शहिद परिवारलाई भरणपोषण र छात्रवृत्ति दिने तयारीमा मधेस सरकार – Nepal Press

शहिद परिवारलाई भरणपोषण र छात्रवृत्ति दिने तयारीमा मधेस सरकार

जनकपुरधाम । मधेस सरकारले मधेस आन्दोलन र माओवादीको १० वर्षे जनयुद्धमा सहिद भएका परिवारलाई भरणपोषण भत्ता वितरण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेशको गृह तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेसी सहिद प्रतिष्ठानले सहिद परिवारलाई भरणपोषण र उनीहरुको छोरा–छोरीहरुलाई पठन पाठनका लागि छात्रवृत्ति दिने प्रक्रिया सुरु गरेको हो ।

प्रतिष्ठानले भरणपोषण र छात्रवृतिका लागि आवेदन दिन शहिद परिवारलाई जेठ १० गते नै सूचना प्रकाशित गरी आह्वान गरिसकेको छ । जेठ १७ गतेसम्म आवेदनको समय तोकिएको प्रतिष्ठानका कार्यकारी निर्देशक छठु चौधरीले जानकारी दिए ।

प्रतिष्ठानले भरणपोषण तथा छात्रवृति कार्यविधि २०७९ को दफा (६) बमोजिम मधेस आन्दोलन तथा जनयुद्धमा शहिद भएका परिवारको आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर मासिक अधिकतम२१ हजार दरले प्रतिष्ठानको निर्णय बमोजिम भत्ता दिइने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ ।

भरणपोषण भत्ताका लागि शहिद घोषणा भएको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शहिदको एकाघरका पति÷पत्नी, छोरा, अविवाहित छोरी, आमा, बुवा भएको स्थानीय तहबाट नाता प्रमाणित कागजात, क वर्गाको बैंकमा रहेको खाता नम्वर र पान नम्बर पेश गर्न भनिएको छ ।

यस्तै भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधि २०७९ को दफा (७) बमोजिम मधेस आन्दोलन तथा जनयुद्धमा शहिद भएका शहिदका सन्दानलाई कक्षा १ देखि ६ सम्मकालाई रु. १६ हजार र कक्षा ७ देखि १२ सम्मकालाई १८ हजार एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिइनेछ ।

छात्रवृतिका लागि शहिद भएको घोषणापत्र, स्थानीय तहबाट फोटो सहितको शहिदको छोरा वा अविवाहित छोरी रहेको नाता प्रमाणित कागजात, विद्यालयको सिफारिस, नेपाली नागरिकताको प्रतिलिपि, क वर्गाको बैंकको खाता नम्बर र पान नम्बर सहित आवेदन दिन भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर