवारले गएको चैतमा राजुलाई तिर्न साढे चार लाख तयार पारे । यसपछि त्यो कपाली तमसुक र राजुको नाममा पास गरिदिएको आफ्नो जग्गा फिर्ता पाउने आश थियो उनको । तर, त्यस्तो भएन । जग्गामाथि आँखा गाडेका राजुले भने, ‘अहिले चुनाव छ । चुनावपछि तिर्नु ।’

सतनीदेवीको परिवारले पनि राजुको कुरा माने । चुनावपछि राजुको घरमा गइन् पैसा बुझाउन सतनीदेवी । तर, राजुले हिसाब देखाए, ६ लाख ७५ हजार । उनले यति धेरै पैसा तिर्न नसक्ने बताइन् । यसपछि राजुले ५ लाख १३ हजार तिर्न भने । तर, बल्लतल्ल साढे चार लाख तयार गरेकी सतनीदेवीलाई ६३ हजार पैसाको जोहो गर्नु चानचुने कुरा थिएन । उनले सकिनन् ।

यसपछि गाउँ पञ्चायत बस्यो । पञ्चायतले गाउँमा मिलेर जानुपर्ने निर्णय गर्‍यो । तर, राजुले मानेनन् । अहिले दिनदिनै सतनीदेवीको घरमा आएर धम्की दिइरहन्छन् । जेल पठाउँछु भनिरहन्छन् । दुई वर्षसम्म सतनीदेवीको जग्गा कमाएका राजुले त्यहाँबाट धेरै असुलिसकेका छन् । गत जेठबाट चाहिँ उनको परिवारले राजुलाई आफ्नो जग्गामा कमाइ गर्न दिएका छैनन् । अब जग्गामा आफैं खेती गर्ने तयारीमा छन् सतनीदेवीको परिवार ।

राजुले गाउँकै सुभ्मु सरदारको ट्याक्टर पनि हडपिसकेका छन् । गाउँमा थोरै कसैले केही प्रगति ग¥यो भने त्यही नै राजुको आँखा गइहाल्ने गाउँलेको गुनासो छ । तर, राजुबाट कसरी मुक्ति पाउने ? यसबारे लेखपढ गर्न नजान्ने यी दुई गाउँलाई नै थाहा छैन । कुनै न कुनै दिन सुनितादेवीकै हालतमा पुगिने डरले गाउँ नै त्रसित छ ।

सुदखोर सरिता ठाकुर- कागजले जे भन्छ त्यही हुन्छ

सुदखोर सरिता ठाकुरलाई हामीले प्रतिक्रियाका लागि फोन गर्‍यौं । उनले सुनितादेवी सदा र भुटीदेवी ठाकुरले लगाएको आरोप इन्कार गरिन् । उल्टै सुनितादेवी, भुटीदेवीले आफूलाई अन्यायमा पारेको दाबी गरिन् ।

सुनितादेवी, भुटीदेवीलाई अन्यायमा पारेको विषयमा प्रश्न गर्दा उनले भनिन्, ‘कागज हेर्नुस् । कागजमा जे लेखेको छ, कानूनले त्यही भन्छ । मैले उनीहरुलाई अन्यायमा पारेको छैन, उनीहरुले मलाई अन्याय गरिरहेका छन् ।’

उनले सबै प्रमाण र कागज हेरेरमात्रै आफूसँग कुरा गर्न सुझाव पनि दिइन् । सुनितादेवी र भुटीदेवीले लगाएको सबै आरोप इन्कार गर्दै कागज हेर्नमात्रै जोड दिइरहिन् ।

यो पनि पढ्नुस्

मिटर ब्याजकाे पासाे (१) : अनिरुदकाे जालसाजीमा परेर सिंगै गाउँ सुकुम्वासी, ५० हजार ऋण दिएर १२ लाखको तमसुक ! (भिडिओ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.