कोरोना जोखिम भत्ता माग गर्दै अस्पताल बन्द गर्नेसम्मका आन्दाेलन घोषणा – Nepal Press

कोरोना जोखिम भत्ता माग गर्दै अस्पताल बन्द गर्नेसम्मका आन्दाेलन घोषणा

रुपन्देही । रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बन्दसम्मका आन्दोलन घोषणा गरेका छन् ।

उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । संघर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले सरकारले घोषणा गरेअनुसार स्वास्थ्यकर्मीहरुले अझैसम्म जोखिम भत्ता पाउन नसकेकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताए ।

संघर्ष समितिले आज असार १७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म २ घण्टा भीम अस्पतालको ओपिडी सेवा बन्द गर्ने, १८ गते अस्पताल परिसरमा सम्पूर्ण कर्मचारी धर्नामा बसी दबाब दिने, १९ गते बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा ओपिडी सेवा बन्द गर्ने, २० गतेदेखि ओपडी सेवा पूर्ण रुपमा बन्द गर्ने कार्यक्रम रहेको समितिका सचिव जनकराज पन्तले जानकारी दिए । संघर्ष र आन्दोलनका सम्पूर्ण गतिविधि र प्रगतिबारे जानकारी गराउन दैनिक पत्रकार सम्मेलन गरिने उनले बताए ।

आर्थिक वर्षको अन्तिम महिना सकिनै लाग्दासमेत कोरोना जोखिम भत्ता उपलब्ध गराउन कुनै किसिमको तदारुकता नदेखिएकाले भीम अस्पताल ९कोरोना अस्पताल० मा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी विगत १० दिनदेखि विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसँग भेटघाट छलफल, प्रदेश सरकार, प्रदेश स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको तथा भीम अस्पताल विकास समिति, अस्पताल प्रशासन लगायत निकायसँग विभिन्न चरणमा सम्वाद गर्दै पत्रकार सम्मेलन लगायतका कार्यक्रम गरिसकिएको उपाध्यायले बताए ।

संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायकाअनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ ।

भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर