अनिरुदकाे जालसाजीमा परेर सिंगै गाउँ सुकुम्वासी, ५० हजार ऋण दिएर १२ लाखको तमसुक ! (भिडिओ) – Nepal Press
स्थलगत : मिटर ब्याजकाे पासाे (१)

अनिरुदकाे जालसाजीमा परेर सिंगै गाउँ सुकुम्वासी, ५० हजार ऋण दिएर १२ लाखको तमसुक ! (भिडिओ)

महोत्तरी । भंगहा-५ सितपुरकी सञ्जिलादेवी मण्डलको जीवन ठीकठाकै चलिरहेको थियो । काम गरेर दुई छाक टारिरहेकै थिइन् । तर, उनको दुर्दिन त्यस दिनबाट सुरु भयो, जब उनले ज्वाइँलाई साउदी पठाउन मिटर ब्याजी अनिरुद साहसित ५० हजार ऋण लिइन् ।

उनका ज्वाइँ साउदी उडे । ज्वाइँले तीन महिनापछि ६० हजार रुपैयाँ पठाए । सञ्जिलाले ६० हजार चोख्खै लगेर अनिरुदलाई बुझाइन् । उनले सोचिन्– अब ऋण सकियो, छोरीज्वाइँले कमाएर सुखमय जिन्दगी सुरु गर्नेछन् ।

तर, सञ्जिलाले जे सोचेकी थिइन्, परिवेश र घटना त्यसको ठीक उल्टो भयो । अनिरुदले चार महिनापछि जिल्ला अदालत महोत्तरीमा सञ्जिलालाई विपक्षी बनाई मुद्दा दायर गरे । जसमा सञ्जिलाले अनिरुदको नौ लाख ९० हजार पैसा तिर्न बाँकी रहेको दावी पेस गरियो ।

सञ्जिलादेवी ।

सञ्जिला आँखाभरि आँसु पार्दै भन्छिन्, ‘मैले त ६० हजार पैसा बुझाएपछि सोचेकी थिएँ अब ऋण सकियो । त्यसपछि मैले कपाली तमसुक फिर्ता माग्दा उसले ‘भाउजू, तपाईंको कागज जनकपुरमा छ ल्याइदिन्छु’ भनेको थियो । तर, अनिरुदले अपर्झट त्यस्तो मुद्दा दायर गरेछ ।’

अनपढ सञ्जिला अक्षर छिचोल्न सक्दिनन् । उनले कपाली तमसुकमा हस्ताक्षर त गरेकी थिइन् । तर, उनलाई त्यसमा के–कति अंक लेखिएको थियो भन्ने पत्तो नै थिएन । तमसुकमा उनले लिएको रकम नै छोपिने गरी ल्याप्चे लगाएकी छन् ।

२०७७ माघ २९ गते अनिरुदले मुद्दा हालेका थिए । त्यस मुद्दाउपर सञ्जिलाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिइन् । तर, मुद्दा फाँट हेर्ने प्रहरी सहायक निरीक्षक सञ्जीप पाण्डेले बदमासी गरिदिए । उनले उजुरीमा अनिरुदको नामै उल्लेख गरेका छैनन् । कोविरुद्ध के विषयमा उजुरी हो भन्ने किटानी छैन । सञ्जिला भने यही बेनामे उजुरी जतनसाथ बोकेर हिँडिरहेकी छन् ।

पत्र संख्या २०७, मिति २०७७ माघ २९ मा लेखिएको छ, ‘उपरोक्त सम्बन्धमा तपाईंसमेतको ठगीसम्बन्धी कसुर दरखास्त वा सूचना प्राप्त भई यस प्रहरी कार्यालयको दर्ता किताबमा दर्ता भयो ।’ अन्त्यमा सञ्जीप पाण्डेले हस्ताक्षरमात्रै गरेका छन् ।

आफ्नो सानो झुपडीमा बसेर मध्यान्हको गर्मीमा मनभित्रको हपहपी दुःख आक्रोशमा पोख्छिन् सञ्जिला, ‘अनिरुदले जिल्लाको एसपीलाई १७ लाख बुझाएको छ । अदालतको न्यायाधीशलाई तीन लाख बुझाएको छ । भंगहा नगरपालिकाको मेयरलाई पनि उसले पैसा दिएको छ । अनि हामीलाई धम्की दिँदै पैसा उठाएको छ ।’

मिटर ब्याजी अनिरुद साह ।

उनीसित एसपी, न्यायाधीश, मेयरले घुसपैठ गरेको प्रमाण छैन । तर, निर्धक्क बोलिदिन्छिन् । उनको बुझाइ छ, उनलाई दुःख दिने अनिरुद र उनको साथमा रहेका अन्य मानिसहरू हुन्, जसले उनको सुन्दर घर र जिन्दगीलाई उजाड बनाइदिएका छन् ।

सञ्जिलाको घटना एउटा दृष्टान्त मात्रै हो । हालै नवलपरासीबाट केही मिटरव्याज पिडितहरु काठमाडौंको माइतिघरमा आएर अनसन बसे । माग पुरा हुने आश्वासनको पोको बोकेर उनीहरु घर फर्केका छन् । यसबीचमा, तराइका विभिन्न जिल्लामा अनिरुदजस्ता सुदखोरहरूले कसरी निमुखा जनतालाई विचल्लीमा पारेका छन् भनेर स्थलगत रिपोर्टिङका लागि नेपालप्रेसकर्मी महोत्तरीमा आएका छौं ।

नवलपरासीको सुस्ता र प्रतापपुरमा मिटर ब्याजको आतंक मच्चाएका सुनिल बानियाँ, जगदीश बानियाँ, सुजित बानियाँ र सुरेश बानियाँविरुद्ध पीडितहरूले २०७८ साल असोज १८ मा प्रहरी र जिल्ला प्रशासनमा निवेदन दिएका थिए । तर, उनीहरूको माग सुनुवाइ हुने सवालमा कानून निरिह बनेको छ । अनपढ र निमुखा जनतालाई कपाली तमसुकको भरमा आफ्नो काबुमा पारेका सुदखोरहरूले कानूनबाट उम्कन पहिल्यै हजारौं जाल रचिसकेका छन् ।

ती सुदखोरहरूले न पैसा लिएको गतिलो प्रमाण रहन दिएका छन् न त पीडितहरूले लिएको पैसाको सही तमसुक नै बनाएका छन् । यसको गतिलो उदाहरण हुन्, महोत्तरी जिल्ला, भंगहा नगरपालिका– ५ सितपुरका मण्डलहरू ।

महोत्तरी, सप्तरी, सिराहा र धनुषा गरी चार जिल्लाका चारदेखि पाँच सय हाराहारी नागरिक अनिरुदको शोषणमा परेको भंगहा नपा– ४, प्रेमनगरका मोहन महतोको दाबी छ । सबै पीडितहरूलाई संगठित बनाइरहेका मोहनको सम्पर्कमै एक सयको हाराहारी आइसकेका छन् ।

माेहन महत्ताे र धनेश्वर महत्ताे ।

मोहन स्वयं पनि अनिरुदका पीडितमध्ये एक हुन् । उनले १२ वर्ष अगाडि दुई लाख रुपैयाँ लिएका थिए छोरीको विहेको लागि । महिनाको दुई प्रतिशत ब्याजका दरले ऋण लिएका मोहनले तीन वर्षभित्र चुक्ता पनि गरिसकेका थिए, अनिरुदकै सर्तअनुसार साढे दुई प्रतिशत ब्याज तिरेर ।

तर, उनले बिगोको रुपमा राखेको पाँच कठ्ठा जमिनको लालपुर्जा अनिरुदबाट फिर्ता पाउन सकेनन् । अनिरुदले कपाली तमसुक बनाउँदा पहिला जग्गाको लालपुर्जा लिएर बेचबिखन गर्न नपाउने गरी बन्धक बनाउने गरेका थिए । अनि पैसा चुक्ता गरेपछि त्यही जग्गा फिर्ता गराइदिन्थे । मोहनले पनि तीन वर्षमा दुई लाखको ६ लाख ३० हजार रुपैयाँ तिरे ।

मोहनले ऋण चुक्ता गरिसकेपछि तमसुक मागे । अनिरुदले भने, ‘कागज जनकपुरमा छ । ल्याएर दिन्छु ।’

यसवेलासम्म अनिरुदसँग मोहनको परिवारको सम्बन्ध राम्रै थियो । मोहनलगायत अनिरुदको घरमा गएर विनापारिश्रमिक खेत जोतिदिने गर्थे, काम गरिदिने गर्थे । अनिरुद पनि चुपचाप थिए । मोहनले सोचे, अब त लालपुर्जा फिर्ता आउला ।

तर, मोहनले सोचेजस्तो केही भइदिएन । पटकपटक लालपुर्जा माग्दा नदिएका अनिरुदले चार वर्ष त यसै रल्लाइदिए । दुःख र ऋणले वृद्ध देखिएका तर, भर्खरै ४० टेकेका मोहन भन्छन्, ‘ऊ चार वर्षसम्म शान्त भएको थियो । तर, चार वर्ष पुगेपछि फेरि पैसा माग्न थाल्यो । पैसा अझै तिरिसकेको छैन भनेर घरमा आएर धम्की दिन थाल्यो । उसले त ब्याज पनि तीन रुपैयाँको दरले लेखेको रहेछ ।’

यसपछि अनिरुदले जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरे । यसपछि अदालतमा अनिरुदको बिगो दाबीअनुसार मोेहनले फेरि ६ लाख १३ हजार बुझाए । अदालतको फैसलापछि दुई लाखको १२ लाख ४३ हजार तिरेर मोहनले आफ्नो लालपुर्जा फिर्ता पाए । आफ्नो जग्गा बिक्री वितरण गर्न पाउने भए ।

मोहन सुनाउँछन्, ‘यसपछि मलाई लागेको थियो, ठूलो दुःखबाट मैले मुक्ति पाएँ । तर, होइन रहेछ ।’

मोहन जसोतसो ऋणमा जकडिएर बचेपछि अनिरुदको आँखा मोहनकै सोझा दाइमाथि पर्‍यो । मोहनका दाइ धनेश्वर महतो गाउँकै एकजनाको लहैलहैमा लागेर ऋण काढ्न अनिरुदकै घर पुगे । ससुरालीमा चाहिएको एक लाख रुपैयाँका लागि पुगेका धनेश्वरले ऋणस्वरुप वाणिज्य बैंकको चेक पाए । आफ्नो लालपुर्जा बुझाए, कपाली तमसुकमा हस्ताक्षर गरे ।

यसपछि धनेश्वर वाणिज्य बैंक बर्दिवासमा चेक साट्न पुगे । तर, चेक बाउन्स भयो । ल्याएर अनिरुदलाई दिए । अनिरुदले चेक च्वारच्वार च्यातेर फाले । धनेश्वर निराश भएर फर्के । तर, धनेश्वरले कपाली तमसुक बनाइसकेका थिए । लालपुर्जा बिक्री वितरण गर्न नमिल्ने गरी अनिरुदको कब्जामा पुर्‍याइसकेका थिए । यसलाई उनीहरू दृष्टिबन्धक भन्छन् ।

चेक च्यातेर फाले पनि यसपछि अनिरुदले धनेश्वरको छायाँसम्म पनि छाडेनन् । धनेश्वरले लालपुर्जा फिर्ता पाउनकै लागि अनिरुदलाई पैसा तिर्दै गए । अन्ततः धनेश्वरले गाउँ पञ्चायतको भेला गरेर १६ लाख रुपैयाँ तिरे ।

अनिरुद यत्तिकै सीमित भएनन् । उनले जिल्ला अदालतमा धनेश्वरलाई विपक्षी बनाई पैसा चुक्ता गरी पाउँ भनेर मुद्दा हाले । एक लाखको नसाटिएको चेक १६ लाखको बन्दासम्म सहेरै बसेका धनेश्वरले अनिमात्रै थाहा पाए कि कपाली तमसुक बनाउँदा त १२ लाख साँवाको बनाएका रहेछन् । धनेश्वर छाँगाबाट मात्रै खसेनन्, अक्षर नचिन्ने उनलाई अचेल हरेक दिन निद्रा लाग्दैन । राम्रोसँग निदाएको रात पनि उनलाई याद छैन । उनको आफ्नो जग्गा छैन । भएको जग्गाको लालपुर्जा पनि अनिरुदको साथमा छ ।

धनेश्वरकै छिमेकी वीरेन्द्र यादवको हालत महतो दाजुभाइको भन्दा दर्दनाक छ । उनीसित आफ्नो भन्नु चिचिला बालबच्चा, श्रीमती, बुढा बाआमा र आफ्नो ज्यान छ । एक मुठ्ठी माटो पनि उनको नाममा छैन । कुनै समय वीरेन्द्रसँग १३ कठ्ठा जग्गा थियो ।

वीरेन्द्र यादवलगायत ।

उनी मिस्त्रीको काम गर्छन् । मिस्त्री कामको ठेक्कापट्टा पनि गर्छन् । केही वर्षअघि एक साथीले चिनाइदिएको भरमा उनले अनिरुदसँग तीन लाख ७० हजार रुपैयाँ लिए । कपाली तमसुक बनाए, सञ्जिला, मोहनले जस्तै जग्गाको लालपुर्जा बुझाए ।

वीरेन्द्रले साढे चार लाख रुपैयाँ तिरे । तर, तीन लाख ७० हजार रुपैयाँ लिएका उनको त्यो पैसा अनिरुदको ऋणको ब्याज तिर्न पनि पुगेन । किनभने अनिरुदले १२ लाख साँवाको कपाली तमसुक बनाएका रहेछन् । यसपछि उनी आफ्नो १३ कठ्ठा जग्गा ऋण नतिरुञ्जेलसम्मका लागि अनिरुदलाई पास गरिदिए ।

अहिले वीरेन्द्रसँग न घर आफ्नो छ न त घरअघिको आँगन नै । उनले तान्ने कल पनि उनको आफ्नो छैन । वीरेन्द्र आफूले तानेको कलबाट झरेको पानी हेर्दै भन्छन्, ‘मेरो त केही छैन । म बर्बाद भएँ । अझै पनि २५-३० लाख रुपैयाँ तिर्न बाँकी छ भन्छ । म कसरी त्यति धेरै रकम ल्याउँ ! मलाई बान्द्रा थारु टोलको साथीले अनिरुदसँग भेटाइदिएका थिए । उसले पनि कारोबार गरेको रहेछ । पछि उसले चाहिँ आफ्नो जग्गा अनिरुदलाई नै बेचेर हिसाब मिलायो ।’

अहिले सिरहा, सप्तरी, महोत्तरी, धनुषामा यस्ता सुदखोरको पञ्जामा परेका पीडितहरू कति छन्, यकिन तथ्यांक छैन । तर, पीडितहरूलाई संगठित गर्दै आन्दोलनको तयारीमा रहेका भंगहाका संघर्ष दाहालका अनुसार ३ हजारभन्दा बढीको संख्यामा पीडित छन् । उनी भन्छन्, ‘यी तीन हजार ज्यादा व्यक्तिको परिवारले भोगेको दुःख, पाएको मानसिक तनावको हिसाब अर्कै छ ।’

सिरहामा पनि मनोज पासवानले पीडितहरूलाई संगठित गरिरहेका छन् । अहिलेसम्म उनको सम्पर्कमा ६० भन्दा बढी पीडित आइसकेका छन् । कपाली तमसुकको भरमा निमुखा जनतामाथि ज्यादती गरेकाहरू खुलमखुला राजनीतिक पार्टी, नेता र प्रशासनको संरक्षणमा रहेकाले पीडितहरूले न्याय पाउनेमा अझै शंका छ उनलाई । दाहाल थप्छन्, ‘पीडितहरूले न्याय पाउने कुरा न्यायालय वा प्रशासनबाट सम्भव छैन । यसको किनारा लगाउने भनेको सडक आन्दोलनले नै हो ।’

महोत्तरीको भंगहा नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ९ नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको निर्वाचन क्षेत्रमा पर्छ । बाँकी वडा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरदसिंह भण्डारीको निर्वाचन क्षेत्रमा पर्छ । यिनै क्षेत्रमा सबैभन्दा बढी मिटर ब्याज पीडितहरू छन् ।

भंगहा नपा ५ सितपुरकी ३२ वर्षीया श्यामकुमारीले २०७६ सालमा अनिरुदसँगै एक लाख ५० हजार लिएकी थिइन् । अनिरुदले रामलोचन साहको नामबाट श्याम कुमारीलाई ऋण दिएका थिए । उनी भन्छिन्, ‘त्यहाँ कागज लेख्ने पनि साह, ऋण दिने पनि साह नै थिए । कागज देविन्दर साहले लेखेका थिए । कागजमा ल्याप्चे लगाउने वेला देविन्दरले मेरो मुखमा हेरेका थिए । मैले किन हेरेको भनेर सोध्दा उसले यत्तिकै भनेर जवाफ दिएको थियो ।’

श्यामकुमारी ।

देविन्दरको हेराइको आशय श्यामकुमारीले त्यतिवेला मात्रै बुझिन्, जतिवेला उनीविरुद्ध १६ लाखको मुद्दा दायर भयो । १० वर्षदेखि श्रीमानलाई साउदीमा राखेकी उनले जेठमा कपाली तमसुकमा ल्याप्चे लगाएर पैसा लिएकी थिइन् ।

श्यामकुमारीले साढे चार लाख बुझाइसकेकी थिइन् डेढ लाखको बदलामा । अदालतमा मुद्दा हालेपछि उनको प्रत्युत्तर पनि अदालतले मागेको थियो । श्यामकुमारी दुःख सुनाउँछिन्, ‘तर, त्यही देविन्दरले प्रत्युत्तर दिनुपर्दैन भन्यो ।’

डेढ लाखको ऋण लिँदा १२ लाखको साँवा बनाइदिएका अनिरुदको समूहले धाकधम्कीमात्रै दिएन, उनलाई अदालतले फैसला गरिदियो भनेर झुक्याइदिए पनि । नक्कली तारेख धाउन लगाए । साथै उनलाई दुई वर्षको कैद सजाय भयो भनेर पनि भनियो । कैद सजायको कुरा सुनेदेखि श्यामकुमारीको दिन राम्रोसँग बितेको छैन । बिहान हुनासाथ ढोका खोलेर प्रहरी हतकडी लिएर आयो कि भनेर हेर्छिन् । राति बाहिर गाडीको आवाज आउँदा पनि प्रहरी नै हो कि भनेर झुपडीबाट चियाउँछिन् ।

श्यामकुमारी भन्छिन्, ‘तर अहिलेसम्म प्रहरी मलाई पक्रन आएको छैन । यदि आयो भने यहीँ झुण्डिएर मर्छु ।’

श्यामकुमारीकै छिमेकी वेचन मण्डल सधैं बेचैन भइरहन्छन् । मण्डल गाउँ नै अनिरुदको ऋणमा डुबेको छ । गाउँ नै सुकुम्बासी बस्तीमा परिणत भएको छ । २०७१ सालमा साढे चार लाख ऋण लिएका वेचनले १६ लाख ९० हजार अनिरुदलाई बुझाइसके । तर, उनको चार कठ्ठा साढे ६ धुर जग्गा फिर्ता भएको छैन ।

१० वर्षअघि एक लाख लिएकी मालतीदेवी मण्डल टाउको छोपेको सारीले सधैं आँसुमात्रै पुस्छिन् । उनको भएको खेतै अनिरुदले झुक्याएर पास गरिलिए । उनले त दृष्टिबन्धक गरिदिनु भनेकी थिइन् । तर, अनिरुदले पास नै गरे ।

अनिरुदले आफ्नी भाउजु वन्दनादेवी साहको नाममा मालतीदेवीको जग्गा पास गरिदिएका छन् । मालतीदेवीले एक लाखको साँवा ब्याजसहित १५ लाख तिरिसकेकी छन् । एक लाखको ऋणको साँवा १२ लाख थियो । अन्तमा जमिन पनि अनिरुदले नै खाइदिए । मालतीदेवी गुनासो गर्छिन्, ‘सबै ऋण चुक्ता गरिसकेको थियो । तर, पैसा दिएको छैन भनेर उसैले मुद्दा हाल्यो । अदालतबाट मुद्दा मैले नै हारेँ ।’

स्थलगत रिपाेर्टिङमा नेपालप्रेसकर्मी नवीनकाजी राई (पहेंलाे ज्याकेट लगाएका) ।

अहिले जनकपुर पुनरावेदन अदालतमा मुद्दा दायर गरेकी मालतीदेवीको यही असार १९ गते पेशी छ । तर, अनिरुदले बनाएको तमसुक भने मालतीदेवीलाई नै फिर्ता गरिएको छ । जहाँ २०७१ पुस ४ गते मालतीदेवीले सबै ऋण चुक्ता गरिसकेकी छन् भनेर लेखिएको पनि छ । तर, मालतीले आफ्नो जग्गा दृष्टिबन्धकमात्रै हो भनेर ल्याप्चे लगाउँदा त्यो जग्गा नै अनिरुदको कब्जामा पुगेको थियो ।

अहिले आफ्नो जग्गा वरपर बेलाबेला पुग्छिन् मालतीदेवी । जग्गा हेर्छिन्, जो अनिरुदको भइसकेको छ । अनि सारीको सप्कोले आँसु पुछेर झुपडीमा फर्किन्छिन् ।

अहिले भंगहा नगरपालिकाका १४ जना पीडितले अनिरुदविरुद्ध सामूहिक उजुरी दिएका छन् जिल्ला प्रहरी कार्यालयमा । तर, उनीहरू आफूले न्याय पाउनेमा एक रत्ति पनि विश्वस्त छैनन् । तैपनि उनीहरूको आशाको धागो भने चुँडिइसकेको छैन ।

सञ्जिलादेवी, राजनारायण यादव, जगन्नाथप्रसाद सिंह, वासिरा खातुन, समुधदेवी दोनुवार्नी, रीनाकुमारी, योगेन्द्रप्रसाद चौधरी, धनेश्वर महतो, वीरेन्द्र यादव, मोहन महतो, प्रकाश मण्डल, मालतीदेवी धानुक, वीरेन्द्र सदा मुसहर, शिवा सदा, गंगा साह कलवारले उजुरी दिएका छन् अनिरुदविरुद्ध । तर, अनिरुद विगत आठ महिनादेखि वीरगञ्जमा लुकेर बसेको पीडितहरूको अनुमान छ ।

हामीले अनिरुदलाई सम्पर्क गर्न खोज्दा उनको फोन अफ थियो । उनका आफन्तलाई सम्पर्क गर्न खोज्दा पनि कसैले फोन उठाएनन् । मनोज पासवान भन्छन्, ‘भागेर कहाँसम्म जालान् र ! हामी जहाँ लुके पनि खोजेर उभ्याउँछौं । अब अदालत, प्रहरी प्रशासनमा होइन, सडकमा उभ्याएर हामी आफैं न्यायको फैसला गर्छौं ।’


प्रतिक्रिया

One thought on “अनिरुदकाे जालसाजीमा परेर सिंगै गाउँ सुकुम्वासी, ५० हजार ऋण दिएर १२ लाखको तमसुक ! (भिडिओ)

  1. तत्काल रोक्नु पर्छ।अब यस्ता कामहरु

Leave a Reply to Rajan bhandari Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर