पर्यटन प्रवर्द्धनमा खेलकुदको महत्त्वपूर्ण भूमिका हुन्छ : पर्यटनमन्त्री श्रेष्ठ – Nepal Press

पर्यटन प्रवर्द्धनमा खेलकुदको महत्त्वपूर्ण भूमिका हुन्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि खेलकुद क्षेत्रको समेत महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

नेपाल स्की संघका अध्यक्ष समेत रहेका श्रेष्ठले बुधवार स्की संघले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले हिउँमा खेलिने साहसिक खेलहरूको प्रवर्द्धनले नेपालमा पर्यटक भित्राउन सहयोग पुग्ने बताउँदै त्यस्तो खेलको विकास र विस्तारमा समेत कार्य गर्ने बताए ।

मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको एउटा खम्बाका रूपमा रहेको पर्यटन क्षेत्र कोभिड १९को महामारीका कारण खस्केकाले यसको उत्थानका लागि प्राथमिकतामा राखेर कार्य गर्ने बताएका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडि बढ्न सकेको खण्डमा कोभिड १९को कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थान गर्न मद्दत पुग्ने बताएका छन् ।

२०५६ सालदेखि नेपालमा स्की खेलको सुरुआत भएको हो । हिउँमा खेलिने भएकाले यस खेलको विकास र विस्तारका लागि मन्त्री श्रेष्ठको योगदान रहेको छ ।

उनकै पहलमा नेपालमा तीन पटक राष्ट्रिय स्की च्याम्पियनसिप आयोजना भैसकेको छ भने नेपालले विन्टर ओलम्पिकमा समेत प्रतिस्पर्धा गर्दै आएका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.