१६ दिनभित्र तीन पटक मकालु हिमाल आरोहण गरेर लाक्पाले राखे कीर्तिमान – Nepal Press

१६ दिनभित्र तीन पटक मकालु हिमाल आरोहण गरेर लाक्पाले राखे कीर्तिमान

काठमाडौँ। आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीन पटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । सङ्खुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु हिमाल ८,४८५ मिटर अग्लो छ ।

लाक्पाले मकालु हिमाल सन् २०२२ को मे १२, २० र २८ तारिखमा सफल आरोहण गरेका हुन् । सोही समयमा चौथो पटक आरोहण गर्ने उनको लक्ष्य भने खराब मौसमले पूरा भएन ।

‘चौथो पटकको आरोहण पूरा गर्न ३० मिटरमात्रै बाँकी छँदा मौसमले साथ दिएन र म फर्किन बाध्य भएँ’, आरोही शेर्पाले भने, ‘यो विश्व कीर्तिमान हो र गिनिजबुकमा नाम रहन्छ भन्ने सोचेको छु ।’

उनले रेकर्डको लागि नभई आफ्नो गाउँ र ठाउँ चिनाउने उद्देश्यका साथ हिमाल आरोहण गरेको बताए । मकालुवासीकै ट्रेकिङ कम्पनी ‘सेभेन समिट ट्रेक्ज’ प्रालिको सहयोगमा १६ दिनमा तीन पटक मकालु हिमाल आरोहण गर्न सहज भएको र सामान्यतया एकपटक त्यो हिमाल आरोहण गर्न एक महिनाभन्दा बढी समय लाग्ने आरोही शेर्पा बताउँछन् ।

शेर्पाले २० वर्षको उमेरदेखि हिमाल आरोहण गर्दै आएका छन् । उनी हालसम्म ८ हजारमाथिका हिमालमा १४ पटक पुगिसकेका छन् । उनलाई सङ्खुवासभाका जनताले मकालु लाक्पाको नाम दिएका छन् ।

लाक्पाले यसअघि मकालु दुई पटक, सगरमाथा एक पटक, मनास्लु दुई पटक र ल्होत्से एक पटक आरोहण गरिसकेका छन् । सेभेन समिट ट्रेकिङका फिल्ड मेनेजरसमेत रहेका ३० वर्षीय शेर्पाले विश्वकै टेक्निकल हिमालको रुपमा रहेको माउन्ट आमादब्लमको ६ पटक सफल आरोहण गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *