भात खाइस् ! – Nepal Press
सन्दर्भ : राष्ट्रिय धान दिवस

भात खाइस् !

२०६१ साल मंसिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नै असार १५ लाई धूमधाम धान दिवसका रुपमा मनाउने चलन आएको हो । त्यसैगरी सन् २००४ लाई अन्तर्राष्ट्रिय धान वर्षको रुपमा मनाइएको थियो ।

हामी नेपाली कृषि प्रधान देशका नागरिक । धानले नै हाम्रो शान बढाएको छ । हाम्रो ज्यान जोगाएको छ । नेपाली एक-अर्काले भेट्दा सोध्ने चलनै छ नि- भात खाइस् ? हामीले खाने भातको स्रोत नै धान हो ।

हाल विश्वका ११३ देशमा धान खेती गरिन्छ । नेपालको मनाङ र मुस्ताङ जिल्लाबाहेक सबै जिल्लामा थोरै-धेरै धान खेती हुन्छ । नेपालको सबैभन्दा अग्लो स्थानमा धान फल्ने जिल्ला जुम्ला हो । जहाँ तीन हजार ५० मिटर उचाइमा मार्सी धान खेती हुँदै आएको छ । २०६१ कार्तिक १८ गते हुलाक विभागले मार्सी धानको टिकटसमेत प्रकाशन गरिसकेको छ ।

जुम्लाको मार्सी धानको कहावत र स्वादसमेत मीठो पाइन्छ । चन्दननाथले आफू भारतबाट आउँदा यो धान जुम्ला ल्याएको किंवदन्ती पाइन्छ । जुम्लाको सदरमुकाम खलंगामा चन्दननाथ मन्दिर छ । जुम्लीहरु देश-विदेश जहाँ गए पनि धानको बीउ राख्ने बेला आफ्नो गाउँघर फर्किने चलन रहेछ । धान रोप्ने समयसम्म आइनपुगे मृत्युको शंका गर्ने चलनसमेत जुम्लीहरुको पाइयो । यसले मानो रोपेर मुरी फलाउने समय र महत्व जनाउँछ ।

संसारको सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो, भारत दोस्रोमा पर्छ । नेपालको अन्न भण्डार मानिने तराईमा धान उत्पादन धेरै हुने गर्छ । नेपालमा पहिलो पटक फिलिपिन्सको अन्तर्राष्ट्रिय बाली अनुसन्धान केन्द्रले आईआर-८ नामक धानलाई सिफारिस गरेको थियो । नेपालका पहाडी भागमा यो धानको खेती पछिल्लो समयसम्म कायमै थियो । सिंचाइ कम भए पनि हुने र नेपाली हावापानी सुहाउँदो धान भएकाले आईआर-८ लाई नेपालीहरुले रुचाएका थिए ।

नेपालमा धानलाई धार्मिक एवं सांस्कृतिक कार्यहरुमा विशेष प्रयोग गरिने भएको हुँदा खपत पनि बढी भएको देखिन्छ । त्यतिमात्र होइन धान रोप्ने बेला असारे गीत गाइने चलन अझै कायम छ । नेपाली लोक-संस्कृति संरक्षणमा यो दिवसको आफ्नै विशिष्ट महत्व छ । कहिलेकाहीं यही दिवसमा गरिएका अवाञ्छित क्रियाकलापहरुले विवाद ल्याउने गरेको भेटिन्छ । यस्तै कारणले गर्दा कतिपयले आफ्नो सामाजिक एवं राजनीतिक जीवनबाट हात धुनुपर्ने बाध्यता आइपरेको देखिन्छ ।

नेपालको हिमाली क्षेत्रमा धान खेती हुँदैन । पहाड र तराईमा मात्र धान फल्छ । तर, भात खानेहरुको संख्या बढी भएकाले वर्सेनि भारत, बंगलादेशबाट चामल आयात गर्नुपर्ने अवस्था छ । नेपालीहरुको कहानी यो पनि सत्य हो कि- कुनैबेला नेपालले दक्षिण कोरियालाई धान निर्यात गर्दथ्यो ।

नेपालमा धान खेती उचित र सम्भव भए पनि उन्नत जातको धानको बीउ, समयमा आवश्यक मल, सिंचाइको पहुँच प्राप्त हुन सक्दा सोचे जति उत्पादन हुन सकेको छैन । पछिल्लो समय धान खेती गर्ने जग्गाहरु प्लटिङमा रुपान्तरण भइरहेका छन् । आकाशे पानीमा भर पर्नुपर्ने बाध्यकारी अवस्था नेपालमा अझै छ । गाईवस्तु पाल्न किसानहरुले छाडे, रासायनिक मलको अभाव वा निरन्तरको प्रयोगले जग्गाको उर्बराशक्ति कमजोर भएको लुकाएर लुक्दैन ।

धान उत्पादन गरिने जग्गाहरु बाँझो गराएर विदेशिनेहरुको लाम एयरपोर्टमा हेर्दा हुन्छ । सरकारले धान खेतीको लागि बजार मूल्य वा समुचित मूल्य तोक्न सकेको छैन । आवश्यकतालाई ध्यान दिएर कृषि प्राविधिकहरुलाई किसानका खेतमा पुराउने योजना बनाउन सकेको छैन । घुम्ने कुर्चीमा घुमेका कृषि प्राविधिकहरुले कमिसनका भरमा प्रमाणीकरण नभएका धानका बीउहरु सिफारिस गरेको सुनेकै छौं ।

नेपालमा धानको वैकल्पिक खेती अझै हुन सकेको छैन । धानको बदलामा गरिने खेतीहरुको जोखिम बहन गर्नसक्ने क्षमता किसानहरुमा छैन । जोखिमलाई न्यूनीकरण गर्ने सरकारी उपायहरु कमजोर सावित भएका छन् । धानमा लाग्ने अनेक रोगहरु छन् । त्यसको घरेलु उपचार पद्धति किसानहरुलाई खासै थाहा छैन भने वैज्ञानिक उपचार त एकादेशको कथा छ ।

२२ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएमा धानको बालामा दाना लाग्दैन वा नपुंसक हुने सम्भावना बढी भएको कृषि वैज्ञानिक एवम् कृषिविज्ञहरुले भन्दै आएका छन् । तर, यो कुरा किसानलाई कति थाहा होला ? बढी तापक्रम भएमा धान खेतीलाई कसरी जोगाउन सकिन्छ ? कम भएमा के गर्ने ? यसको सपाट जवाफ किसानहरुसँग छैन ।

विश्व खाद्य कार्यक्रमको प्रतिवेदनले नेपालको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा वर्सेनि ४० लाख नागरिक भोकमरीबाट ग्रसित भएको उल्लेख गरेको छ । यसबाट बच्न उपाय के हो त ? चामलबाट पाइने खास पौष्टिक तत्व कार्बोहाइड्रेट हो । त्यसमा भिटामिन बी ६ र बी १२ समेत पाइन्छ । भातको माड काढेर त्यसमा नून, बेसार हालेर फाँडो खाने चलनसमेत छ । त्यसलाई गरीबीको एउटा रुप मान्न सकिन्छ ।

नेपाल सरकारले ललितपुरको खुमलटारमा धानको जीन बैंक सुरु गरेको छ । त्यसबाट किसानहरुले फाइदा लिन सक्नुपर्छ । तर, सम्भावना कम देखिन्छ । नेपालमा धान खेतीबाट आफू पालिने र अरुलाई पाल्ने दिन कहिले र कसरी ल्याउन सकिएला ? राष्ट्रिय धान दिवसमा यो कुराले विशेष चर्चा पाओस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.