वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक बन्न आवेदन दिने ६ जनाको नाम सार्वजनिक – Nepal Press

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक बन्न आवेदन दिने ६ जनाको नाम सार्वजनिक

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक बन्न आवेदन दिएकामध्ये ६ जनाकाे नाम सार्वजनिक गरिएकाे छ । गत जेठ २० गते सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये याेग्यता पुगेका ६ जनाकाे मात्रै नाम सार्वजनिक गरिएकाे हाे ।

दरखास्त दिएका ९ जनामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरुको आवेदन स्वीकृत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डण्डुराज घिमिरेले नेपाल प्रेसलाइ जानकारी दिए ।

उनका अनुसार निजगढ–८ बाराका निर्मलकुमार उप्रेती, मध्यनेपाल नगरपालिका–४ लमजुङका तोयराज अधिकारी, टोखा नगरपालिका–७ काठमाडौंका दुर्गादत्त ढकालको उम्मेदवारी परेको छ । त्यस्तै कोल्हवी नगरपालिका–४ बाराका डा. द्वारिका उप्रेती, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका युवराज बस्नेत र फलेवास–६ पर्वतका हरिकुमार श्रेष्ठको दरखास्त पनि स्वीकृत गरिएको छ ।

श्रममन्त्रीको अध्यक्षतामा रहने वैदेशिक रोजगार बोर्डको सदस्य सचिव बोर्डको कार्यकारी निर्देशक रहने व्यवस्था छ । अहिले बोर्डको कार्यकारी निर्देशक राजन श्रेष्ठ रहेका छन् । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको पालामा श्रेष्ठ नियुक्त भएका थिए । उनको ६ वर्षे कार्यकाल सकिन लागेपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *