असार १५ मै किन खाइन्छ दही-चिउरा ? – Nepal Press

असार १५ मै किन खाइन्छ दही-चिउरा ?

काठमाडौं । आज असार १५ । रोपाइँ सकेको खुशीयालीमा भोजस्वरुप दही-चिउरा खाने दिन । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपमै असार १५ मा दही-चिउरा खाने प्रचलन रहँदै आएको हो ।

तर, असार १५ मै किन खाइन्छ दही-चिउरा ? असार १५ को सांस्कृतिक महत्व किन छ ?

संस्कृतिकर्मीहरु असारमा समयमै रोपाइँ सकिएको खुशीयालीमा भोजस्वरुप दही-चिउरा खाने प्रचलन रहेको बताउँछन् । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आएकाे छ । समयक्रमले यस प्रचलनलाई असार १५ मा पुर्‍याएको संस्कृतिकर्मीहरुको तर्क छ ।

उनीहरुका अनुसार पहिले रोपाइँ नसकिएसम्म दही-चिउरा खाइँदैन । तर, अहिले रोपाइँ सकियोस् या नसकियोस्, प्रत्येक वर्षको असार १५ मा दही-चिउरा खाइन्छ । हुन त अहिले दही-चिउरा खान असार १५ नै पर्खनु पर्दैन । बजारमा बार्‍है महिना दही-चिउरा उपलब्ध छन् ।

तर, परापूर्वकालमा रोपाइँ सकिएको खुशीयालीमा मात्रै भोजस्वरुप दही-चिउरा खाने चलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् । ‘माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुशीयालीमा दही-चिउरा खाइन्छ’, उनले भने ।

रोपाइँका वेला सबैलाई भ्याइनभ्याइ हुन्छ । त्यसैले समय लगाएर पकाइरहन नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने दही-चिउरा खाने प्रचलनले महत्व पाएको उनले स्पष्ट पारे । ‘असारमा रोपाइँको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन’, उनले थपे, ‘पकाइवरी गर्न नपर्ने र सरल रुपमा सबैका घरघरमा उपलब्ध हुने दही-चिउरा रोपाइँ सकिएको खुशीयालीमा खाने प्रचलन रहेको हो । अहिले असार १५ मै दही-चिउरा खाने थिति नै बसेको छ ।’

उसवेला सबैसँग अहिलेजस्तो माछामासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानहरुलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन । तर, सबैजसो किसानका घरमा गाईभैंसी पालिएका हुन्थे । जसले गर्दा घरघरमा दूधसँगै दही, मही र घ्यू खाली हुँदैन ।

त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । किसानहरुको घरमा असारमा हुने रोपाइँका लागि वैशाखमै चिउराको जोहो गर्ने प्रचलनसमेत रहेको छ ।

यसरी घरमै हुने दही-चिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुशीयालीमा भोज गर्ने प्रचलन रहेको अर्का संस्कृतिकर्मी दीपेशराज शर्मा स्पष्ट पार्छन् ।

‘दही-चिउरा पौष्टिक आहार पनि हो । धेरै समय लाग्ने गरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्व पाएको हो’, उनी भन्छन्, ‘यसै प्रयोगले आज संस्कृति र पर्वको रुप लिएकोमात्र हो ।’

संस्कृतिकर्मी शर्माका अनुसार कृषिमा परनिर्भरता बढेसँगै असार १५ को महत्व खल्लो हुन थालेको छ । असार १५ कृषिमा नेपालीहरुको आत्मनिर्भरताको प्रमाण भएको उनी बताउँछन् । ‘पहिले दही-चिउरा घरकै हुन्थे’, उनी भन्छन्, ‘तर, अहिले दही र चिउरा बजारबाट किन्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *