घोडाघोडी नगरपालिकाको विवादित निर्णय: पुराना करार कर्मचारीलाई हटाउने, आर्थिक हिनामिना गर्नेलाई राख्ने – Nepal Press

घोडाघोडी नगरपालिकाको विवादित निर्णय: पुराना करार कर्मचारीलाई हटाउने, आर्थिक हिनामिना गर्नेलाई राख्ने

प्रेसलाई गोप्य सूचना दिए क्षतिपूर्ति तिराउने चेतावनी

कैलाली । असार ८ गते घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले साउन १ गते देखि विभिन्न शाखा/उपशाखा , सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, र आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत सम्पूर्ण अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई आगामी आर्थिक वर्ष २०७९/०८० को श्रावण १ गते देखी म्याद थप नगर्न नगराउन विभिन्न परिपत्र जारी गरे ।

राजनैतिक नियुक्तिका आधारमा भर्ना भएका र जिम्मेवारी पूर्ण काम नगर्ने कर्मचारीहरूलाई हटाउने गरी प्रमुख प्रशासकीय अधिकृतले परिपत्र जारी गरेका थिए । तर, त्यसको केही समय अघि प्रशासकीय अधिकृतले नै आर्थिक हिनामिना गरेको व्यक्तिलाई नियुक्त गरेको खुलेको छ ।

जेठ २६ गते देखि लागू गर्ने गरी आचार्यले राजीव चौधरीलाई हलुका सवारी चालकको रूपमा नियुक्त गरेका हुन् । सम्झौतामा उनलाई मासिक २० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतले नियुक्त गरेका व्यक्ति यस अघि आर्थिक हिनामिनामा मुछिएका थिए । उनले यस अघि घोडाघोडी नगरपालिका अन्तर्गत गरेको पहलमानपुर स्वास्थ्य चौकीको एम्बुलेन्स चलाइरहेका थिए ।

उक्त एम्बुलेन्स चलाउँदा चौधरीले १ लाख ४२ हजार भन्दा बढी रकम हिनामिना गरेका थिए । उनले उक्त रकम पहलमानपुर स्वास्थ्य चौकी तथा व्यवस्थापन समितिलाई उपलब्ध नगराएको र पटक पटक पत्राचार गर्दा पनि चासो नदिएको भन्दै उनलाई कानुन बमोजिम कारबाही गर्ने निर्णय भएको थियो ।

 

यता घोडाघोडी नगरपालिका उपप्रमुख गुलिया देवि चौधरीको सवारी चलाउने भन्दै ती व्यक्तिलाई नगरपालिकामा राखिएपछि अहिले विरोध भएको छ ।आर्थिक हिनामिना गरेको व्यक्तिलाई कारबाही गर्नु पर्ने हो तर, उल्टै नगरपालिकाले रोजगारी दिएको छ। एक कर्मचारीले भने, यस्तो प्रवृत्तिले राम्रो होइन ।

चौधरीसँग गरिएको सम्झौतामा उनले प्रेसलाई गोप्य कुरा भनेमा वा कागजातहरू दिएमा तत्काल कारबाही गर्ने क्षतिपूर्ति तिराउने समेत उल्लेख गरिएको छ ।

‘दोस्रो पक्षले कार्यालयको गोप्य कुरा वा कागजात कुनै अनाधिृक व्यक्ति वा प्रेसलाई उपलब्ध गराएको खण्डमा त्यो गोप्य कुरा वा कागजात उपलब्ध गराउने व्यक्तिलाई सेवाबाट हटाइ सो बाट भएको हानी नोक्सानी क्षतिपूर्ति दोस्रो पक्षले पहिलो पक्षलाई दिनु पर्नै छ ’ दुवै पक्षबिच भएको सम्झौतामा उल्लेख गरिएको छ ।

यता प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने आफूले आर्थिक हिनामिना गरेको भन्ने कुरा पछि थाहा पाएको बताएका छन्। उनले चालकको पारिश्रमिकबाट रकम असुलउपर गर्ने बताए ।

‘मैले रकम लिनु पर्ने भन्ने कुरा पछि थाहा पाए । अहिले उहाँसँग उक्त रकम पारिश्रमिकबाट दिन राजी छु भन्दै लिखित गरेर लेखा शाखामा बुझाइसकेको छु’ उनले भने, ‘उहाँले तिर्नु पर्ने रकम भएसम्म उहाँले पारिश्रमिक पाउनु हुन्न । त्यो रकम पहिले तिर्नु पर्ने संस्थामा जान्छ ।’

चौधरिलाई कुनै प्रक्रिया पुरा गरेर नियुक्त गरेको देखिएको छैन । उनले आफूलाई उपप्रमुखको सवारी चलाउने गरी नियुक्त गर्न निवेदन दिएको र त्यही निवेदनमा नगर उपप्रमुखको सवारी चलाउने गरी नियुक्त गर्न तोक लगाइएको छ ।

एकातर्फ अघिल्ला जनप्रतिनिधीहरुले राखेका कर्मचारीहरूलाई साउन १ गतेदेखि हाजिर नलाउन परिपत्र गर्न अर्को तर्फ आर्थिक हिनामिना गरेको पुष्टि भएका व्यक्तिलाई तोकादेशका भरमा नियुक्त गर्ने नगरपालिकाको निर्णय विरोधाभास भएको छ ।


प्रतिक्रिया

One thought on “घोडाघोडी नगरपालिकाको विवादित निर्णय: पुराना करार कर्मचारीलाई हटाउने, आर्थिक हिनामिना गर्नेलाई राख्ने

  1. नियम विपरीत कुरो मैले के देखें भने त्यत्रो ठूलो रकम को हर्जाना सहित उसको जायजेथा बाट तुरुन्त तिराउनु पर्ने र असुली नभए सम्म थुना मा कैद राख्नु पर्नेमा दण्ड हीनता को प्रवृत्ति।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *