आज संसद दिवस : यसरी सम्भव भयो पहिलो संसद बैठक – Nepal Press
आर्काइभबाट

आज संसद दिवस : यसरी सम्भव भयो पहिलो संसद बैठक

काठमाडौं । २००७ सालको क्रान्ति सफल भएको झण्डै आठ वर्ष वित्दा पनि तत्कालीन दरबारले निर्वाचनका माध्यमबाट सरकार सञ्चालनको बाटो खोल्न दिएन । प्रजातन्त्रको स्थापनासँगै निर्वाचित जनप्रतिनिधिद्वारा देशको मूल कानून निर्माणको प्रतिबद्धता उच्च राजनीतिक तहबाट समेत गरिएको थियो ।

तर, दरबारले लामो समय त्यो प्रतिबद्धता पूरा गर्न आनाकानी गरिरहेको इतिहासकारहरूले विभिन्न पुस्तकहरूमा लेखेका छन् ।

यद्यपि तत्कालीन राजा महेन्द्रले लामो समय त्यसैगरी अगाडि बढ्नसक्ने अवस्था थिएन । त्यहीकारण बेलायती प्रख्यात संविधान विज्ञ सर आइभर जेनिड्सको सुझावअनुसार २०१४ साल चैत्र ३ गते संविधान मस्यौदा समिति गठन भयो । त्यसअघिसम्म २००७ सालमा बनेको अन्तरिम संविधानबाट देश शासित हुँदै आएको थियो ।

समितिको अध्यक्षमा तत्कालीन लोकसेवा आयोगका कामु अध्यक्ष भगवतीप्रसाद सिंह थिए । भने सदस्यहरूका नेपाली कांग्रेसका तर्फबाट सूर्यप्रसाद उपाध्याय र होराप्रसाद जोशी, गोर्खा परिषद्का तर्फबाट रणधीर सुब्बा र नेपाल ल क्याम्पसका प्रिन्सिपल रामराज पन्त थिए ।

सो समितिले १० भाग, ७७ धारा र १० परिच्छेद रहेको संविधान मस्यौदा तयार पार्‍यो । सोही मस्यौदा तत्कालीन राजा महेन्द्रले २०१५ साल फागुन १ गते घोषणा गरेका थिए । यही संविधान घोषणा भएपछि नेपालमा पहिलो आमनिर्वाचनको वातावरण तयार भएको थियो ।

यो संविधानले राज्यको शासन सञ्चालन गर्ने, संसदमा प्राप्त बहुमतको आधारमा सरकार निर्वाचित गर्ने र उक्त सरकारलाई निर्देशित गर्ने विधि निर्माण गर्ने सर्वोच्च थलोका रुपमा ‘राष्ट्रिय विधायिका’ (संसद) को परिकल्पना गरेको थियो ।

उक्त संविधानले धारा १८ देखि २२ सम्म संसद र सोको गठन आदि बारे उल्लेख गरेको थियो । जसमा दुई सदन भएको संसद रहने व्यवस्था भए अनुसार तल्लो सदन प्रतिनिधिसभा जनताबाट प्रत्यक्ष निर्वाचित सदस्य रहने ‘प्रतिनिधिसभा’ र उपल्लो सदन जसलाई ‘महासभा’ भनियो । तल्लो सदन प्रतिनिधिसभामा १०९ जना सदस्य रहने व्यवस्था गरिएको थियो ।

तल्लो सदनको व्यवस्थाअनुसार पहिलो प्रतिनिधिसभाको निर्वाचन २०१५ साल फागुन ७ गतेबाट प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न गर्ने क्रममा चैत्र २८ गते ४५ दिनमा मात्र पूरा भएको थियो । अन्तिम मतपरिणाम आउन थप एक महिना कुर्नुपर्‍यो । २०१६ साल वैशाख २८ गते अन्तिम मतपरिणाम घोषणा भएको थियो ।

निर्वाचनमा ४२ लाख ४६ हजार ४ सय ४८ मतदातामध्ये १९ लाख ८१ हजार ३ सय ८१ ले अर्थात ४७ प्रतिशत मतदाताले मात्र आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

नेपाली कांग्रेसले देशका १०९ निर्वाचन क्षेत्र मध्ये १०८ क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमध्ये ७४ सिट (६८ प्रतिशत) मा जितेको थियो । गोर्खा परिषद्ले जम्मा १९ स्थानमा जितेको थियो भने, नेपाल कम्युनिष्ट पार्टी ४ स्थान जितेको थियो ।

यसरी निर्वाचित प्रतिनिधिसभाका सदस्यहरूको बैठक २०१५ साल असार १६ गते बसेको थियो । सोही कारण नेपालमा पहिलोपटक संसद बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ ।

आज असार १६ गतेकै दिन परेकाले ६४औं संसद दिवस मनाइँदैछ । पूर्वसांसद मञ्च र संघीय संसद सचिवालयको संयुक्त आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

(तस्बिर क्याप्सन : २०१५ साल असार १६ मा पहिलो बैठक बसेको सिंहदरबारस्थित संसद भवन)


प्रतिक्रिया

One thought on “आज संसद दिवस : यसरी सम्भव भयो पहिलो संसद बैठक

  1. lekh apuro xa. 2016 ma nirbachanko antim najita ghosana vayara balla nirbachit padadhikari vayapaxi pahilo baithak baseko ho. bt yaha 2015 ma baithak baseko thiyo vanera lekhiyo. 2016 ma nai ho bp pm baneko pani.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर