अस्ट्रेलियामा लाखौं मौरी लकडाउनमा – Nepal Press

अस्ट्रेलियामा लाखौं मौरी लकडाउनमा

काठमाडौं । अस्ट्रेलियाले लाखौं मौरीलाई लकडाउनमा राख्ने तथा हजारौं मौरीलाई नष्ट गर्ने निर्णय गरेको छ । मौरीका लागि अत्यन्तै घातक मानिने भारोआ डिस्ट्रक्टर नामक परजीवी भेटिएपछि अस्ट्रेलियाले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ ।

सरकारको सो निर्णयअनुसार अब माहुरीपालकहरूले अर्को सूचना जारी नभएसम्म घार, मौरी वा महको चाका अन्यत्र लैजान पाउने छैनन् । सिड्नी नजिकको बन्दरगाहमा गत साता फेलापरेको उक्त परजीवी सो ठाउँदेखि सय किलोमिटर टाढासम्म देखापरेको छ ।

यसकारण अस्ट्रेलियाको मह उद्योगले ठूलो क्षति व्यहोर्न पर्ने मिडिया रिपोर्टमा उल्लेख छ । तिलको गेडोजत्रो यस परजीवीले भाइरस सारेर मौरीको समूहलाई कमजोर बनाइ मार्ने गर्छ ।

हाल अस्ट्रेलियाको न्यू साउथ वेल्सस्थित सात ठाउँमा यो परजीवी भेटिएको छ । सो क्षेत्रका ४०० घारलाई नष्ट गर्ने निर्णयसेमत लिइएको छ । न्यू साउथ वेल्सको कृषक सङ्घका इयान म्याक्कोलकाले बीबीसीलाई जानकारी गराएअनुसार उक्त परजीवी देशभर फैलिए अस्ट्रेलियाको मह उद्योगलाई मात्रै प्रतिवर्ष चार करोड ८० लाख अमेरिकी डलर बराबर घाटा लाग्नेछ ।

अस्ट्रेलियाका बदाम, स्याउ र एभोकाडोजस्ता एकतिहाइ खाद्य सामग्री उत्पादन माहुरीले गरिदिने परागसेचनमा आधारित भएको कारण सो क्षेत्रमा पनि ठूलो असर पर्नसक्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर