दिलमाया… दिलमाया… खोइ कसको भूल ! – Nepal Press

दिलमाया… दिलमाया… खोइ कसको भूल !

यसरी तोडियो दिलमायाको दिल (अन्तरकथा)

काठमाडौं । मंगलबार दिउँसो काठमाडौंबाट आएको एम्बुलेन्स कच्ची सडकमा धुलो उडाउँदै खजुरामा पस्यो । गाउँवासीहरू आफलताफल गर्दै भिड लागे ।

एम्बुलेन्सभित्रबाट निकालियो एउटा रातो बाकस, जसमा थियाे लोकगायिका दिलमाया सुनारकाे प्राणहीन देह । शव निकाल्नासाथ वातावरण कोलाहलपूर्ण बन्यो । दिलमायाका परिवार र आफन्तहरू रुन-कराउन थाले । आमा बेहोस भइन् ।

गत शनिबार काठमाडौंमा मृत भेटिएकी दिलमायाको शव ५ दिनपछि बाँके जिल्लाको खजुरा गाउँ पुर्‍याइएको थियो । यो गाउँमा दिलमायाकी साहिँली बहिनीको घर छ, जहाँ उनीहरूका बुबाआमा बस्छन् । दिलमायाकी साहिँली बहिनी वैदेशिक रोजगारीका लागि कुवेतमा थिइन् । दिदीको मृत्युको खबरपछि उनी भावविव्हल बन्दै घर फर्किएकी छन् । उनको पर्खाइमा दिलमायाको अन्त्येष्टि बुधबारलाई सारिएको थियो ।

नजिकैको आर्यघाटमा शवको अन्त्येष्टी हिजो गरियो । १३ वर्षिय छोराले गह्रुंगा हातले आमालाई दागबत्ती दिए । अहिले उनी क्रियामा बसेका छन् ।

स्थानीय सञ्चारकर्मी दीपक जलनका अनुसार परिवारका सदस्यहरूको अवस्था अझै पनि नाजुक छ । आमा पूर्णरूपमा होसमा आउन सकेकी छैनन् । बुवा विक्षिप्त छन् । आफैं बेदनामा रहेका दिदीबहिनीहरूले बयोवृद्ध आमा-बुबा सम्हालिरहेका छन् ।

घर बिग्रियो, मन बिग्रियो

सुर्खेत जिल्लाको साविक मालापानी गाउँपालिमा जन्मेकी हुन् दिलमाया । उनका बुबाआमाका ५ छोरी छन् भने छोरा छैनन् । दिलमाया माइली हुन् ।

दिलमायाका बुबाआमाको आर्थिक अवस्था कमजोर छ । उनीहरूले सुर्खेतमा भएको जग्गा-जमिन बेचबिखन गरिसकेका छन् । पाँचवटै छोरीहरू बिहे गरेर गइसके । साहिँली छोरीको पनि दिलमायाको जस्तै घर बिग्रिएको छ । उनका श्रीमान् ५-६ वर्षदेखि सम्पर्क छैनन् । आफ्नो र सन्तानको भरणपोषणका लागि वैदेशिक रोजगारी गर्न उनी कुवेत गएकी हुन् । उनै छोरीले खजुरामा बनाएको घरमा बुबाआमा बसिरहेका छन् ।

दिलमायाका पहिलो विवाह आफ्नै नाताभित्रको व्यक्तिसँग भएको थियो । नाताले फुपूको छोरासँग विवाह गरेपश्चात एक छोरा जन्मिए । तर, श्रीमान् र श्रीमतीको सम्वन्ध भने राम्रो हुन सकेन । दिलमाया पहिल्यैदेखि कलाकारितामा आउन चाहिन्थन् । तर, यसमा श्रीमानको समर्थन थिएन । अन्ततः उनले वैदेशिक रोजगारी रोजिन् र कुवेत पुगिन् ।

कुवेतमा दिलमायाले करिब डेढ वर्ष काम गरिन् । तर, सोचेजस्तो नभएपछि स्वदेश फर्किइन् । फर्केपछि पनि श्रीमान्‌सँग सम्बन्धमा सुधार आएन । श्रीमान् रक्सीको कुलतमा रहेको र आफूलाई सधैँ पिट्ने गरेकाले सम्बन्ध बिग्रिएको दिलमायाले साथीभाइहरूसँग बताएकी छन् । साथै, श्रीमान्‌को अरु केटीहरूसँग पनि सम्बन्ध रहेको उनको आरोप छ । अन्ततः उनीहरूले औपचारिक सम्बन्धविच्छेद गरे । श्रीमान्‌ले अहिले दोस्रो श्रीमती बिहे गरेका छन् ।

श्रीमानसँग अलग्गिएपछि छोरालाई उनकै जिम्मामा सुम्पेर दिलमाया फेरि वैदेशिक रोजगारीका लागि ओमान गइन् । त्यहाँ उनलाई झन् घात भयो । यहाँबाट जे कामका लागि भनेर लगिएको थियो, त्यो पाइनन् । एउटा परिवारले उनलाई बन्धकजस्तो बनाए । बहिनीले उद्धार गरेर नेपाल फर्काइन् ।

दिलमायामा सानैदेखि गायनको सोखिन थियो । उनको स्वर मिठो थियो । तर, पहिले बुबाआमाले र पछि श्रीमान्‌ले कलाकारितामा आउन उनलाई रोकावट गरे । बुबाआमा छोरीले ‘घर गरेर खाएको’ हेर्न चाहन्थे । अर्को बिहे गरेर छोरा रेखदेख गरेर बसुन् भन्ने उनीहरूको इच्छा थियो । उनीहरूले काठमाडौं नबस्न छोरीलाई सुझाव दिएका थिए । तर, दिलमायाले मानिन् । उनले लोकदोहोरीमै सक्रिय रहने अठोट लिइन् ।

करिब ३ वर्षदेखि काठमाडौंमा दिलमायाको कलाकारिता संघर्ष सुरू भयो । उनी दोहोरी साँझमा गाउन थालिन् । कमाइ सीमित थियो । त्यसबाट जोगाएर पूर्वपतिसँग रहेका छोरालाई पनि उनी बेलाबखत पैसा पठाइदिने गर्थिन् ।

नेपालटारमा एउटा कोठा भाडामा लिएर कठीन जीवनयापन गरिरहेकी थिइन् । उनीसँग निकट कलाकार कमल सरगमका अनुसार दिलमायामा डिप्रेसनका स्पष्ट लक्षणहरू थिए । यद्यपि औषधि सेवन गरेको वा नगरेको जानकारी नरहेको सरगमले बताए ।

‘हामीसँग पटकपटक आफूलाई बाँच्न मन नभएको भन्दै मर्ने कुरा गर्नुहुन्थ्यो, कहिले फेसबुकमा पनि लेख्नुहुन्थ्यो । हामीले गाली गरेपछि हटाउनुहुन्थ्यो,’ उनले भने ।

गत भदौमा दिलमायाले विष खाएर आत्महत्या प्रयास गरिन् । उनले गायिका टीका पुनलाई फोन गरेर विषको बोतलसमेत देखाएकी थिइन् । त्यसपछि टिकाले घरबेटीलाई फोन गरेकी थिइन् । घरबेटीले बेहोस अवस्थामा भेटेर तत्काल ग्रीनसिटी अस्पताल पुर्‍याए । त्यहाँबाट टिचिङ लगियो । बल्लतल्ल उनको ज्यान जोगिएको थियो ।

दोस्रो बिहे पनि असफल

करिब दुई वर्षदेखि दिलमाया सिन्धुपाल्चोकका सूर्य श्रेष्ठसँग नजिक भइन् । गत भदौमा उनीहरूले दक्षिणकालीमा गोप्य तरिकाले विवाह गरे । तर, अहिले विवाहका प्रमाणहरू कसैसँग छैनन् ।

दिलमायाका दोस्रो श्रीमान् विवाहित हुन् । श्रीमतीसँग छोडपत्र नगरिकन उनले दिलमायाको सिउँदो भरेका थिए । पहिलो श्रीमतीबाट दुई सन्तान हुर्किसकेका छन् । अहिले उनी गोठाटारमा श्रीमती र छोराछोरीहरूसँगै बस्छन् ।

सरगम भन्छन्, ‘हामीलाई पनि थाहा नदिइकन विवाह गर्नुभएको थियो । पछि मात्रै भन्नुभयो । विवाहका तस्बिरहरू उहाँको मोबाइलमा हुन सक्छन् । तर, मोबाइल अहिले हराइरहेको छ ।’

दिलमायाको परिवारले प्रहरीमा दिएको जाहेरीमा सूर्यलाई दिलमायाका श्रीमान् भनिएको छैन । विवाहको प्रमाण नभएको र विवाहित व्यक्तिसँग अवैधरूपमा विवाह गरेको देखिने भएकाले ‘श्रीमान्’ नलेख्न प्रहरीले सुझाव दिएका थिए । त्यसैले जाहेरीमा उनीहरू करिब २ वर्षदेखि रिलेसनसिपमा रहेको मात्र उल्लेख गरिएको छ ।

प्रहरीसँग श्रेष्ठले पनि आफू दिलमायाको श्रीमान् नभइ साथी मात्र भएको बताइरहेका छन् । तर, दिलमायाका घरबेटीका अनुसार विष खाएपछि ग्रीनसिटी अस्पतालमा भर्ना गर्दा उनले श्रीमान् भनेर हस्ताक्षर गरेका थिए ।

त्यसो त दिलमायाको सिउँदो रंगाए पनि श्रेष्ठले उनलाई श्रीमतीको दर्जा दिएका थिएनन् । सम्भवतः पहिलो श्रीमतीसँग डिभोर्स गर्ने आश्वासन दिएर श्रेष्ठले दिलमायालाई दुलही बनाएका थिए । तर उनले उक्त आश्वासन पूरा गरेनन् । बरु दिलमायालाई नै पन्छाउने प्रयास थाले । विवाह गरे पनि आफूसँग बस्नै इन्कार गरेपछि दिलमाया उनीसँग निराश बन्दै गएकी थिइन् । श्रेष्ठ महिनामा एकाधपटक राति-राति दिलमायाको कोठामा गएर बस्थे । उनले दिलमायालाई आफ्नो परिवारमा भित्र्याएनन् । दिलमाया श्रीमान्‌प्रति समर्पित थिइन्, तर श्रेष्ठले उनीसँग केवल आफ्नो कामवासना पूर्तिका लागि सम्बन्ध राखिएको निकटस्थहरूको भनाइ छ ।

सून व्यवसायी श्रेष्ठले दिलमायालाई आर्थिक सहयोग भने गरिरहेका थिए । दिलमायाको कोठाभाडा प्राय उनले नै तिरिदिने गरेको घरबेटीले बताएका छन् । तर, पछिल्लो समय उनी दिलमायासँग छुट्कारा पाउने प्रयासमा थिए । उनले दिलमायालाई दोहोरी साँझ छोड्न दवाव दिन थाले । उनले दोहोरी साँझमा काम गर्दा आफ्नो ‘इमेज बिग्रिने’ श्रेष्ठको भनाइ थियो । अन्ततः श्रीमानको दबाबमा परेर दिलमायाले करिब ६ महिनाअघि दोहोरी साँझको काम छोडिन् ।

त्यसयता उनी प्राय घरमै हुन्थिन् । बिहान अबेला उठ्थिन् । दिनभरि ढोकामा चुकुल लगाएर कोठाभित्र बस्ने गर्थिन् । कहिलेकाहीँ तल ओर्लिएर घरबेटीसँग वात मार्थिन् । प्राय दु:खकै कुरा सेयर गर्थिन् ।

गायन क्षेत्रमा विस्तारै पाइला अघि बढाउँदै थिइन् दिलमाया । उनको स्वरबाट प्रभावित बनेर संगीतकार कमल सरगमले पहिलो अवसर दिएका थिए उनलाई । राजु परियारसँग मिलेर उनले गाएको देउसी भैलो गीत आठ महिनाअघि युट्यूवमा सार्वजनिक भएको थियो । यो गीतले करिब आठ लाख भ्यूज पाएको छ । त्यसयता उनले ५-६ वटा गीत गाएकी थिइन् ।

हेर्नुस् गीत

मृत्यू हुनुभन्दा ३ दिन अगाडि मात्रै उनले एउटा नयाँ गीतको सुटिङ गरेकी थिइन् । सो गीतमा उनको आफ्नै रचना र संगीत छ । भिडिओमा पनि आफैं फिचर्ड छिन् । दुई दिनअघि सार्वजनिक भएको गीतले अढाईलाख भ्यूज पाइसकेको छ । यो गीतमा दिलमायाले आफ्नै वास्तविक जीवनको वेदना पोखेकी छन् ।

हेर्नुस् गीत

गत फागुनमा भएको टुबोर्ग दोहोरी गीत प्रतियोगितामा उनले भाग लिएकी थिइन् । १६० जना सहभागी त्यस प्रतियोगितामा दिलमायाले उत्कृष्ट आवाजकी गायिकाको अवार्ड जितिन् । त्यसले उनको करिअरमा अलिकति उत्साह थपेको थियो ।

पछिल्लो समय आर्थिकरूपमा समस्या पर्न थालेपछि दिलमायाले फेरि विदेशिने योजनामा बनाएकी थिइन् । उनले आफूसँग अलग हुने भए १० लाख रूपैयाँ दिनुपर्ने सर्त श्रीमान्‌सँग राखिन् । श्रीमान्‌ले ५ लाख रूपैयाँ दिन सक्ने बताए । तर, पछि पाँच लाख पनि नदिएपछि विवाद बढेको निकटस्थहरूले प्रहरीसँगको बयानमा बताएका छन् ।

एक अन्तर्वार्तामा दिलमायाले आफ्नो माइती परिवारप्रति पनि दु:खेसो गरेकी छन् । श्रीमान्‌ले आफूलाई प्रताडित गरिरहँदा माइतीले पनि साथ नदिएको उनको गुनासो छ । तर, दिलमायाका बुबा भने आफूले सबै छोरीहरूलाई उत्तिकै माया गरेका बताउँछन् ।

उनले स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन्, ‘मेरा लागि पाँचवटै छोरी हातका पाँच औंला सरह हुन् । सबैलाई उस्तै माया गर्छु । हामी आफैं बुढाबुढी छौं । छोरीहरूको सहारामा बाँच्नुपरेको छ । हामीले चाहेर पनि उनलाई सहयोग गर्न सक्ने अवस्था थिएन ।’

हत्या कि आत्महत्या ?

दिलमायाले आत्महत्या गरेकी हुन् कि हत्या भन्नेमा प्रहरीको अनुसन्धान जारी छ । परिवारले भने हत्या भएको भन्दै सुर्य श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएका छन् ।

प्रहरी स्रोतका अनुसार यो घटना आत्महत्या वा हत्या हुन सक्ने सम्भावना ५०/५० प्रतिशत देखिएको छ । यसअघि पनि आत्महत्याको प्रयास गरेको, निकटस्थहरूसँग बारम्बार मर्ने कुरा गरेको र मृत्यूअघि फेसबुकमा ‘सुसाइड’ नोट लेखेको कारणले आत्महत्या हुनसक्ने अड्कल काट्न सकिन्छ ।

अर्कोतर्फ मृत्यु हुँदा श्रीमान् कोठामै रहेको, मृत्युपछि दिलमायाको मोबाइल हराएको, कोठाभित्रको वस्तुस्थितिले आत्महत्याको संकेत नगरेको लगायत कारणले शंकाको सुई श्रेष्ठतर्फ तेर्सिएको छ । पोस्टमार्टम रिपोर्टले ‘ह्याङ्गिङ’ अर्थात् झुण्डिएर मृत्यु भएको देखाएको छ ।

त्यसरात दुईजनाबीच लडाइँ-झगडा भएकोजस्तो कुनै अवस्था देखिएको छैन । पल्लो कोठामा बस्ने महिलाले पनि राति कराएको-चिच्याएको आवाज नसुनेको बताएकी छन् । प्रहरी पुग्दा कोठाभित्र पाकेको मासुभात र रक्सीका बोतलहरू यत्तिकै थिए । अरु सामानहरू सरक्कै थिए ।

श्रेष्ठले त्यस रात दुवैले रक्सी पिएर सुतेको र आफू ब्युझिँदा दिलमाया झुण्डिरहेको देखेपछि भागेको बयान दिएका छन् । दिलमायाको शवलाई ओछ्यानमा झारेर उनी झुण्डिएको सल बोकेर हिँडेको उनको दाबी छ । त्यो सललाई चक्रपथको नालीमा फ्याँकेको उनले बताएका छन् ।

तर, सरगमका अनुसार भने दिलमाया कहिले पनि रक्सी पिउँथिनन् ।

‘त्यस राति पिएको भए बेग्लै कुरा, तर उनले रक्सी मुखमा हालेको मलाई थाहा छैन,’ उनले भने, ‘जातले पाएको भनेर हामीले जिस्क्याए पनि उनले कहिल्यै खान मान्थिनन् ।’

त्यसरात श्रेष्ठ करिब ६-७ बजे श्रेष्ठ दिलमायाको कोठामा आएको प्रत्यक्षदर्शीको भनाइ छ । उनीसँगै टाँसिएको कोठामा बस्ने महिलाले राति २ बजेतिर श्रेष्ठको चप्पल कोठाबाहिर र उनी चढ्ने पल्सर २२० मोटरसाइकल गेटबाहिर देखेको बयान दिएकी छन् ।

राति करिब १ बजेतिर दिलमायाको फेसबुक अकाउन्टमा ‘सुसाइड नोट’ पोस्ट भएको थियो । उक्त पोस्ट देखेपछि उनीसँग निकट गायिका टीका पुनले दिलमायाको कोठा नजिकै बस्ने महिला (जसलाई दिलमाया भाउजू भन्छिन्) लाई फोन गरेकी थिइन् । ‘यस्तो स्टाटस आएको छ, एकपटक कोठामा गएर हेरिदिनुस न’ भनेपछि करिब ८ बजेतिर भाउजूले दिलमायाको घरबेटीलाई फोन गरेर उनको कोठामा हेरिदिन भनिन् । घरबेटी सुस्माले तत्काल कोठामा गएर हेर्दा ओछ्यानमा लडिरहेको देखिन् । सुरूमा सुतिरहेको सोचे पनि बोलाउँदा नबोलेपछि उनी आत्तिएर भाउजूलाई फोन गरेकी थिइन् । त्यसपछि भाउजू आइपुगेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले दिलमायाको अनुसन्धान जारी रहेको जनाएको छ । आत्महत्या हो वा हत्या भन्ने प्रहरी अनुसन्धानले नै निर्क्यौलमा पुग्ने हो । अहिले चाहिँ गायक यम बरालले लेखेको एउटा गीत उनकै निम्ति रचिएको त थिएन भन्ने भान हुन्छ ।

दिलमाया… दिलमाया… खोइ कस्को भूल….

तस्बिरहरू : दीपक जलन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर