भोजपुरलाई पनि तल्लो अरुणबाट शेयर, रोयल्टीको अवसर दिन प्रधानमन्त्रीको ध्यानाकर्षण – Nepal Press

भोजपुरलाई पनि तल्लो अरुणबाट शेयर, रोयल्टीको अवसर दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । भोजपुरका राजनीतिक र सामाजिक अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भेटेर तल्लो अरुण जलविद्युत आयोजना र समुदाय सहयोग कार्यक्रमबारे ध्यानाकर्षण गराएका छन् ।

बालुवाटारमा आज भएको भेटको क्रममा भोजपुर र संखुवासभाको सिमानामा बन्न लागेको ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको शेयर, रोयल्टीलगायतको फाइदा भोजपुरले पनि पाउनुपर्ने माग गरिएको छ ।

प्रतिनिधिमण्डलले उक्त आयोजनाबाट भोजपुरमा ठूलो संख्यामा रुख कटानी हुने हुनाले, खडेरी, अनावृष्टि, भूक्षयले जनजीविकामा असर पर्ने भएकोले साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिका साथै भोजपुरको पूर्वदेखि पश्चिमसम्म प्रसारण लाइनले समेत असर पर्ने भएकाले स्थानीयबासीलाई छुट्याइने १० प्रतिशत शेयरमध्ये भोजपुर र संखुवाबासीलाई ५-५ प्रतिशत लगानीको अवसर मिलाइदिन सम्बन्धित निकायमा पत्राचार र निर्देशनको लागि माग गरेको छ ।

साथै चतरा हुँदै अरुण करिडोरमा बन्ने सडकलाई प्राथमिकता दिन, षडानन्द विश्वविद्यालय, योगमाया आयुर्वेद विश्वविद्यालय र भोजपुरको समग्र विकासको क्षेत्रमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको प्रतिनिधिमण्डलमा सहभागी रोशन बस्नेतले जानकारी दिए ।

भोजपुरे सेवा समाजको संयोजनमा बालुवाटार पुगेको भोजपुरे टोलीमा पूर्वअर्थमन्त्री शंकर कोइराला, कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझी, भोजपुर नगरपालिका मेयर कैलाश आले, समाजका अध्यक्ष पासाङदोर्ची शेर्पा, रोशन श्रेष्ठलगायत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.