बजेट थोरै भएको भन्दै वागमतीका मन्त्रीले गरे मन्त्रालय खारेजको माग – Nepal Press

बजेट थोरै भएको भन्दै वागमतीका मन्त्रीले गरे मन्त्रालय खारेजको माग

हेटौँडा । बागमती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले आफ्नो मन्त्रालय खारेज गरिदिन आग्रह गरेका छन् ।

आफूले समालिरहेको मन्त्रालयको औचित्य प्रदेशमा नरहेको भन्ने खालको अभिव्यक्ति दिँदै उनले बजेट नै नभएको मन्त्रालयको काम नहुने बताए ।

उनले भने ‘आजकल एउटा गाउँपालिकाको बजेट त ४०–४५ करोडको हुन्छ अनि यो २४ करोडको मन्त्रालयले के गर्ने ? बजेट नबढाउने भए बरु मन्त्रालय खारेज गरिदिए हुन्छ ।’

पौडेलले आफ्नो मन्त्रालय खुट्टा नभएकोको मानिस जस्तो भएको बताए । प्रदेश सभामा बोल्दै मन्त्री पौडेलले मन्त्रालयको नाम भूमि व्यवस्था भए पनि भूमि सम्बन्धी कुनै पनि काम गर्ने अधिकार मन्त्रालयसँग नभएको बताए ।

उनले गुठी व्यवस्थापन लगायतका कामहरू पनि आफ्नो मन्त्रालयले गर्न नमिल्ने बताए । आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित बजेटका सम्बन्धमा प्रदेश सभामा जारी बैठकमा बोल्दै उनले मन्त्रालय नै गरिब हुँदा काम गर्न नसकिने बताए ।

५ करोड रुपैयाँ मात्र खर्च गर्न पाउने मन्त्रालयबाट सहकारी मार्फत प्रदेशलाई समृद्ध बनाउन नसकिने उनको भनाई रहेको छ । मन्त्रालयलाई महत्त्व दिएर आवश्यक बजेट विनियोजन भए गरिबी निवारण गर्न मन्त्रालय सफल हुने उनले ठोकुवा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.